+
+

युक्रेनी राष्ट्रपतिलाई हलिउड अभिनेता सिन पेनले दिए ओस्कार अवार्ड उपहार

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २४ गते १७:०७

काठमाडौं । हलिउड अभिनेता सिन पेनले हालै द्वन्द्वग्रस्त युक्रेनको राजधानी किभ पुगेर राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँग भेट गरेका छन् ।

रुसी आक्रमण जारी रहँदा उनले युक्रेन पुगेर सहानुभूति व्यक्त गरेका हुन् । अभिनेता पेनले आफूले प्राप्त गरेका दुईवटा ओस्कार अवार्डका ट्रफीमध्ये एक उपहार स्वरुप राष्ट्रपति जेलेन्स्कीलाई प्रदान गरेका छन् ।

युक्रेनको आन्तरिक मामिलामन्त्रीका सल्लाहकार एन्टोन गेराश्चेन्कोले साझा गरेको भिडियोमा ओस्कार ट्रफी प्रदान गरेको देखिन्छ ।

ट्रफी हस्तान्तरण गर्दै अभिनेता पेनले भनेका छन्, ‘यो तपाईंका लागि हो । प्रतीकात्मक वस्तु मात्र हो । मलाई थाहा छ, यो कुरा यहाँ छ भने म लडाईंका लागि आफूलाई बलियो महसुस गर्नेछु ।’

हात मिलाएपछि राष्ट्रपतिले अभिनेता पेनलाई विश्वमा युक्रेनलाई लोकप्रिय बनाउन इमान्दार समर्थन र महत्वपूर्ण योगदानको लागि अर्डर अफ मेरिटबाट सम्मान गरे ।

‘संसारमा तीन ठाउँहरु छन् जसलाई म गर्व गर्नेछु– मेरी छोरी जन्मेको ठाउँ, मेरो छोराको जन्म भएको ठाउँ र यो, धन्यवाद,’ पेनले भने ।

अभिनेता पेन युक्रेनमाथिको रुसी सैन्य आक्रमण जारी रहँदा क्रेमलिनका सबैभन्दा कट्टर आलोचक हुन् । गत फेब्रुअरी युक्रेन पुगेर उनले भाइस स्टुडियोका लागि डकुमेन्ट्री निर्माण गरेका थिए । त्यसयता जेलेन्स्की र उनीबीच थुप्रैपटक भेट भएको छ ।

अभिनेता पेनले सन् २००३ मा फिल्म ‘मिस्टिक रिभर’ र सन् २००८ मा फिल्म ‘मिल्क’बाट सर्वोत्कृष्ट अभिनेताको ओस्कार अवार्ड जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?