+
+
ब्लग :

छोरीलाई सम्पत्तिको अधिकार किन ?

डा. सबिता पौडेल डा. सबिता पौडेल
२०७९ कात्तिक २४ गते १४:००

महिलालाई जहिल्यै घरभित्रै सीमित रहनुपर्छ भन्ने ठानिन्छ । घरबाहिर पनि अनेकथरी बन्धनले बाँधिएको छ । नारीले आफ्नो अभिमत राख्न सक्छे । एक्लै जे पनि गर्न सक्छे भनेर यो समाजले अझै विश्वास गर्दैन ।

अझ भनौं, महिलाको आफ्नो स्व–औकात, स्व-विवेक र स्वाभिमान हुन्छ भनेर धेरै पुरुष र महिलालाई नै पनि शंका छ । नारीलाई आफ्नो पुरुषार्थ पूरा गर्न मात्र प्रयोग हुने साधन ठानेको यो समाज अझै पनि नारीको स्वतन्त्र अस्तित्व स्वीकार गर्न तयार छैन ।

समस्याको जड कहाँ छ त भनेर घोत्लिंदा जवाफ एउटै चिजको वरिपरि घुम्छ-सम्पत्तिको अधिकार । बुहारीमाथि हुने अत्याचार, घरेलु हिंसा, छोरीमाथि हुने भेदभाव, सबैको मूल समस्या हो, छोरीलाई सम्पत्तिको हक नदिइनु ।

सम्पत्ति दिनु भनेको पैसा दिनु मात्र होइन । यो स्वतन्त्रता हो । समानता हो । आत्मसम्मान हो । भलै एक रुपैयाँ किन नहोस्, दाजु–भाइ र दिदीबहिनीमा बराबर बाँडियोस् भन्ने हो । संकीर्ण सोचहरू अक्सर सुनिने गर्छ, ‘घरबाट पनि सम्पत्ति पाउने अनि माइतीबाट पनि दोहोरो फाइदा !’

तर यसो होइन, किनकि, यो आर्थिक लेनदेनको मात्र विषय हुँदै होइन । यो आत्मसम्मानको विषय हो । छोरीलाई बराबर सोचिन्छ भन्ने प्रतीकात्मक सन्देश हो र त्यसले छोरीलाई दिने आत्मविश्वास हो ।

आत्मविश्वास छोरीले आफ्नो लागि बोल्न सक्ने र लड्न सक्ने साहस हो । पढे–लेखेर, आफ्नै खुट्टामा उभिएर पनि, श्रीमान् र सासू–ससुराले गर्ने हेलाँ, शोषण र घरेलु हिंसाको जवाफ हो ।

आर्थिक हिसाबले सबल हुनु भनेको धेरै अरू आर्थिक उन्नतिको बाटो खुल्नु हो । तर त्योभन्दा बढी अरू नै हो । छोरीले बाबुआमाको लागि हरेक हिसाबले (आर्थिक, सामाजिक) सरसहयोग गर्न खोज्दा श्रीमान्लगायत परिवारका अरू सदस्य र समाजले गर्ने रोकावटको जवाफ हो ।

छोरीले श्रीमान्कै घरबारे मात्र सोच्नुपर्छ भन्ने कुविचारको अन्त्य हो । छोरीको घरका सदस्यले ज्वाईंलगायत उनका घरका सदस्यलाई अति नै सम्मान गर्छन् । जुन रैतीले शासकलाई गर्ने व्यवहार जस्तो देखिन्छ भन्दा फरक नपर्ला ।

कुरा त्यसमा आउन सक्ने परिवर्तनको हो । बिहे गरेर केटी केटाकै घरमा जानुपर्छ भन्ने मानसिकताको समाधान पनि हो । मेरी एक साथीलाई श्रीमान् र सासूससुरा भनेपछि जीउ काप्छ । किनकि, उनी घरेलु हिंसाको शिकार भइन् ।

अर्की विवाहित साथी स्वावलम्बी छ । सक्षम छ । सबै जिम्मेवारी आफैं बहन गर्छे । तर पनि स्वतन्त्र छैन । भलै हिंसामा पर्नु परेको छैन । तर, यसो गर्नुपर्ने र उसो गर्नुपर्ने भनेर नियमहरू लादिएकै छन् ।

अर्की साथी छ, जो पितृसत्तात्मक सोचको हदैसम्म दबदबामा छ । उसका कुराहरू आफ्नो घर, श्रीमान्को घर कतै सुनिंदैन । सकेसम्म उसैलाई लचिलो बन्न भनिन्छ । शर्तहरू बाँधिन्छ । त्यही पनि अझै विश्वासकी पात्र बन्न सकेकी छैन ।

यी घटनाहरूले एउटै कुरा प्रतिबिम्बित गर्छ, महिलामाथि हुने हिंसा । शारीरिक र मानसिक हिंसा । भलै सानो नै किन नहोस्, प्रायः दिदीबहिनी र विशेष गरी विवाहितले यस्ता खाले हिंसा भोगेका छन् ।

