+
+

बैतडीमा भण्डारीलाई गठबन्धन र कुँवरलाई बागीको डर

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २७ गते १६:४४

२७ कात्तिक, बैतडी । प्रतिनिधि सभाको एकमात्र निर्वाचन क्षेत्र रहेको बैतडीमा ११ जना उम्मेदवार छन् ।

तर सत्तारुढ गठबन्धनबाट उम्मेदवार भएका नेकपा माआवादी केन्द्रका नरेन्द्रबहादुर कुँवर र नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारीबीच मुख्य प्रतिस्पर्धा देखिएको छ ।

त्यसो त यी दुईबीच २०६४ सालदेखि नै प्रतिस्पर्धा छ । तत्कालीन बैतडी क्षेत्र नम्बर १ मा २०६४ सालमा कुँवरले भण्डारीलाई पराजित गरेका थिए । तर २०७० सालको निर्वाचनमा कुँवर बैतडी १ मा भण्डारीसँगै पराजित भए ।

२०७४ सालमा भने एमाले र नेकपा माओवादी केन्द्रको तालमेल भएकाले यो सिट एमालेको भागमा पर्‍यो । त्यसैले कुँवरले भण्डारीको सारथी भएर काम गरे । २०७४ सालको निर्वाचनमा भण्डारीले कांग्रेसका नरबहादुर चन्दलाई ११ हजार २३३ मतान्तरले पराजित गरे । भण्डारीले ३९ हजार ५२४ मत ल्याउँदा चन्दले २८ हजार २९१ मत मात्रै पाएका थिए ।

यसपालि कुँवर नेपाली कांग्रेसको समर्थनमा उम्मेदवार छन् । यद्यपि कांग्रेस नेता केशवबहादुर चन्दले बागी उम्मेदवारी दिएका छन् । कांग्रेसको बलियो हुँदाहुँदै माओवादी केन्द्रलाई छाडेको विरोधमा उनी बागी बनेका हुन् ।

तर चन्दको बागी उम्मेदवारीले आफूलाई कुनै फरक नपर्ने दाबी कुँवर गर्छन् । ‘यो गठबन्धनप्रति जनताहरुको आकर्षण बढ्दो छ, कार्यकर्ताको आकर्षण छ’, उनले भने, ‘जनताले दिएको म्याण्डेटलाई (केपी शर्मा) ओलीले कुल्चिएर अस्थिरतातर्फ लैजान खोजेका थिए, त्यो प्रवृत्तिको अन्त्य गर्न सबै गठबन्धनका कार्यकर्ता एक भएका छन्, हाम्रो जित पनि सुनिश्चत छ ।’

लगातार २ कार्यकाल सांसद रहेका भण्डारीले बैतडीका जनतालाई राहत दिनुको सट्टा आहत दिएको कुँरको आरोप छ ।

त भण्डारी यसलाई स्वीकार्दैनन्, १० वर्षे कार्यकालमा बैतडीमा थुप्रै विकासका कामहरु भएको र केही अधुरा कामलाई पूरा गर्न आफू फेरि उम्मेदवार भएको बताउँछन् उनी । ‘दुई पटक लगातार बैतडीबाट जनताहरुले जिताएको प्रतिनिधि हुँ’, उनले भने, ‘मैले यहाँको हरेक समस्या समाधान गरेको छु, अझै केही काम अपूरा छन्, ती काम पूरा गर्न मेरो उम्मेदवारी हो ।’

केपी ओली नेतृत्वमा सरकार हुँदा बैतडीमा सुरु भएका थुप्रै योजनाहरु अहिलेको गठबन्धनको सरकारले काटिदिएको आरोप पनि उनले लगाएका छन् ।

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षले पाएको मतलाई आधार मान्ने हो भने बैतडीमा नेकपा एमाले ठूलो दल हो, तर सत्तारुढ गठबन्धनमा रहेका दलहरुको मत जोड्दा भने एमाले पछाडि छ ।

एमालेको ३५ हजार ४८, कांग्रेसको ३३ हजार ६८३, माओवादीको १४ हजार ९९८, नेकपा एकीकृत समाजवादीको ३ हजार १४० र राप्रपाको २ हजार ४ मत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?