+
+

सहानुभूति होइन व्यक्तित्वले जित्न चाहेकी विद्या

अमृत सुवेदी अमृत सुवेदी
२०७९ कात्तिक २६ गते १४:४३

विद्यार्थी आन्दोलनको रापतापले खारिए पनि संसदीय राजनीतिमा आउन विद्या भट्टराईलाई दुई दशक बढी लाग्यो । अनेरास्ववियुको सचिव भइसकेकी विद्याले २०५५ सालमा विवाह भएपछि श्रीमान रवीन्द्र अधिकारीको राजनीतिक यात्रा फराकिलो बनाइदिन घर परिवार सम्हालिन् । ०७२ सालदेखि रत्नराज्य क्याम्पसमा उपप्राध्यापकको जागिर सुरु गरेकी विद्याले राजनीतिमा फर्किनेबारे सोचेकै थिइनन् ।

१५ फागुनमा २०७५ ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा श्रीमान् रवीन्द्र अधिकारीको निधन भएपछि विद्याको जीवनमा नयाँ मोड आयो । कास्की २ मा हुने उपचुनावमा पार्टीले उम्मेदवार बनाउने निर्णय गरेपछि विद्या राजनीतिमा फर्किइन् ।

देशलेमात्रै होइन, आफ्नै जिन्दगीमा घटेको दुखद घटनाका कराण उनी नकल्पेको निर्वाचनमा उभिनुपर्‍यो । प्राध्यापनमा रमाइरहेकी विद्याको श्रीमान् रवीन्द्र अधिकारीको निधनकै कारण राजनीतिक पुनरागमन भयो ।

श्रीमानको निधनले आँखा नओभाउँदै २०७६ मंसिरमा भएको उपनिर्वाचनमा नेकपा एमालेले कास्की-२ मा उम्मेदवार बनाउँदा धेरै शब्दका तीरहरु खेपिन्, रवीन्द्रको निधनपछि संवेदनाको मत तान्न विद्यालाई खडा गरियो । त्योबेला विद्या भन्थिन्, ‘मान्छे विशेष घटनाक्रमले पनि राजनीतिमा आउँदो रहेछ । म प्राध्यापनमा थिएँ तर राजनीतिबाट टाढा थिइनँ ।’

काठमाडौंलाई आधार बनाएर विद्यार्थी राजनीति गरेकी विद्या रवीन्द्रको निधनपछि एमाले विरासत धान्न कास्की-२ मा आइपुगिन् । शोकलाई शक्तिमा बदलेर चुनाव लड्ने साहस बटुलेको बताउँदै विद्या भन्छिन्, ‘रवीन्द्रको सपना पूरा गर्न बुहारी होइन, कास्कीमा एउटा छोरी चुनाव लड्न आएकी छ ।’

४ वटा निर्वाचन क्षेत्र हुँदा कास्की-३ बाट दुई पटक र निर्वाचन क्षेत्र पुनर्संरचनापछि कास्की-२ २०७४ सालमा चुनाव जितेर रवीन्द्रले ‘हृयाटि्रक’ पूरा गरेका थिए । त्यही क्षेत्रमा रवीन्द्रकै बिरासतलाई पछ्याउँदै, संवेदनाको मतसमेत बटुल्दै एमालेबाट उपनिर्वाचन जितेर विद्याले संसद यात्रा तय गरिन् । तर, यसपटक उनी संवेदनाले होइन, एजेण्डा र व्यक्तित्वले मत ल्याएर जित्ने होडमा छिन् ।

उपनिर्वाचनमार्फत संसद छिरे पनि जनताको घर दैलोमा विकासको कार्यक्रम लिएर जान नपाएको र रवीन्द्र अधिकारीकै अपेक्षा आफूमाथि भएको विद्याको अनुभव छ । उनी सांसद त भइन् तर नेकपा विवादले संसद नै लामो समय अवरुद्ध भयो । नेकपा विवादमा पार्टीका नेता कार्यकर्ता विभाजित हुने अवस्था आयो ।

उपनिर्वाचनबाट संसद प्रवेश गरेपछि कानुन निर्माणमा सक्रिय सहभागिता जनाएकी विद्याले विभिन्न ऐनमा संशोधन प्रस्ताव दर्ता गर्ने, महिला, बालबालिकाको पक्षमा बोल्ने गरिन् । तर, जनताको तहमा अझै सांसदले योजना नै बाँड्नुपर्छ भन्ने मान्यता भएकाले संसदमा आफूले निभाएको भूमिका नदेखिएको विद्या बताउँछिन् । यो बीचमा विद्याले शालीन, तार्किक र शिष्ट नेताको परिचय बनाएकी छन् ।

