+
+

मतदाताले भने : भोट त दिऔंला, तर पछि भेट्दा चिन्दिनँ भन्न पाइन्न नि

अश्मी स्याङतान कमला अश्मी स्याङतान कमला
२०७९ कात्तिक २२ गते ६:३०

२२ कात्तिक, चौतारा । ‘गफ होइन, काम गरेर देखाउनु पर्छ नि’, सिन्धुपाल्चोकको सुनकोशीका मतदाताले उम्मेदवारलाई गरेको आग्रह हो यो ।

सिन्धुपाल्चोकको क्षेत्र नम्बर १ मा पर्ने सुनकोशीका युवाले उम्मेदवारहरुसँग लिखित रुपमा नै आफ्ना माग राख्ने गरेका छन् । र ती माग पूरा गर्न आग्रह पनि गर्ने गरेका छन्

उम्मेदवार भोट माग्न आउने जानकारी पाएपछि यहाँका बासिन्दाले सामुहिक छलफल गरेर आफ्नो समस्या पहिचान गरेका थिए । तीनै समस्या उनीहरुले लिखित रुपमा उम्मेदवारसमक्ष राख्ने गरेका छन् ।

समृद्ध गाउँको सपना देखेका उनीहरुले रख्ने मागमा सडक, बाटो, खानेपानी, शिक्षा र स्वास्थ्यका विषय नै छन् जुन यहाँका नागरिकका दैनिक आवश्यकता हुन् ।

यो गाउँ प्रतिनिधि सभातर्फ सिन्धुपाल्चोकको क्षेत्र नम्बर १ र प्रदेश सभातर्फ १ को २ मा । यहाँबाट प्रतिनिधि सभामा तीन स्वतन्त्रसहित १४ जना र प्रदेश सभामा ६ जना उम्मेदवार छन् । चाहे प्रदेश सभाका हुन् वा प्रतिनिधि सभाका, जो उम्मेदवार आए पनि गाउँलले एउटै व्यवहार देखाएर लिखित रुपमा माग प्रस्तुत गर्ने गरेका छन् ।

गाउँलेको माग सुनेपछि उम्मेदवारले यी माग समान्य र अतिआवश्यक रहेकाले पूरा गर्ने वचन दिने गरेका छन् । उनीहरुले जनतासँगै बसेर योजना निर्माण गर्ने र विकासका काम गर्ने प्रतिबद्धता समेत जनाउने गरेका छन् ।

प्रदेश सभामा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका सरल सहयात्री पौडेल भन्छन्, ‘सुनकोशीमा सुरु भएका र अपूरा रहेका सडक बाटो, सिंचाइको योजना पहिलो प्राथामिकमा राखेर पूरा गर्छौं ।’

प्रतिनिधि सभा क्षेत्र नं. १ का गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका माधव सापकोटा आफूहरुमा युवा जोश र जाँगर रहेको भन्दै आफ्नो क्षेत्रको समग्र विकासका साथै मतदाताको संरक्षणलाई आफ्नो जिम्मेवारी र दायित्व ठानेको बताए ।

पूरा गर्न नसक्ने आश्वासन नागरिकलाई बाँडेर मत माग्ने तर पछि आम नागरिकलाई भइरहेको समस्यालाई चासो नदिने नेताहरुको व्यवहार बुझेर नै आफूहरुले अति आवश्यक आधारभुत कुरालाई मागपत्रमा समावेश गरेको यहाँका युवाहरु बताउँछन् ।

आफूहरुले राखेको विकासको काम हुने आश्वासन पाएपछि सुनकोशीका गोकुलध्वज थापाले भने, ‘भोट त दिऔंला, तर पछि भेट्दा चिन्दिन भन्न पाइन्न नि ?’

चुनावका बेला जम्लाहात गर्दै घर आँगनमै आउने उम्मेदवारले जितेपछि फर्केर पनि नहेर्ने र भेट्न जाँदा पनि नचिनेको व्यवहार गर्ने गरेको भन्दै थापाले यस्तो आग्रह गरेको बताए । भने, ‘नेताहरु अहिले भोट माग्न घरआँगनमै आइपुग्ने गरे पनि चुनाव सकेपछि फर्केर नहेर्ने गर्छन नि ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?