+
+
काठमाडौं–८ :

मुख्य प्रतिस्पर्धीको भरोसा बनेका सपना र अष्टलक्ष्मी

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७९ कात्तिक २२ गते २०:१४

२२ कात्तिक, काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं–८ मा १९ जना चुनावी मैदानमा उत्रे पनि सत्तारुढ गठबन्धन र विपक्षी दलबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । सत्ता गठबन्धनले नेकपा एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठलाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेका तर्फबाट शिवसुन्दर राजवैद्य उम्मेदवार छन् ।

दुवैले आ–आफ्नो प्रचारप्रसार तीव्र पारेका छन् । चुनाव जित्न जनप्रिय प्रतिबद्धतासहित सकेसम्म धेरै मान्छे भेट्न जीवनराम र शिवसुन्दर आ–आफ्नो टोलीसहित घरदैलो गरिरहेका छन् । शिवको टोलीमा एमालेका नेता तथा कार्यकर्ता छन् भने जीवनरामसँग एकीकृत समाजवादी, नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताको साथ छ ।

जबकि २०७४ को चुनावमा दुवै जना एमालेमै भएकाले जीवनरामलाई जिताउन शिवसुन्दर खटिएका थिए । तर गएको वर्ष एमाले फुटेकाले यसपटक जीवनराम र शिव एकअर्कालाई हराउने कसरतमा छन् ।

त्यसका लागि जीवनरामले सत्ता गठबन्धनका अन्य दलको मत पाउनुपर्नेछ । शुक्रबारको घरदैलोमा देखिएको दृश्यले पनि जीवनरामको चुनौती प्रष्ट पार्थ्यो । २०४६ सालदेखि कुनै न कुनै भूमिकामा रहेकाले मतदातासँग जीवनरामले परिचय गरिरहनुपर्दैनथ्यो । त्यसैले चुनाव चिह्न चिनाउन र मतदान विधि सिकाउन जीवनरामको टोली सक्रिय भयो । शुभकामना लिने र दिने क्रम चल्यो ।

गत स्थानीय चुनावको नतिजा हेर्दा जीवनरामले चुनाव जित्न मुख्य गरी कांग्रेसको मत पाउनुपर्नेछ । नागार्जुन नगरपालिकाको वडानम्बर ४ र ५ सहित काठमाडौं महानगरपालिकाको १३, १५, १९, २०, २३ र २४ नम्बर वडामा फैलिएको यो क्षेत्रमा कांग्रेस सबैभन्दा ठूलो दल हो । एमाले दोस्रो र एकीकृत समाजवादी तेस्रो शक्ति हो ।

कालीमाटी, डल्लु, दमाइटोल, भीमसेनस्थान, ओमवहाल, मखनलगायत समेटिएको यो क्षेत्रबाट गत स्थानीय चुनावमा वडाअध्यक्षका उम्मेदवारले पाएको मत हेर्दा एकीकृत समाजवादीसँग ५ हजार १४२ मत मात्रै छ । कांग्रेससँग १० हजार ८७२, एमालेसँग ९ हजार २५३, माओवादीसँग १८९, जसपासँग ९७, लोसपासँग ९ र नेमकिपासँग ९ मत छ ।

यसको अर्थ जीवनरामले २०७४ मा जुन जनमतविरुद्ध लडेर जितेका थिए, यसपटक तिनैको साथ पाउनुपर्नेछ । त्यसबेला प्रतिद्वन्द्वी रहेका कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन भइसकेको छ । तर नवीन्द्रराजकै पत्नी सपना राजभण्डारीलाई कांग्रेसले समानुपातिक सूचीमा राखेको छ ।

त्यसैले कांग्रेस जनमत पाउन जीवनरामले तिनै सपनालाई मुख्य भरोसा मानेका छन् । नेताहरूका अनुसार, प्रचारप्रसारको समय अगाडि चलेको अनौपचारिक भेटघाटदेखि नै जीवन र सपना सँगै मत मागिरहेका छन् । अहिले पनि सपनालाई नै अगाडि सारेर जीवनरामले चुनावी अभियान चलाइरहेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहेका जीवनराम यो अभियानले सत्ता गठबन्धन एकता हुँदा आफूले जित्नेमा ढुक्क रहेको बताउँछन् ।

