+
+

तेस्रो प्रयासमा खम्बिरलाई गठबन्धनको बल

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २१ गते ७:२०

२१ कात्तिक । नेपाली कांग्रेसका म्याग्दी जिल्ला सभापति खम्बिर गर्बुजा (खमबहादुर) तेस्रो पटक प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धा गर्दैछन् । यसअघिका दुईवटा निर्वाचन हारेका उनी यसपटक नेकपा माओवादीसहित सत्ता गठबन्धनमा रहेका दलको साथ लिएर संसद प्रवेश गर्ने योजनामा छन् । उनी २०७० मा एमालेका नवराज शर्मासँग र २०७४ मा एमालेकै भुपेन्द्रबहादुर थापासँग पराजित भएका थिए ।

यो पटक खम्बिरसँग प्रतिस्पर्धामा छन् नेकपा एमालेका नेता हरिकृष्ण श्रेष्ठ । दुई कार्यकाल जिल्ला अध्यक्ष भएका र हाल प्रदेश कमिटीका सचिवालय सदस्य श्रेष्ठको नाम उम्मेदवार सिफारिसका क्रममा सर्वसम्मत भएको थियो ।

‘जिल्ला कमिटीले प्रतिनिधि सभा सदस्यका लागि सर्वसम्मत एकल नाम सिफारिस गरेकाले कार्यकर्तामा उत्साह छ,’ श्रेष्ठ भन्छन् । २०७० र २०७४ मा पार्टीलाई जिताउन भूमिका खेलेको र अहिलेसम्म त्याग गरेर आएका कारण श्रेष्ठले नै टिकट पाउनु पर्ने कार्यकर्ताको माग थियो । जसलाई बुझेर उनका प्रतिस्पर्धीले पनि अन्तिमममा दाबी छाडे र उनी सर्वसम्मत भए ।

उनको उत्साहको अर्को कारण हो, म्याग्दीमा स्थानीय तह निर्वाचनमा एमालेले ल्याएको नतिजा । एमालेले गत स्थानीय तह निर्वाचनमा एमालेले ४ वटा पालिका प्रमुख, तीन उपप्रमुख, २२ वडा अध्यक्ष जितेर जिल्लाकै ठूलो पार्टी बनेको छ । कांग्रेसले दुई अध्यक्ष, एक उपाध्यक्ष, १७ वडा अध्यक्ष तथा माओवादीले दुई उपप्रमुख र ६ वटा वडामा अध्यक्ष जितेका थिए ।

‘२०७४ मा दुई वटामात्र स्थानीय तह जितेका थियौं र पनि चुनाव जित्यौं, अहिले त स्थानीय चुनावमा नै ४ वटा पालिका जितेका छौं, यो हाम्रो जितको आधार हो’ श्रेष्ठले अनलाइनखबरसँग भने ।

३० वैशाखको स्थानीय चुनावमा म्याग्दीबाट एमालेका वडा अध्यक्षका उमेदवारले २३ हजार २१०, कांग्रेसले २० हजार ३८० र माओवादीले ८ हजार ५९३ मत ल्याएका थिए ।

२०७४ मा एमाले उम्मेदवारलाई समर्थन गर्ने माओवादी र जनमोर्चाको समर्थन अहिले कांग्रेसलाई छ । एमाले एक्लै चुनावी मैदानमा होमिएको छ ।

२०६४ र २०५६ सालको बाहेक अरु सबै चुनाव जितेको एमालेले म्याग्दीलाई ‘लाल किल्ला’ मान्ने गरेको छ । तर यो लाल किल्लामा स्थानीय तह चुनवमा वडाध्यक्षले पाएको मत केलाउँदा सत्तारुढ गठबन्धन भन्दा एमाले पछि पर्छ ।

तर गठबन्धनभित्रको असन्तुष्टको साथ आफूलाई भएको भन्दै श्रेष्ठले कांग्रेस-माओवादीकै मतले आफूले जित्ने दाबी गर्दै आएका छन् । स्थानीय तह चुनावमा गठबन्धनका दलहरुले बेनी नगरपालिकाको प्रमुख-उपप्रमुख सहित पाँच वडामा र धवलागिरी गाउँपालिकाको सबै पदमा तालमेल गरेका थिए । बाँकी क्षेत्रमा तालमेल भएको थिएन । जसका कारण गठबन्धनभित्रै असन्तुष्टि रहेको श्रेष्ठ बताउँछन् ।

तर नेपाली कांग्रेसका उम्मेदवार गर्बुजा गठबन्धनमा कुनै मतभेद नभएको दाबी गर्छन् । स्थानीय तह चुनावमा गठबन्धन विगि्रएकाले अपेक्षाकृत नतिजा हासिल गर्न नसकेको ठहर गरेरै आफूहरुले सुधार गरेको उनी बताउँछन् ।

गठबन्धनको चुनाव परिचालन समितिका संयोजक रहेका कांग्रेस जिल्ला उपसभापति कर्णबहादुर भण्डारी (केवी) तिक्तता र असन्तुष्टि मेटाएर टोलस्तरसम्म गठबन्धनलाई कसिलो बनाएर संयुक्त चुनाव प्रचारमा केन्द्रित भएको बताउँछन् । भन्छन्, ‘हामीले चुनाव जित्ने भनेकै गठबन्धनको भोटले हो ।’

नेपाली कांग्रेस म्याग्दीको दोस्रो कार्यकालका लागि सभापति रहेका गर्बुजा बेलायती सेनाबाट सेवानिवृत्त भएर स्वदेश फर्किएपछि करिब २० वर्षदेखि राजनीतिमा क्रियाशील छन् ।

लगातार दुई पटक अवसर पाउँदा पनि एमालेबाट जितेका प्रतिनिधिले जिल्लाको विकासमा अन्य जिल्लाको तुलनामा अपेक्षाकृत योगदान गर्न नसकेको आरोप लगाउँदै खम्बिरले चुनाव प्रचार अघि बढाएका छन् । तर एमाले उम्मेदवार श्रेष्ठ पार्टीलेे विगतमा सुरु गरेका अधुरा योजनालाई पूर्णता दिन भनेर भोट मागिरहेका छन् । उनीहरु गाउँ गाउँमा चुनावी सभा र कार्यकर्ता भेटघाटमा व्यस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?