+
+

मतदाता भन्छन् : महँगी र नागरिकता, उम्मेदवार भन्छन् : विमानस्थल र बाटो (भिडियो)

बसन्त बस्नेत बसन्त बस्नेत
२०७९ कात्तिक २१ गते १९:१७
आफ्नो समस्याबारे जानकारी दिंदै बदरुद्दिन (बायाँ)

२१ कात्तिक, रूपन्देही । सत्तारुढ हुन् या विपक्षी, राष्ट्रिय राजनीतिमा प्रभाव जमाउने नेताहरूको कमी छैन रूपन्देहीमा । त्यसैले पनि हुनुपर्छ, विकासका न्यूनतम पूर्वाधारले सम्पन्न देखिन्छ यो जिल्ला । गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण, एमाले उपाध्यक्ष विष्णु पौडेल, एमाले भर्खरै छाडेर सत्ता गठबन्धनको साथ पाएका पूर्वमन्त्री घनश्याम भूसाल, राप्रपाका दीपक बोहरा, लोसपाका सर्वेन्द्रनाथ शुक्ल, एमालेका छविलाल विश्वकर्मा । यस्तै प्रभावशाली नेताहरूको गृहजिल्ला हो रूपन्देही । अन्तर्राष्ट्रिय विमानस्थलदेखि खेतबारीमा पुग्ने नालासम्म यहीं छन् । विश्वप्रसिद्ध लुम्बिनीदेखि अब बन्ने भनिएको लुम्बिनी बौद्ध विश्वविद्यालय, यी सबै रूपन्देहीमै केन्द्रित छन् ।

बाटो, बिजुली, अस्पतालका विषय चुनावका बेला हिजोआज मतदाताको सरोकारमा कम पर्छन् । उनीहरूलाई चाहिएको छ अर्थोकै केही, जबकि उम्मेदवारहरू यिनै पुराना एजेन्डा दोहोर्‍याई तेहेर्‍याई भनिराख्छन् । कालीगण्डकीको डाइभर्सन थाल्नेदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गर्नेसम्मका कुरा उनीहरूका वाचामा समेटिएका छन् । मतदाताहरूलाई यी मुद्दाले जति छुन्छ, त्योभन्दा बढी नागरिकता नपाएको, लालपुर्जा नपाएको, अनि महँगीले आलसतालस पारेका विषय मुख्य सरोकार बन्न गएका छन् ।

रूपन्देही–३ मा पर्ने सिद्धार्थनगरको नगरपालिका रोडमा हामीले कुरा गरेकामध्ये प्रायः सबैले नागरिकता नभएका कारण भोग्नुपरेको मानसिक ताडनाबारे व्यथा पोखे ।

नागरिकताको प्रमाणपत्र नहुनु भनेको हाम्रो देशमा केही नहुनु सरह हो । यहाँ जन्मेर पनि नागरिकता प्रमाणपत्रविहीन बनेका व्यक्तिहरूको शिक्षा, रोजगारी, व्यवसायलगायत सबै व्यक्तिगत र सामाजिक काम अवरुद्ध हुन्छ ।

अघिल्लो वर्ष केपी ओली नेतृत्वको सरकारका पालामा २०७८ जेठ ९ मा नागरिकताको यही गाँठो फुकाउन अध्यादेश आए पनि सर्वोच्चले नागरिकता विधेयक ल्याएर पास गर्न आदेश गर्‍यो । हालसम्म १ लाख ९० हजार ७२६ ले जन्मसिद्ध नागरिकता पाएका छैनन् । तिनका सन्तानसमेत गरी झन्डै पाँच लाख नागरिकले नागरिकता प्रमाणपत्र नपाएको अनुमान छ । पैतृक सम्पत्ति हस्तान्तरण, बैंक खाता खोल्न, उद्योग धन्दा गर्न, पान नम्बर बनाउन नागरिकता नै चाहिन्छ । सिमकार्ड समेत औपचारिक रूपमा किन्न पाइने व्यवस्था छैन । विदेशमा मेडिकल शिक्षा लिएर आउनेहरूले नेपालको मेडिकल काउन्सिल, नर्सिङ काउन्सिल, इन्जिनियरिङ काउन्सिलबाट लाइसेन्स पाउने अवस्था छैन ।

रूपन्देहीका स्थानीयले सुनाएको मर्काबारे यिनै आवाजहरू हामीले सुन्यौं । (तल उल्लेख गरिएको भिडियोमा उनीहरूको समस्या सुन्न सकिन्छ ।)

नगरपालिका रोडमा सिलाई–कटाईको काम गर्ने बदरुद्दिनले भने, ‘भारतबाट आउनेले बरु नागरिकता पाए होलान्, यहाँ जन्मेका हामीले नागरिकता पाउन सकेका छैनौं । आमाको नेपाली नागरिकता छ, मेरो जन्मदर्ता पनि छ, तर मैले नागरिकता पाउन सकेको छैन । वडाअध्यक्षलाई भेट्न जाँदा उनले हुँदैन भन्छन्, तर कारण बताउँदैनन् ।’ अरू सहभागीले पनि यही प्रकारका समस्या राखे ।

नागरिकताको प्रश्नसम्बन्धी जवाफ दिनुपर्ने तालुकदार निकाय गृह मन्त्रालय हो । गृहमन्त्री खाँण यही क्षेत्रबाट चुनाव लड्न जाँदैछन् । तर उनी पनि यसबारे मतदाता फुल्याउन सक्ने अवस्थामा छैनन् ।