अष्टलक्ष्मी विना नहिंड्ने शिवसुन्दर

पार्टी फेरिए पनि चुनाव अभियानमा शिवसुन्दरको शैली पनि जीवनरामसँग मिल्दो छ । जसरी जीवनरामले सपना राजभण्डारीमा भरोसा राखेका छन्, शिवसुन्दरको भरोसामा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य छन् । हुनत यो क्षेत्रको टिकट नै एमालेले अष्टलक्ष्मीलाई दिएको थियो ।

तर अष्टलक्ष्मीले चुनाव लड्न चाहिनन् र त्यो टिकट शिवसुन्दरले पाए । अहिले अष्टलक्ष्मी शिवलाई चिनाउँदै र मत माग्दै हिंडेकी छन् । ‘उहाँ शिवसुन्दर, हाम्रो पार्टीको उम्मेदवार’ शुक्रबारको घरदैलोमा मतदातासँग अष्टलक्ष्मीले भनिन् । एमालेकै एक नेताका अनुसार, शिवसुन्दरले आफ्नो हरेक अभियानमा अष्टलक्ष्मीलाई अगाडि राखेर हिंडेका छन् । ‘अष्टलक्ष्मी कमरेड विना त हिंड्नै हुन्न नि’, ती नेताले भने ।

पहिले अष्टलक्ष्मीलाई टिकट दिएको भन्ने प्रचार भएकाले पनि त्यसलाई चिर्न सँगै हिंड्नु परेको ती नेता तर्क गर्छन् । शिवसुन्दर यसअघि अष्टलक्ष्मीलाई जिताउन हिंडेको प्रतिफल अहिले पाइरहेको बताउँछन् ।

‘२०५६ सालमा अष्टलक्ष्मी कमरेडलाई जिताएको हो, त्यसबेला २०/२२ घण्टासम्म काम गर्थ्यौं’, शिवसुन्दर भन्छन् । २०६४, २०७० र २०७४ मा शिवसुन्दर एमालेका उम्मेदवार जिताउन हिंडेका थिए । २०६४ मा माओवादी र २०७० मा कांग्रेसले जिते पनि २०७४ मा एमालेका जीवनरामले जितेका थिए ।

तर अहिले जीवनराम विरुद्धकै प्रतिस्पर्धामा शिवले अष्टलक्ष्मीलाई भरोसा मानेका छन् । नेताहरूका अनुसार, यो क्षेत्रमा एमालेलाई एकताबद्ध बनाउन अष्टलक्ष्मीको अगुवाइ आवश्यक परेको हो । पार्टीकै शीर्ष नेता भएकाले अष्टलक्ष्मीको साथ हिंड्दा कार्यकर्ता एकढिक्का हुने विश्वास शिवसुन्दरसँग छ ।

‘पार्टीले दिएको आदेश मान्ने मान्छे हुँ । मूल्याङ्कन गरेर टिकट दिएको हो । त्यसकारण चुनाव जित्न समस्या छैन’, शिवसुन्दर भन्छन् । कांग्रेससँग आफ्नै उम्मेदवार नभएकाले असन्तुष्ट मत पाउनेमा समेत उनी आशावादी देखिन्छन् । काठमाडौं जिल्ला समन्वय समितिको सभापति भएको पृष्ठभूमिले पनि चुनाव जित्न बल पुग्ने उनको दाबी छ ।

‘जिसस प्रमुख हुँदा काठमाडौं जिल्लालाई पूर्ण खोप घोषणा गरेको, दिसापिसाब मुक्त जिल्ला र पूर्ण साक्षर जिल्लाको रूपमा घोषणा गर्न भूमिका खेलेको छु’ उनी भन्छन्, ‘सत्ता गठबन्धनसँग विचार र सिद्धान्त नमिल्ने भएकाले पनि मत पाउँछु ।’

अर्थात् झण्डै चार दशक लामो दुई पूर्वकर्मी जीवनराम र शिवसुन्दर उम्मेदवार हुँदा पर्दा पछाडि भने सपना र अष्टलक्ष्मीबीच प्रतिस्पर्धा हुनेछ । अनि २०३६ सालदेखि राजनीतिमा सक्रिय शिवसुन्दरले जिते अष्टलक्ष्मी प्रसन्न हुनेछिन् भने २०४२ देखि राजनीतिमा सक्रिय जीवनरामले जिते त्यसको जस सपना राजभण्डारीले पाउनेछिन् ।

