+
+

प्रिमियरमा सेलिब्रिटीले रुचाए ‘लाखे’, क्लाइमेक्स र एक्सन दृश्यको चर्चा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १७ गते १२:३५

काठमाडौं । रिलिजको दुई दिनअघि मल्टिस्टारर एक्सन फिल्म ‘लाखे’को रेडकार्पेट प्रिमियर गरिएको छ । जमलस्थित विश्वज्योति हलमा आयोजित प्रिमियरमा कास्ट एण्ड क्रिउ, फिल्मकर्मी र सञ्चारकर्मी सहभागी रहे ।

प्रिमियरपछि सञ्चारकर्मीसँग कुरा गर्दै कलाकार र अतिथिले यसको एक्सन पक्षको प्रशंसा गरे । खासगरी क्लाइमेक्स दृश्यलाई पनि सेलिब्रिटीले रुचाए ।

फिल्म हेरेपछि अभिनेता प्रशान्त ताम्राकारले सोचेभन्दा फिल्म राम्रो बनेको बताए । ‘हामीले मेहनत त गरेका थियौं । सीमित स्रोत साधनको बाबजुद पर्दामा ल्याउन कठिन छ । मलाई फिल्म हेर्दा खुसी लागेको छ,’ उनले भने ।

अभिनेता अनुपविक्रम शाहीले नेपाली आँखाले हेरे फिल्मले निराश नबनाउने बताए । ‘हामीले एक स्टेप माथि रहेर फिल्म बनाउने कोसिस गरेका छौं । नेपाली आँखाले फिल्म हेर्दा निराश बनाउँदैन । एक्सन थ्रिलर रुचाउनेका लागि लाखे पूरा प्याकेज हो,’ अभिनेता शाहीले भने ।

अर्का अभिनेता आर्यन अधिकारीले छायांकनको समयमा भएको दुर्घटना सम्झिए । उनले सुनाए, ‘पहिलो दिन नै एक जना स्टन्टम्यानको काँधमा समस्या आएको थियो । हामीले लाइभ एक्सन गरेकाले जति सावधानी अपनाए पनि जोखिम हुन्छ नै । यद्यपि, हिजो गरिएको दुःख आज फिल्म हेर्दा बिर्सिएँ ।’

लण्डनबाट फर्किएर प्रिमियरमा सहभागी भएका अभिनेता सौगात मल्ले पनि यो फिल्मले एक्सन रुचाउने दर्शकलाई तान्ने बताए । ‘मैले नियमित गरिरहेको भन्दा भिन्न काम गरेको छु,’ उनले भने ।

अभिनेता सुशील सिटौलाले चरित्रमा पस्न केही रातहरू अनिंदो बसेको सुनाए । सस्पेन्स थ्रिलर जनराको फिल्म ‘लाखे’ शुक्रबारदेखि रिलिज हुँदैछ । फिल्मलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् ।

फिल्ममा सौगात, अनुप, प्रशान्तसहित अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्बा, सञ्जोग राणा, सुशील सिटौला, रक्षा बुढाथोकी, कालु राना, सुगन तण्डुकार र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?