आफ्नै परिचय र यसअघिको अनुभवलाई लिएर विद्या जनताका बीचमा गएकी छन् । यसअघि विशेष घटनाक्रमले उपनिर्वाचनमा होमिनुपरेको र अब पूरा कार्यकाल जनताको माग पूरा गर्ने, संसदमा जनताकै आवाज बोल्ने बताउँदै विद्या मतदाताको घरदैलोमा छिन् । केपी ओलीकै रोजाइ र जोडबलमा दोस्रो पटक चुनावी मैदानमा होमिएकी विद्याको निम्ति स्थानीय तहमा गठबन्धनले प्राप्त गरेको मतअनुसार जित निकाल्न सहज छैन ।

नेपाली कांग्रेसकै भोटको भर पर्नुपर्दा सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराललाई भन्दा विद्यालाई सहज हुने अनुमान धेरैको छ । त्यसैमाथि नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री महादेव गुरुङले यही क्षेत्रमा बागी उम्मेदवारी दिएका छन् । जसका कारण विद्यालाई सहज भएको विश्लेषण निर्वाचन क्षेत्रमा छ ।

कास्की-२ रवीन्द्र अधिकारीको समयदेखिको विरासत गुम्न नदिने पक्षमा छिन् विद्या । तर, चार दशकको राजनीतिक जीवनमा पहिलो पटक उम्मेदवार बनेका श्रीनाथ गठबन्धनबाट विद्यालाई हराउन कसरत गरिरहेका छन् । रवीन्द्रले तीन पटक चुनाव जितेको क्षेत्रमा विद्या पनि यसपटक दोहोरिन हरतरहले लागिरहेकी छन्  ।

सांसद भएर चुनावको चर्चा सुरु भइसक्दा मान्छेहरुले अब फेरि प्राध्यापनमा फर्किने र राजनीतिमै सक्रिय हुने भनेर विद्यालाई सोध्न थालेका रहेछन् । फरक क्षेत्रबाट राजनीतिमा आइसकेपछि फेरि जाने कि आउने भन्ने प्रश्नहरुले उनलाई घोच्दो रहेछ ।

‘हिजो जतिबेला राजनीतिमा थिएँ, विद्यार्थी आन्दोलन एउटा मुद्दामा केन्द्रित थियो । विद्यार्थीका मागहरु नै हाम्रा एजेन्डा थिए’, विद्या भन्छिन्, ‘विवाहपछि राजनीतिसँग जोडिरहे पनि फ्रन्टलाइनर भइनँ । मेरो पहिचान भनेको एउटा प्राध्यापक, एक्टिभिस्टका रुपमा मात्रै रहृयो । तर एउटा अवस्थाले फ्रन्टलाइनर भएर निस्किएँ ।’

समाजशास्त्रमा एमफिल गरेकी भट्टराईलाई संघीय संसदमा सक्रिय सहभागिता र प्रभावकारी भूमिका खेलेको भन्दै एमालेले फेरि उम्मेदवार बनाएको हो । र यो अवसरलाई कुनै पनि हालतमा खेर जान नदिन उनी पनि लागिरहेकी छन् ।

कास्की-२ अन्तर्गत पोखरा महानगरपालिकाका ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ वडा पर्छन् । यी ११ वटा वडामध्ये ६ वडामा नेपाली कांग्रेसले जितेको छ भने ५ वटा वडामा कांग्रेस विजयी भएको छ ।

वडा नं १७, २१, २० लाई कास्कीमा नेकपा एमालेको ‘उत्तर कोरिया’ नै भन्ने गरिन्छ । वडा नं ४, ७, ९, ११ लाई कांग्रेसको बलियो जनाधार भएको वडा मानिन्छ । गएको स्थानीय तहको निर्वाचनको मत परिणाम हेर्दा प्रतिनिधि सभाको निर्वाचन कसले जित्छ यसै भन्न सकिने अवस्था भने छैन ।

एमालेका वडाध्यक्षका उम्मेदवारले गत स्थानीय तहको निर्वाचनमा २१ हजार १ सयको हाराहारीमा मत प्राप्त गरेका थिए । कांग्रेसबाट वडाध्यक्षका उम्मेदवारले १९ हजार ८ मत गरेका थिए । एकीकृत समाजवादीका उम्मेदवारले २ हजार ५३ मत र माओवादी केन्द्रका उम्मेदवारले १ हजार १९८ मत ल्याएका थिए ।

राप्रपाबाट वडाध्यक्षका उम्मेदवारले २ हजार ७९ र स्वतन्त्र तथा अन्यले ७५० मात्र मत प्राप्त गरेका थिए । स्थानीय तहको मतलाई हेर्दा कांग्रेस, एकीकृत समाजवादी र माओवादीका वडाध्यक्षले पाएको मत हेर्दा एमाले करिब १ हजार मतले मात्र पछि छ । तर, स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादी र माओवादीले सबै वडामा उम्मेदवार नउठाएकाले मतको परीक्षण नहुने उनीहरुको भनाइ छ ।

एमालेले पनि अघिल्लो निर्वाचनमा अन्तर्घात पनि भएको र यो निर्वाचनमा त्यस्तो नहुने भन्दै अन्य पार्टीको मतसमेत काटेर व्यक्तित्वका हिसाबले पनि विद्याले चुनाव जित्ने दाबी गरेको छ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?