+
+

शेखर थापा : जित दोहोर्‍याउन चाहन्थे, चुनाव नहुँदै बिदा भए

हरि अधिकारी हरि अधिकारी
२०७९ कात्तिक २३ गते २०:२८

२३ कात्तिक, विराटनगर । मंगलबार दिउँसो करिब २ बजे नोबेल मेडिकल कलेजको ११ नम्बर डिलक्स रुमको बेडमा प्रदेश १ का वन वातावरण तथा भूसंरक्षण मन्त्री शेखरचन्द्र थापा अक्सिजन सपोर्टमा सास फेर्दै थिए ।

उनका सहयोगी ज्ञानु कटवालले थापाको स्वास्थ्यमा सुधार भइसकेपनि अत्याधिक कमजोरीका कारण २४ सै घण्टा अक्सिजन सपोर्ट चाहिने बताए । कटवालले उनको स्वास्थ्य अवस्थाको बारेमा बताउँदै गर्दा थापाले हात चलाए, यता उता हेरे ।

हामी छेउमा पुगेपछि उनले ‘इसाराले यस्तै छ भने । उनले आफ्नो स्वास्थ्य सुधार भएको संकेत गरे । तर एक महिनादेखि अस्पतालमा बसेका ५८ वर्षीय थापाको कमजोरी र रोगका कारण अनुहारको रङ उडिसकेको थियो ।

मंगलबार दिउँसो क्षेत्र नम्बर ३ का केही नेता कार्यकर्ताले उनलाई भेट गरे । कार्यकर्तालाई चुनावको प्रचार कस्तो छ भन्दै सोधे । क्षेत्रका कार्यकर्तालाई उनले सोधेको अर्काे प्रश्न थियो ‘मैले चुनाव जित्छु ?’ कार्यकर्ताले जितिन्छ भन्दै जवाफ दिए । ‘दाइले जितिन्छ भनेर सोधेपछि मैले प्रचारप्रसार राम्रो हुँदैछ, हामी जित्छौं भन्ने जवाफ दिए’, कांग्रेस कार्यकर्ता गोपाल भण्डारीले भने, ‘चुनावको विषयमा दाइले चासो र चिन्ता राख्नुभयो ।’

थापाले चासो राखेपछि कार्यकर्ताले चुनावी तयारी र अपडेटका बारेमा जानकारी गराएका थिए । गत असोज २३ गते मनोनयन दर्ता गरेका थापालाई भोलिपल्ट नोबेल मेडिकल कलेजमा भर्ना गरिएको थियो । डेङ्गु र जटिल निमोनिया देखिएपछि असोज २७ गते हेलिकप्टरमा काठमाडौँको ह्याम्स अस्पतालमा लगियो ।

ह्याम्समा स्वास्थ्यमा सुधार भएपछि थापाकै जोडबलमा आफन्तले सोमबार नोबेलमा ल्याएर राखेका थिए । विराटनगर ल्याउनुको मुख्य कारण चुनाव तयारीका लागि कार्यकर्ता भेटघाट थियो ।

‘भेट हुँदा दाजुले स्वास्थ्य धेरै सुधार भएको छ भन्नुभयो, चुनावको विषयमा पनि चासो राख्नुभयो,’ मंगलबार थापालाई भेटेकी निशा दाहालले भनिन्, ‘काठमाडौँ हुँदा गलत सन्देश फैलिएपछि नजिकै आएको भन्नुभएको थियो ।’ काठमाडौँमा हुँदा विरोधीले गलत सूचना फैलाएको उनको गुनासो थियो ।

काठमाडौँको ह्याम्स अस्पतालमा हुँदा उनले श्रीमती लक्ष्मी र सहयोगीहरुलाई चुनावका बारेमा सोधिरहन्थे । चुनावका बारेमा धेरै चिन्ता गरेपछि कार्यकर्ताले भेट्न मिल्ने ठाउँमा ल्याइएको मंगलबार उनकी श्रीमती लक्ष्मीले बताएकी थिइन् ।

‘उहाँलाई धेरै चिन्ता चुनावको छ, उम्मेदवार भएर पनि घरदैलोमा जान नपाएको छ’, मंगलबार अनलाइनखबरसँगको सम्पर्कमा लक्ष्मीले भनेकी थिइन्, ‘हामीसँग कुरा गर्दा जितिन्छ भन्नुहुन्छ ।’

गिरिजाप्रसाद कोइरालाको ८ वर्ष निजी सचिव भएर काम गरेर थापा २०७४ सालमा समानुपातिक सांसद निर्वाचित भएका थिए । संस्थापन पक्षका नेता थापालाई यो पटक पार्टीले प्रत्यक्षतर्फ मोरङ ३ को १ मा टिकट दिएको थियो ।

मोरङको पथरी शनिश्चरेका बासिन्दा उनले नेविसंघबाट राजनीति सुरु गरेका थिए । पथरी शनिश्चरे ८ सोमबारेमा रहेको बुद्ध माध्यमिक विद्यालयमा २०४६ सालपछि पाँच वर्ष पढाएका थिए । त्यसपछि भने उनी राजनीतिमा थिए । २०५७ सालदेखि ८ वर्ष गिरिजाप्रसाद कोइरालाको सचिवालयमा काम गरे ।

गत असोज २३ गते उम्मेदवारी मनोनयन दर्ता गरेका थापा २४ गते गम्भीर बिरामी परे । अगाडि देखि नै ज्वरो आएपनि उनी औषधि सेवन गरेर चुनावी अभियानमा थिए । अवस्था सुधार भएर विराटनगर ल्याएपनि उनलाई मंगलबार साझ श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

अस्पतालले आईसीयू हुँदै भेन्टिलेटरमा राखेर उपचार सुरु गरेपनि बुधबार विहान साढे १० बजे मृत्यु भएको थियो । नोबेल मेडिकल कलेजका निर्देशक डा. राजेश नेपालले उपचारका क्रममा बुधबार मृत्यु भएको बताए ।

क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेबाट भानुभक्त ढकाल सत्तारुढ गठबन्धनबाट डा. सुनील शर्मा उम्मेदवार छन् । २०७४ सालको निर्वाचनमा शर्मालाई ढकालले पराजित गरेका थिए । क्षेत्र नम्बर ३ मा रेखा थापाले पनि उम्मेदवारी दिएपछि प्रतिस्पर्धा रोचक बनेको छ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?