+
+
विचार :

योग्य उम्मेदवार छनोटका दर्जन सूचक

खुला अर्थनीति, सबै कुरा बजारले निर्धारण गर्छ भन्ने जस्ता दर्शन छाँटी शिक्षा र स्वास्थ्य सेवालाई चरम व्यापारीकरण गरी केटाकेटी र बिरामीबाट रकम लुट्ने वातावरण बनाइदिनेलाई आगामी निर्वाचनमा आम मतदाताले पहिचान गर्नुपर्छ ।

कृष्णहरि बास्कोटा कृष्णहरि बास्कोटा
२०७९ कात्तिक २५ गते १८:३९

आगामी मंसिर ४ गते प्रतिनिधिसभा र सात वटा प्रदेश सभाका सांसदको निर्वाचन हुँदैछ । यसमा प्रत्यक्ष र समानुपातिक गरी प्रत्येक मतदाताले ४ वटा मतदान गर्नुछ । यसर्थ, कस्ता उम्मेदवार र राजनैतिक दललाई मतदान गर्ने र नगर्ने भन्ने सम्बन्धमा आफ्नो अभिमत सार्वजनिक गर्न चाहन्छु ।

१. सार्वभौमसत्ताको पहरेदार

नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतालाई जुन उम्मेदवार र दलले सर्वाधिक महत्व दिएको छ, त्यहीलाई मतदान गर्नुपर्छ । मुलुकको सार्वभौमसत्ता माथि नै खेलबाड गर्ने, विदेशीको कठपुतली हुन खोज्ने, मुलुकको अहितमा सन्धि–सम्झौता गर्न अग्रसर हुने, विदेशीलाई स्वार्थवश नेपालमा स्थापित गर्न खोज्नेको पहिचान गरी त्यस्तालाई मतदान गर्नुहुँदैन ।

२. संघीयताको पक्षधर

संविधान मुलुकको मूल कानुन हो । यसको सम्मान गर्नुपर्छ । मुलुकलाई विधिको शासनमा हिंडाउनुपर्छ । यसका लागि प्रचलित कानुनको अक्षरशः पालना गर्नुपर्छ । यस अनुसार मुलुकले अख्तियार गरेको संघीय लोकतान्त्रिक गणतन्त्रप्रति पूर्ण प्रतिबद्धलाई मतदान गर्नुपर्छ ।

हामी सबैलाई जानकारी छ, संविधान एक गतिशील दस्तावेज हो, यसलाई संविधानको प्रक्रिया अनुसार संशोधन गर्न सकिन्छ । तर, नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौमिकताको संशोधन निषेधित छ । यसर्थ, मुलुकलाई विखण्डनतर्फ डोर्‍याउन दुस्साहस गर्ने, जनतालाई भड्काउने, आपसमा द्वेष सिर्जना गर्ने, मुलुकको शान्ति सुरक्षामा गम्भीर खतरा पुर्‍याउन खोज्नेलाई आगामी निर्वाचनमा परास्त गर्नुपर्छ ।

३. मौलिक हकको प्रवर्द्धक

आम नेपालीलाई नेपालभित्र सम्मानपूर्वक बाँच्न पाउने हक छ । हामीले स्वतन्त्रता र समानताको हकका साथै छुवाछूत तथा भेदभाव विरुद्धको हक प्रयोग गरिआएका छौं ।

यसैगरी, आम नेपालीसँग सम्पत्तिको हक, धार्मिक स्वतन्त्रताको हक, सूचनाको हक, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतको हक विद्यमान छ । यसरी संविधानले प्रत्याभूत गरेका मौलिक हकको प्रचलनका लागि उच्च प्रतिबद्धता भएको उम्मेदवार र दललाई आगामी निर्वाचनमा निर्वाचित गराउनुपर्छ ।

४. सामाजिक अभियन्ता

मुलुकभित्र विद्यमान सामाजिक र सांस्कृतिक धरोहरलाई जगेर्ना गर्दै यसलाई आधुनिकतामा रूपान्तरित गर्नुपर्छ । यसका लागि समाजमा विद्यमान गलत अभ्यास विरुद्ध जुध्ने सामाजिक अभियन्तालाई आगामी निर्वाचनमा विजयी गराउनुपर्छ ।

समाजमा विद्यमान धर्म, प्रथा, परम्परा, रीति तथा संस्कारका नाममा हुने सबै प्रकारका विभेद, असमानता, शोषण र अन्यायको अन्त्यका लागि भिड्ने उम्मेदवार हाम्रो छनोटमा पर्नुपर्छ । धर्म, जात, सम्प्रदाय, भूगोललगायतको नाममा नेपालभित्रै फाटो ल्याउन उद्यतसँग सजग रहनुपर्छ ।

