+
+
उम्मेदवार प्रोफाइल :

भीम आचार्य : पाँचौं प्रतिस्पर्धा, तेस्रो जितको खोजी

नवराज विष्ट नवराज विष्ट
२०७९ कात्तिक २४ गते ११:५३

२०५१ सालयता नेकपा (एमाले)बाट सुनसरीमा लगातार संसदीय निर्वाचन लडिरहेका भीम आचार्यले यसपटक क्षेत्र नं. २ को टिकट पाएका छन् । सधैं सुरक्षित क्षेत्र खोज्ने उनी भन्छन्, ‘यसपटक सुनसरीका ४ मध्ये सबभन्दा अप्ठ्यारो क्षेत्रमा आइपुगेको छु ।’

आचार्यका लागि यसपटकको नयाँ के पनि छ भने उनले आफ्नै क्षेत्रमा आफैंलाई मतदान गर्न पाउनेछन् । उनले यसअघि मतदाता सूचीमा नाम भएको आफ्नो बसोबास रहेको निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका थिएनन् ।

आचार्य सुनसरीको इनरुवा–६ (साविक मधेसा गाविस–९)का स्थायी बासिन्दा हुन् । २०५१ र २०५६ सालमा सुनसरी ४ बाट उठेका उनी दुवै पटक हारे ।

२०६४ र २०७० सालमा पनि पार्टीबाट टिकट पाएका आचार्यले सुनसरी–६ रोजे । दुवै पटक विजयी भएर उनी संविधानसभामा पुगे । त्यसबेलासम्म उनको मधेसा गाविस सुनसरी–३ मा पर्थ्यो  ।

२०५१ र २०५६ सालमा ५ निर्वाचन क्षेत्र रहेको सुनसरीमा २०६४ मा एक क्षेत्र थपियो । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा फेरि ४ क्षेत्रमा झारियो, जुन अहिले कायम छ ।

पहिलो पटक २०६४ को पहिलो संविधानसभा निर्वाचनमा विजयी भएपछि आचार्य एमालेको प्रमुख सचेतक बने । दोस्रो संविधानसभामा पुगेपछि सुशील कोइराला नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त भए ।

त्यसपछि मुख्यमन्त्री बन्न चाहेका आचार्यले २०७४ को चुनावमा पार्टीबाट सुनसरी–१ (ख) को टिकट लिए । उनी २० हजार २११ मतका साथ विजयी पनि भए, तर मुख्यमन्त्री सपना लामो समय थाती रह्यो ।

प्रदेश सभामा संसदीय दलको नेता चयनमा आचार्यलाई २ मतले पछि पारेका भोजपुरका शेरधन राई प्रदेश–१ को पहिलो मुख्यमन्त्री बने ।

एमालेमा माधवकुमार नेपाल निकट भएर काम गरेका आचार्य २०७८ भदौमा पार्टी विभाजन हुँदा एमालेमै बसे । त्यसलगत्तै उनी मुख्यमन्त्री बने, तर प्रदेशसभामा एमालेले बहुमत गुमाउँदा दुई महिनामै हट्नु पर्‍यो ।

आचार्यको पृष्ठभूमि

२०१६ सालमा धनकुटामा जन्मिएका आचार्य व्यवस्थापन विषयमा स्नातकोत्तर हुन् । २०३९ सालमा अनेरास्ववियुको नेतृत्व तहमा पुगेका उनी २०४१ मा राजकाज मुद्दामा दुई वर्ष जेल परे ।

२०४६ सालको जनआन्दोलनमा उनी नेकपा (माले) को ‘प्रजातान्त्रिक आन्दोलन समन्वय समिति’ सचिवका रूपमा सक्रिय सहभागी भए ।

२०४७ मा नेकपा (एमाले) गठन भएपछि उनी सुनसरी जिल्ला कमिटी सचिव र २०५४ सालमा केन्द्रीय सदस्य बने । २०५७ मा पार्टी केन्द्रीय कार्यालय सचिव र २०५८ सालमा कोशी अञ्चल इन्चार्जको जिम्मेवारी पाए आचार्यले । उनी अहिले एमालेको स्थायी कमिटी सदस्य छन् ।

चुनावी अंकगणित

गत स्थानीय तह निर्वाचनमा सुनसरी–२ मा वडाअध्यक्षहरूले दलगत रूपमा पाएको मतमा एमाले अगाडि छ ।

उक्त चुनावमा एमालेले ५० हजार ५२९, नेपाली कांग्रेसले ४९ हजार ४७८, नेकपा (माओवादी केन्द्र)ले ४ हजार ४०१ र नेकपा (एकीकृत समाजवादी)ले २ हजार ५६३ मत पाएका छन् ।

त्यस्तै, अहिले विभाजित भइसकेको जनता समाजवादी पार्टी (जसपा)ले ८ हजार २१२, राप्रपाले ५ हजार ७०५ र स्वतन्त्रले ४ हजार ५३९ मत पाएका छन् ।

स्थानीय चुनावको नतिजाले सुनसरी–२ मा सत्ता गठबन्धनका साझा उम्मेदवारलाई एमालेका आचार्यभन्दा बढी अनुकूलतामा रहेको देखाउँछ । गठबन्धनबाट नेपाली कांग्रेसका सीताराम मेहता प्रतिस्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?