+
+

बाचा पूरा नगरे मलाई गर्ने कारबाहीको व्यहोराको कागज बनाउनुहोला, म ल्याप्चे लगाउँछु : रवि लामिछाने

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १७ गते १२:१५

१७ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछानेले आफूले चुनावमा गरेका बाचा पूरा नगरे मतदाताले जस्तो कारबाही गरे पनि भोग्न तयार रहेको बताएका छन् । मतदातालाई कारबाहीको व्यहोराको कागज तयार गरेर राख्न आग्रह गर्दै उनले त्यसमा आफूले ल्याप्चे लाउने बताए ।

आज बाचा पत्र सार्वजनिक गर्दै लामिछानेले भने, ‘हामीले गरेको बाचा पूरा नगरेमा के गर्नुहुन्छ त्यसको ड्राफ्ट तयार गरेर राख्नुहोला र तपाईंलाई के कारबाही गर्न मन छ, त्यसमा लेख्नुहोला, म हस्ताक्षर गरेर आउँछु । तपाईंहरुले त्यसलाई फ्रेममा राखेर राख्नुहोला ।’

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सबै उम्मेदवारलाई मतदातासमक्ष गरेका बाचामा हस्ताक्षर गर्न निर्देशन दिए । हस्ताक्षर नगर्ने उम्मेदवारलाई मत नदिन पनि उनले आह्वान गरे । ‘हाम्रा उम्मेदवार कसैले हस्ताक्षर गर्न मानेनन् भने मत नदिनुहोला,’ उनले भने ।

लामिछानेले जनताका सामान्य भन्दा सामान्य माग र चाहनालाई बाचापत्रमा समेटेको बताए । बाचापत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्री हुनुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको अवधारणा छ ।

महामन्त्री मुकुल ढकालले यो बाचापत्र जनतामा सर्वाधिकार रहेको बताए । यसमा गरिएका बाचा जसले कपि पेष्ट गरे पनि र सरकारमा पुगेर कार्यान्वयन गरे पनि आफूहरुले धन्यवाद दिने उनले बताए । उनले वैकल्पिक शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीमात्र हुने जिकीर समेत गरे ।

रुखबाट कागज बन्ने र कागज प्रयोग कम गरे रुख जोगिने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले डिजिटल माध्यमबाट बाचापत्र सार्वजनिक गरेको छ । बाचापत्रलाई वेबसाइटमा राखिने र क्युआर कोड स्क्यान गरेर पढ्न सकिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?