५. समावेशीकरण बुझेको

हाम्रो संविधानले सामाजिक न्याय र समावेशीकरणलाई आत्मसात् गरेको छ । यसर्थ, समाजमा सबै वर्ग, समुदाय र भूगोलका बासिन्दा बीच न्यूनतम विषयमा समानता नहुन्जेल सकारात्मक विभेदको नीतिको व्याख्या गरी सबैलाई अवसर दिएर समतामूलक समाज निर्माण गर्न सक्ने उम्मेदवारको छनोट गर्नुपर्छ ।

यस अनुसार लक्षितवर्गका महिला, ज्येष्ठ नागरिक, बालबालिका, जोखिम र बहिष्करणमा परेका, आदिवासी, जनजाति, दलित र विकासमा पछाडि परेका वर्गको उत्थानमा अहोरात्र खटिएको व्यक्तिको पहिचान गरी मतदान गर्नुपर्छ । स्वयं सामन्तीको रूपमा पहिचान निर्माण गरेकालाई आगामी निर्वाचनमा पराजित गर्नुपर्छ ।

६. शिक्षा र स्वास्थ्य निःशुल्क

नेपालको संविधानले आधारभूत शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक शिक्षा निःशुल्क हुन्छ भनेको छ । यसैगरी, स्वास्थ्य सेवामा पनि सबैको पहुँच हुने र निःशुल्क हुने भाव संविधानमा उल्लेख गरिएको छ । यसर्थ, यस विषयमा पहल गरी आम जनतालाई शिक्षा र स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न सक्ने उम्मेदवारको खोजी गर्नुपर्छ ।

खुला अर्थनीति, उदारीकरण, निजीकरण, सबै कुरा बजारले निर्धारण गर्छ भन्ने जस्ता दर्शन छाँटी शिक्षा र स्वास्थ्य सेवालाई चरम व्यापारीकरण गरी केटाकेटी र बिरामीबाट रकम लुट्ने वातावरण बनाइदिनेलाई आगामी निर्वाचनमा आम मतदाताले पहिचान गर्नुपर्छ र आफ्नो विवेकको मत योग्य उम्मेदवारलाई दिनुपर्छ ।

७. अन्तर्राष्ट्रिय सम्बन्ध

नेपाल असंलग्न राष्ट्र हो । यसले पञ्चशीलको नीति अख्तियार गरेको छ । यो संयुक्त राष्ट्रसंघको वडापत्रप्रति प्रतिबद्ध मुलुक हो । हामी छिमेकी राष्ट्रहरूसँग सुमधुर सम्बन्ध राख्न चाहन्छौं ।

हामी कैयौं अन्तर्राष्ट्रिय घोषणाको पक्ष राष्ट्र भएका छौं । हामी विश्वव्यापी मानवअधिकार घोषणापत्रको पक्षधर हौं । हामी विश्वमा शान्ति चाहन्छौं । यसर्थ, यी विषयमा निपुणता भएको उम्मेदवारको खोजी गरी विजयी गराउनुपर्छ ।

८. अन्तर्राष्ट्रिय छवि निर्माण

नेपाल विश्वमै एक सुपरिचित मुलुकका रूपमा स्थापित छ । विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालमै छ । भगवान गौतम बुद्ध जन्मिएको यो पवित्र भूमि हो । नेपाल हिमाल, पहाड र तराईको समिश्रण भएको भूपरिवेष्टित मुलुक हो ।

नेपाली युद्ध कौशलता र इमानदारी दुवैमा विश्व विख्यात छन् । यसर्थ, नेपालमा पर्यटन प्रवद्र्धनको प्रशस्त संभावना छ । यस मुलुकमा जलविद्युत्को विकास लगायतमा बाह्य लगानी आकर्षण गर्न सकिने संभावना छ । यी विषयमा पहल गरी राष्ट्रलाई लाभ पुर्‍याउने उम्मेदवार छनोट गर्नुपर्छ ।

९. आर्थिक समृद्धि

आर्थिक विकासका दृष्टिले मुलुक निकै पछाडि परेको छ । हाल नेपालीको प्रतिव्यक्ति औसत आय करिब १२०० अमेरिकी डलर छ । यसमा निकै तीव्रगतिमा समृद्धिका कार्यक्रम संचालन गरिएमा आगामी पाँच वर्षमा यसलाई २ हजार डलरसम्म पुर्‍याउन सकिएला । आगामी सन् २०२६ सम्ममा हामी अल्पविकसित मुलुकको वर्गीकरणबाट विकासोन्मुख मुलुकको वर्गीकरणमा स्तरोन्नति हुँदैछौं ।