सिद्धार्थनगरमा अनलाइनखबरसँग कुरा गर्दै गृहमन्त्री खाँणले नागरिकता विधेयक पारित गर्ने प्रयास बेलाको पृष्ठभूमि कोट्याए । शेरबहादुर देउवा नेतृत्वको सरकार आएपछि पुनर्स्थापित संसदमा नागरिकता विधेयक अघि बढाएको, प्रतिपक्षी एमालेको साथ खोज्न आफू उक्त पार्टीका अध्यक्ष केपी ओलीको बालकोटस्थित निवास गएको स्मरण गर्दै उनले भने-

‘कानुन मन्त्रीसँग गएर प्रयास गरियो, उहाँहरू विधेयकमा मौन बसिदिंदा यसलाई स्वीकृति नै मानेर सरकार अघि बढ्यो । तर शीतलनिवासबाट रोकिनु दुःखद भएको छ । सभामुखले दुईपल्ट प्रमाणीकरण गरी राष्ट्रपतिकहाँ पठाएको नागरिकता विधेयक रोकिंदा हाम्रै नागरिकलाई दुःख भएको छ । यसबारे राष्ट्रपतिले विचार गर्नुपर्थ्यो । जसले नागरिकता पाएका छैनन्, उनीहरूका बुवा-आमा नेपाली नै हुन् । मलाई पनि हाम्रो नागरिकता खोइ भनेर सोधिराख्नुभएको छ ।’

नागरिकता विधेयकबारे खाँणको प्रतिक्रिया यो भिडियोमा :

नागरिकता विधेयकबारे संसदमा त्यसबेला मौन बसे पनि एमाले अध्यक्ष ओलीले पछि त्यसबारे टिप्पणी गरेका थिए । गैरआवासीय नेपाली संघको कार्यक्रममा केहीअघि उनले भने, ‘भोट पाइन्छ भनेर स्वाधीनता विरुद्ध निर्णय गर्ने पार्टी एमाले होइन । हामी यस्ता कुरा मान्दैनौं ।’

एमालेले दिएको जवाफमाथि हामीले गृहमन्त्री खाँणको प्रतिक्रिया जान्न चाह्यौं । उनले यस मुद्दालाई भोटको भन्दा पनि जीवनमरणको प्रश्न ठानेर समाधान गर्नुपर्ने बताए । उनले भने, ‘ओलीजीले नै आफूले प्रधानमन्त्री हुँदा नागरिकता अध्यादेश ल्याउनुभएको थियो, त्यही मर्म समातेर नै हामीले विधेयक ल्याएकोले पास गर्न सघाउन निवासमै गएर अनुरोध गर्‍यौं।

नागरिकता विधेयकमा छलफल गर्न समय कम भएकाले विधायन समितिले फास्ट ट्र्याकमा पास गर्‍यो । राष्ट्रपतिले संविधानको धारा ११३ को ३ अन्तर्गत त्यसलाई पुनर्विचारमा पठाउनुभयो । हामीले ११३ को ४ अन्तर्गत फेरि राष्ट्रपतिकहाँ पेश गर्‍यौं। उहाँले सदनमा पठाएपछि फेरि प्रमाणीकरणमा जाने व्यवस्था भएअनुरुप हामीले पठाएका थियौं । तर उहाँले अड्काउनुभएको छ । अहिले यसलाई राजनीतीकरण गरिनु दुःखद छ ।’

स्थानीयले यस्तो जवाफबाट सन्तुष्ट हुने आधार भने भेटिसकेका छैनन् । उनीहरूले कुनै पनि कारण देखाएर नागरिकताविहीन बनाएर आफूहरूलाई राख्न नमिल्ने बताउँदै आएका छन् ।

ज्वलन्त समस्या : महँगी

रूपन्देही ३ (क) तर्फ लोसपाका प्रदेशसभा उम्मेदवार रहेका सन्तोष पाण्डेलाई स्थानीयले आफूहरूलाई महँगीले पारेको आपत्बारे दुःख बेसाउँदै थिए । पाण्डेले आफूहरूले चुनाव जितेमा महँगी घटाउने वाचा गरेर नमस्कार गर्दै हिंडे । बजारमा सिर्जित महँगी कसरी घट्छ भन्ने उपाय भने उनीसँग पनि छैन । ‘महँगीले मार पारेकोबारे म जानकार छु, प्रदेश सरकारमा म मन्त्री भएका बेला समाधानको कोसिस गरेको थिएँ’, उनी भन्छन् । कस्तो प्रकारको कोसिस भएको थियो भन्नेबारे प्रष्ट जवाफ भने दिएनन् ।

नगरपालिका रोडका मोहम्मद सलिमले अनलाइनखबरसँग भिडियोमा भनेका छन्- बैंकको ब्याजदर बढेको छ, यसबारेमा कसले सोचिदिने ? ग्याँस, पेट्रोलको मूल्य हामीले चलाउनै नसक्ने गरी बढेको छ । अब त बिहान के खाने, बेलुका के खाने भन्ने किसिमको समस्यामा परेका छौं । चुनावमा उम्मेदवारहरू आए पनि यो समस्याको सम्बोधन भएको छैन ।

भिडियो हेर्नुहोस् –

स्थानीय उम्मेदवार रहेका बालकृष्ण खाँणले अन्तर्राष्ट्रिय परिस्थितिले गर्दा पेट्रोल, ग्याँसकै मूल्य बढेको भन्दै तत्काल समाधान कठिन रहेको बताए । ‘अहिले त्यसैको असर सबैतिर परेको हो । सरकारले हप्तामा दुई दिन बिदा गराएर पनि हेर्‍यो । अस्वाभाविक र कृत्रिम मूल्यवृद्धि नहोस् भन्नेमा सरकारको ध्यान गएको छ’, उनले भने ।

लेखकको बारेमा
बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?