आत्मविश्वास छोरीले आफ्नो लागि बोल्न सक्ने र लड्न सक्ने साहस हो । पढे–लेखेर, आफ्नै खुट्टामा उभिएर पनि, श्रीमान् र सासू–ससुराले गर्ने हेलाँ, शोषण र घरेलु हिंसाको जवाफ हो ।

छोरीका बाबुआमालाई छोरीले बिहे पछि त घर नै हेर्छे । हामीले यति दुःख गरेर हुर्कायौं, पढायौं । तर कहाँ हेर्छन् भन्ने सोच, कहिलेकाहीं हेयभाव पनि राखिन्छ । यसको निरुपण पनि हो पैतृक सम्पत्तिको अधिकार । किनकि, बराबर हक दिएपछि छोरीलाई बाबुआमालाई हेर्नबाट कसैले रोक्न सक्दैन ।

छोरीलाई पनि मलाई त बराबर सोचेको छैन, मैले किन गर्ने, दाजुभाइले गर्छन् भन्ने सोच हँुदैन । आजका हामी जस्ता छोरी बारम्बार यस्तै सोचले पिरोलिने गर्छन् । आजका छोरीहरू आफैं पनि सक्षम छन् । सभ्य छन् । सही, गलत खुट्याउन सक्छन् । कसैको गलत सोचलाई तार्किक प्रतिकार गर्न सक्छन् ।

गलत बाटोमा सकेसम्म हिंड्दैनन् । बस एउटै चिजले विचलित छन्, किन अझै हामी पुरुष बराबर छैनौं ? बिन्ती, बाबुआमा, छोरीको माया छ भने एक रुपैयाँ नै सही, छोरा–छोरीमा बराबर बाँडिदिनुस् !

समाजवादी चिन्तकहरूले त्यसै भनेका छैनन् । नारीवादीहरूले त्यसै आवाज उठाएका होइनन् । संसारभरका महिलावादीहरूले त्यसै विद्रोह गरेका छैनन् । हाम्रो देशमा कानुनले हक त दियो, तर कहिलेबाट यो लागू हुने हो समाजमा ? यसो भन्दै गर्दा समाजका धेरै आयाम पनि बिर्सनुहुँदैन ।

हामी लेखक त्यसमा पनि सचेत छौं । तर नारीले अधिकारसम्पन्न महसुस गर्न कति कुर्नुपर्ने हो भनेर हीनताबोध चाहिं महसुस गर्छौं । जुन स्वतन्त्रता हाम्रा समकक्षी विकसित राष्ट्रका साथीले भोग गरिराखेका छन् । त्यो कानुनले दिंदा–दिंदै पनि हामीले किन नपाउने ?

नेपालको संविधान, २०७२ को धारा (१८) समानताको हकमा लेखिएको छ, ‘पैतृक सम्पत्तिमा लैंगिक भेदभावविना सबै सन्तानको समान हक हुनेछ ।’

राष्ट्रिय महिला आयोगकी पूर्वसदस्य मोहना अन्सारी भन्नुहुन्छ, ‘कानुनले बराबर हक दिए पनि महिलाले आफ्नो अधिकार अझै बुझेका छैनन् । महिलाहरू यस विषयमा सचेत र जागरुक हुनुपर्दछ ।’

स्वतन्त्रता र समानता हरेक मानवको प्रिय चिज हो । जहाँ यी हुँदैनन्, त्यहाँ प्रेम हुँदैन । प्रेम नभएको घर र समाज प्राणविहीन हुन्छ । घरघरमा प्रेम भर्ने र घरकै प्राण (आमा, दिदी–बहिनी)लाई माया र सम्मान दिने एउटै माध्यम छ, पैतृक सम्पत्तिको अधिकार ।

कानुनले नै सुनिश्चित गरेको विषयमा बहस नहुनुपर्ने हो । तर, समानता महसुस गरिएको छैन । त्यसैले बोल्नुको विकल्प छैन । घर यति समान र पारदर्शी होस् जस्तो लाग्छ कि कुशे–औंसीमा मुख हेर्न जाँदा दुई किलो स्याउ मात्र हैन, बुवाको ऋणको चेक लिएर छोरी जान सकुन् ।

तीजमा बुबाले छोरीलाई गुन्यूँ चोली दिउन्, छोरीको आर्थिक व्यवहार र उन्नतिमा चासो दिउन्, परे सहयोग गरुन् । आजका महिला अर्थतन्त्रका हिस्सा हुन् । विकासका संवाहक हुन् र समाजको प्रगतिका एक महत्वपूर्ण अंश हुन् भन्ने सबैले बुझ्नुपर्छ ।

(डा. पौडेल गण्डकी मेडिकल कलेज, पोखराकी उप-प्राध्यापक हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?