संयुक्त राष्ट्रसंघबाट घोषणा गरिएको दिगो विकासका सत्र वटा लक्ष्यमा हामीले इमानदारीका साथ काम गर्‍यौं भने आगामी सन् २०३० मा नेपालीको प्रतिव्यक्ति औसत आय ३ हजारदेखि ५ हजार डलरसम्म पुग्न सक्छ । यस्ता व्यावहारिक तथ्यांक सार्वजनिक गरी समृद्धिका पक्षमा वकालत गर्ने उम्मेदवारलाई जिताउनुपर्छ ।

१०. विश्वसनीय तथ्य प्रस्तुतकर्ता

हाल निर्वाचनमा उठेका उम्मेदवार र दलका अस्वाभाविक र अपत्यारिला तथ्यांकसहितका घोषणापत्र जारी भएका छन् । हाल नेपालको आर्थिक वृद्धिदर औसतमा ४÷५ प्रतिशत छ । यसलाई ६÷७ प्रतिशतमा पुर्‍याई केही वर्षका लागि यो दरलाई स्थिर राख्न सके निकै सफल भइन्थ्यो । हाम्रो वार्षिक खाद्यान्न उत्पादन एक करोड मेट्रिक टन छ । यसलाई डेढीसम्म पुर्‍याउन सके हुनुसम्म हुन्थ्यो ।

नेपालमा औसतमा वार्षिक १० लाख पर्यटक आउने गरेका छन् । यसलाई आगामी पाँच वर्षमा २५ लाख पुर्‍याउन सके हाम्रो सामथ्र्य देखिन्थ्यो । यसैगरी, हाल करिब ३ हजार मेघावाट जलविद्युत्को उत्पादनलाई आगामी पाँच वर्षमा १० हजार मेघावाट पुर्‍याउनु फलामको चिउरा चपाउनु सरह हो । यसर्थ, वास्तविकताको धरातलमा उभिएर तर्क राख्ने उम्मेदवार नै छनोटमा गर्नुपर्छ । यसबाट अनावश्यक रौसिने र केही नभएपछि निरुत्साहित हुनेबाट हामी स्वयं जोगिइनेछौं ।

११. प्राकृतिक स्रोत व्यवस्थापक

नेपालमा उल्लेख्य संभावनासहितको प्राकृतिक स्रोत छ । यसलाई दोहन गर्ने होइन, तर उपयोग गर्न पछि पर्नुहुँदैन । हामीकहाँ यूरेनियमको संभावना छ । सुन, तामा, फलाम, स्लेट, खरी, म्याग्नेसाइट, रत्न पत्थर उपलब्ध छ ।

पेट्रोलियम पदार्थ र प्राकृतिक ग्याँसको संभाव्यता अध्ययन भइसकेको छ । तर, हामीले समुचित रूपमा खानी उत्खननको काम आरम्भ नै गरेका छैनौं । यसमा ज्ञान, सीप र ल्याकत भएको उम्मेदवारलाई आगामी निर्वाचनमा जिताउनुपर्छ ।

१२. आधारभूत आवश्यकता

आम नागरिकलाई दैनिक आवश्यक आधारभूत वस्तुको सर्वसुलभ आपूर्ति व्यवस्था गर्नुपर्छ । यसका लागि कृषिलाई व्यवसायीकरण र यान्त्रिकीकरणमा रूपान्तरण गरी आत्मनिर्भर बनाउनेतर्फ उन्मुख गराउनुपर्छ ।

मुलुकमा कालोबजारी निषेध गर्नुका साथै सरकारी राजस्व छल्ने वा हानिनोक्सानी गर्ने कुरा सोच्न पनि नसकिने गरी कडाइ गर्न सक्ने उम्मेदवारले विजयको माला पहिरिनुपर्छ ।

१३. उच्च नैतिकता

राजनीतिज्ञमा हुनुपर्ने प्रथम गुण नै जनसेवा हो । यसर्थ, सदाचारी जीवन पद्धति भएको, भ्रष्टाचार विरोधी अभियन्ता, मितव्ययी र सदाचारको पक्षमा वकालत गर्नेलाई आगामी निर्वाचनमा मत दिनुपर्छ ।

यसरी आम मतदाताले सच्चाइको पक्षमा काम गरिरहेको र गर्न सक्ने उम्मेदवार र दललाई मतदान गर्नुपर्छ । यसबाट मतदातालाई आत्मसन्तोष हुन्छ र मुलुकले पनि समृद्धि र सुशासनमा फड्को मार्नेछ ।

लेखकको बारेमा
कृष्णहरि बास्कोटा

कृष्णहरि बास्कोटा सूचना आयोगका पूर्वप्रमुख आयुक्त हुन् । त्यसअघि नेपाल सरकारका सचिव रहेका उनले अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिवको जिम्मेवारी निभाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?