सायमी र विराजको आफ्नै दाउ

हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमी चाहिं दलीय राजनीतिबाट अससन्तुष्टि रहेको मत तान्ने प्रयासमा छन् । विशेषगरी २०७४ मा विवेकशील साझाका पुकार बमले पाएको मत (४ हजार ४१४) र गत स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारहरूले पाएको मत उनले प्राथमिकतामा राखेका छन् ।

त्यसैले घरदैलो अभियानमा ‘बालेन जस्तो चाहियो’ भन्नेहरूसँग पनि उनले भेटिरहेका छन् । काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बनेर जितेका बालेनको विरोध गर्नेलाई पनि भेटिरहेका छन् ।

सुमन सायमी

तर बालेनको डोजर अभियानबाट असन्तुष्टको साथ पाउनेमा धेरै विश्वस्त देखिन्छन् । किनकि डा.बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भएको सडक विस्तारका क्रममा असन्तुष्टहरूको साथ उनले पाउँदै आएका हुन् । गत चुनावमा काठमाडौं महानगरको मेयर पदमा उम्मेदवार बन्दा १३ हजार ३४१ मत पाउनुमा पनि सायमीको त्यही पृष्ठभूमिले काम गरेको थियो ।

अन्य जिल्लाबाट आएर बसोबास गरेका र अव्यवस्थित शहरीकरणको विरोधमा रहेकाहरूसँग पनि उनले भेटिरहेका छन् । तर उनीहरूको समर्थन पाउन बालेनको विपक्षमा सायमी बोल्दैनन् । किनकि यो क्षेत्रबाट सायमीले ४ हजार ८४६ मत पाउँदा बालेनले ६ हजार १४५ मत पाएका थिए ।

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट विराजभक्त श्रेष्ठ उम्मेदवार छन् । प्रचार अभियानका क्रममा उनले कतिपय ठाउँमा रवि लामिछाने लिएर पुग्ने गरेका छन् । विराजभक्त २०७४ मा समानुपातिकतर्फ प्रदेशसभा सदस्य बनेका थिए ।

मिल्दो एजेण्डा : ढल व्यवस्थापन, सम्पदा संरक्षण

यस क्षेत्रबाट उम्मेदवार रहेका १९ जनाकै मुख्य चुनावी एजेण्डा सम्पदा संरक्षण र ढल व्यवस्थापन हो । मतदाताको चासो पनि यसैमा छ ।

‘काठमाडौं सम्पन्न भन्छन् । तर, यहाँ आधारभूत आवश्यकताकै अभाव छ’ काठमाडौं–१५ का टुकुभाइ भन्छन््, ‘पानीकै अभाव छ । बाटो बनेको छ, तर फोहोर उस्तै छ । मन्दिरकै छेउमा नाक थुनेर हिंड्नुपर्छ ।’

राजधानी भएर पनि सुकुम्बासी, खानेपानी तथा सडकको समस्या रहेको शिवसुन्दर स्वीकार्छन् । उनी भन्छन्, ‘निर्वाचित भएँ भने मैले गर्ने काम पनि यिनै हुन् ।’ सँगै, धार्मिक तथा पुरातात्विक सम्पदाको संरक्षण, कला, स्थानीय जात्रा, गुठी व्यवस्थापन जस्ता विषयलाई प्राथमिकतामा राख्ने उनको प्रतिबद्धता छ ।

अर्का, उम्मेदवार जीवनरामको पनि उस्तै एजेण्डा छ । नेपाल संवत्लाई सरकारी स्तरमा प्रयोग गर्न पहल गर्ने, हनुमानढोकादेखि स्वयम्भूसम्म सम्पदामार्ग निर्माण गर्ने, पर्यटकीय र सार्वजनिक स्थलहरूमा सम्पदामैत्री वातावरणमैत्री स्मार्ट शौचालय निर्माण गर्न पहल गर्ने, खानेपानी समस्या समाधानको लागि पहल गर्ने, बाटो तथा सडकहरूको स्तरोन्नति गर्ने लगायतका क्षेत्रीय एजेण्डा श्रेष्ठको छ ।

नयाँ पार्टी भए पनि सायमीसँग पनि नौलो एजेण्डा छैन । नेपाल भाषालाई यथासम्भव प्रचलनमा ल्याउन पहल गर्ने उनको प्राथमिकतामा छ । मुआब्जा, पुनस्र्थापना र पुनर्वासको प्याकेज ल्याएर मात्रै सडक विस्तार अगाडि बढाउने, संस्कृति र सम्पदाको संरक्षण गर्ने सायमीका एजेण्डा हुन् ।

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?