+
+

मभन्दा योग्य छ भने अर्कोलाई जिताउनुस् : आकर्षण पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १७ गते ९:३१

१७ कात्तिक, काठमाडौं । काठमाडौं–७ बाट प्रतिनिधिसभा सदस्यमा हाम्रो नेपाली पार्टीका इन्जिनियर आकर्षण पोखरेल पनि उम्मेदवार छन् । पोखरेल विगतमा नेताहरूले समस्या धेरै उठाएको तर समाधान दिन नसकेको बताउँछन् । ‘समस्या छ भनेर मात्र हुन्न, समाधान दिन सक्नुपर्छ’ हिजोआज उनी यही भनेर भोट मागिरहेका छन् । पोखरेलसँग उनको चुनावी अभियानका विषयमा गरिएको कुराकानी :

मतदातासँग संवाद गरिरहनुभएको छ, उनीहरूले के खोज्ने रहेछन् ?

मतदाताको माग ठूला छैनन्, उनीहरूले दैनिक समस्या समाधान होस् भन्ने नै चाहना राखेको देखिन्छ । हाम्रो देशमा त्यो स्तरको चेतनास्तर देखिंदैन, त्यसैले उम्मेदवारसँग पनि सानातिना समस्या नै राख्दा रहेछन् ।

कस्ता समस्या राख्दा रहेछन् ?

खानेपानी, सडक खाल्डाखुल्डी भएका, ट्राफिक अस्तव्यस्तता, ढलको समस्या, फोहोर नउठ्ने समस्या, उपचार महँगो भएको आदि आदि । सुशासनमा कम चासो छ ।

तपाईंले के एजेण्डा उठाउनुभएको छ ?

मैले निर्वाचित भएपछि नीतिगत काम गर्छु भनेको छु । एउटा क्षेत्रका लागि होइन, देशकै लागि काम गर्छु भनिराखेको छु । व्यावहारिक समस्यालाई नीतिगत रूपमा सम्बोधन गर्नुपर्छ भनेर संकल्प प्रस्तावहरू तयार पारेर मतदातालाई दिइरहेको छु ।

मेरो संकल्प खानेपानीको लागि हरेक धारामा पिउने पानी आउनुपर्छ । विगतमा उम्मेदवारले आश्वासन मात्र दिए, मैले त्यसलाई प्रष्ट्याउन खोजेको छु ।

कसरी त ?

राजनीतिक दलहरूले टोल स्तरसम्म कमिटी बनाएको देखिन्छ । मैले त्यस्तो टोल कमिटीले विकासका काममा सहजीकरण गर्नुपर्छ भनेको छु । उदाहरणका लागि मैले आफू बस्ने लोलाङ हाइटमा दश घरमा एउटा प्रोजेक्ट गरेको छु । उहाँहरूले आफ्नो हिसाबले विगतमा जस्तै इनार वा ट्याङ्करबाट पानी जम्मा गर्नुहुन्छ । जम्मा भएको पानीलाई एउटा केन्द्रीय ट्याङ्की बनाएर राख्ने र त्यसलाई शुद्धीकरण गरेर घरघरमा पठाउने । पछि ट्याङ्कर ल्याउनुपर्‍यो भने मिटर सिस्टममा पानी वितरण गर्ने ।

तपाईंका मतदाताको माग व्यवस्थित शहरीकरण देखिन्छ, तर, सडक साँघुरो छ, त्यसलाई फराकिलो पार्न घर भत्काउनुपर्छ । यसको समाधान के हुन्छ ?

त्यसका लागि सडकलाई वान वे बनाउनुपर्छ । एउटा सडकमा एकतर्फ जाने गाडी मात्र चल्ने । बाटो बढाउन समस्या छ भने जबर्जस्ती दोहोरो लेन बनाउने होइन । अझ बिहान स्कुल बस भएका बेला सडकमा बढी समस्या देखिन्छ । दुई किलोमिटर टाढाको स्कुल पुग्न दुई घन्टासम्म लाग्छ । त्यसकारण साँघुरा सडकहरूलाई वान वे बनाउने बारेमा अध्ययन गरिरहेको छु ।

त्यस्तै सडकलाई विभिन्न प्रकारमा विभाजन पनि गर्न सकिन्छ । हाल हामीसँग स्थानीय सडकहरू मात्र छन्, जहाँ मान्छे हिंड्न पनि मिल्ने, जताबाट पनि गाडी मोड्न मिल्ने । यसलाई चिर्न मैले चुनावी संकल्पपत्रमा पूर्वाधारमा राष्ट्रिय सडक सञ्जाल सम्बन्धी नीति बनाउने भनेको छु । कुन सडकमा कति भार बोकेको गाडी कुन बेला चलाउने भनेर नीति बनाउनुपर्छ ।

तपाईंले भनेजस्तै नीति बनाउन योग्य व्यक्ति छान्ने चाहना जनतामा छ ?

राष्ट्रिय राजनीतिलाई अघि बढाउन आर्थिक विकास पहिलो पाइला हो । कृषिको कुरा गर्दा हिमालदेखि तराईसम्म केही न केही फल्छ । यसकारण कृषिलाई माथि लैजानुपर्छ । तर, कृषिलाई माथि लैजान सरकारले नै सहयोग गरिरहेको छैन ।

यसका लागि मैले एग्रिकल्चर पर्चेज एग्रिमेन्टको कुरा लिएर आएको छु । तथ्यांक हेर्दा ९५ करोड रुपैयाँको कागती आयात भएको छ । यसको अर्थ ९५ करोड रुपैयाँको कागतीको बजार हामीसँग छ ।

राज्यले व्यवसायी वा किसानहरूसँग ९५ करोडको कागती खरिद गर्ने सम्झौता गर्न सक्छ । यसो गर्दा आयात रोकिन सक्छ ।

यसका लागि त संसदमा बहुमत चाहिन्छ नि ?

समाधान नै दिन नसकेर समस्या देखिएको हो । समाधानको राम्रो सुझाव वा प्रस्ताव आउँदा सबैले समर्थन गर्छन् । समस्या छ भनेर उठाएर हुन्न समाधान दिन सक्नुपर्छ । समाधानको विषय पस्किन सक्दा एक्लै भएर पनि जुन दल बहुमतमा आए पनि नेतृत्व गर्न सकिन्छ ।

म चुनावी अभियानमा छु । मभन्दा योग्य भए अर्कोलाई जिताउनुस्, होइन म योग्य छु भने मलाई जिताउनुस् । ताकि योग्यले जित्दा सबैले जित्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?