+
+

म्याग्दीको प्रदेशसभामा मामा–भाञ्जाको प्रतिस्पर्धा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २८ गते १३:४६

२८ कात्तिक, म्याग्दी । म्याग्दीको प्रदेशसभा १ मा मुख्य प्रतिस्पर्धी उम्मेदवार एकै वडाका नातेदार छन् ।

नेकपा एमालेका उम्मेदवार देवेन्द्रबहादुर कटुवाल र सत्ता गठबन्धनको समर्थन पाएका नेकपा माओवादी केन्द्रका उम्मेदवार हरिबहादुर भण्डारी नाताले मामा–भाञ्जा हुन् । रघुगंगा गाउँपालिका–२ भगवतीका कटुवाल मामा हुन् भने भण्डारी भाञ्जा ।

कटुवालकी आमा र भण्डारीकी मावलीकी हजुरआमा दिदी बहिनी हुन् । उनीहरुको घर रहेको गाउँ भगवती प्रदेशसभा १ को धेरै मतदाता हुने वडामध्येमा पर्दछ । चार वटा मतदान केन्द्र रहेको यस वडामा २ हजार ८२८ मतदाता छन् ।

बढी मतदाता भएको वडाका उम्मेदवार बनाउँदा मत बाँडिने र जित्न सहज हुने रणनीति दुवै पक्षले अपनाएको देखिन्छ । गत चुनावमा प्रदेश सांसद जितेका माओवादीका विनोद केसीको जन्मथलो पनि भगवतीनै हो ।

२०७४ को स्थानीय तह निर्वाचनमा रघुगंगा गाउँपालिकामा भण्डारी र कटुवाल पनि उठेका थिए । त्यतिबेला एमाले र माओवादीले तालमेल गरेका थिए । उपाध्यक्षका उमेदवार माओवादीका भण्डारीलाई एमालेले सघाएको थियो । तर उनले चुनाव हारे । त्यसबेला भगवतीको वडा अध्यक्षमा माओवादीका रिमबहादुर कटुवाल निर्वाचित भए । वडा सदस्य निर्वाचित भएका एमालेका देवेन्द्रबहादुर कटुवाल जिल्ला समन्वय समितिको प्रमुख चयन भए ।

गत वैशाखको स्थानीय तह निर्वाचनमा रघुगंगामा त्रिपक्षीय प्रतिस्पर्धा भयो । एमालेका अमृत भण्डारी भगवतीको वडा अध्यक्ष निर्वाचित हुँदा माओवादीका उम्मेदवार दोस्रो र कांग्रेसका उम्मेदवार तेस्रो भए ।

एमालेको जिल्ला कमिटी अध्यक्ष रहेका कटुवाल २०५४ सालको चुनावबाट भगवती गाविसको अध्यक्ष र भूमि आयोगको अध्यक्ष बनेका थिए । ५७ वर्षका स्नातक तहसम्मको अध्ययन गरेका उनी शिक्षण पेशाबाट राजनीतिमा आएका हुन् ।

कटुवालसँगको प्रतिस्पर्धामा गठबन्धनले ३७ वर्षीय युवा नेता भण्डारीलाई अगाडि सारेको हो । भण्डारी २०६१ सालमा कतारबाट फर्किएपछि माओवादीको युवा संगठन वाईसीएलको तत्कालीन गाविस कमिटीको अध्यक्ष हुदै राजनीतिमा आएका थिए । उनी माओवादीको रघुगंगा गाउँपालिका कमिटी अध्यक्ष र जिल्ला सदस्य छन् । भण्डारीको बेनीमा गाडी मर्मत र यातायातका साधनका पाटपुर्जा बिक्री केन्द्र छ ।

सामुदायिक वन, युवा क्लब, विद्यालय व्यवस्थापन समिति र उपभोक्ता समितिमा रहेर भण्डारीले काम गरेका छन् । उनलाई नेपाली कांग्रेस, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको साथ छ ।

प्रदेशसभा क्षेत्र १ मा कटुवाल र भण्डारीसँगै राप्रपाका प्रविन शाही, राप्रपा नेपालका दूध गिरी, मंगोल नेशनल अर्गनाइजेशनका दीपक पुन उमेद्वार छन् । राप्रपाका उम्मेदवार शाही भगवतीको छिमेकी वडा पिप्लेका हुन् ।

प्रदेशसभा क्षेत्र १ मा बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिका पर्छ । ४९ मतदान स्थलमा ६८ वटा केन्द्र रहेको यो क्षेत्रमा मा ४८ हजार ४७२ मतदाता छन् । यो क्षेत्रमा गत स्थानीय तह चुनावमा एमालेका वडा अध्यक्षका उम्मेदवारले १२ हजार ९६५, कांग्रेसकाले १२ हजार ३५९ र माओवादीकाले चार हजार २९३ मत पाएका थिए ।

बेनी नगरपालिकाको प्रमुख, अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष र १३ वटा वडा एमालेले जितेको छ । रघुगंगा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र ११ वडामा नेपाली कांग्रेसले जितेको छ । माओवादीले बेनी नगरपालिकाको उपप्रमुख र दुई वटा वडा जितेको छ ।

स्थानीय तह चुनावमा एमालेले यो क्षेत्रका दुई वटा स्थानीय तह जितेको, सांगठनिक आधार बलियो भएको, सैद्धान्तिक मत बढी भएको, लामो समयदेखि राजनीतिमा सक्रिय रहेको र आफूले जिल्ला समन्वय समितिको संयोजकको रुपमा खेलेको भूमिका जितको आधार भएको कटुवाल बताउँछन् ।

भण्डारीले गठबन्धनका कारण कार्यकर्ता तहसम्म छाएको उत्साह, आफू ‘अनटेष्ट’ युवा भएको, कांग्रेस र एमालेको तीब्र प्रतिस्पर्धामा निर्णायक मत भएको एमालेबाटे जितेर गएका प्रतिनिधिले जनअपेक्षा अनुसार काम गर्न नसकेका कारण गठबन्धनले जित्ने दावी गर्छन् ।

यस क्षेत्रका उम्मेदवारले निर्माणाधीन बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डको सडक कालोपत्रलाई पूर्णता दिने, वडा र पालिका केन्द्र जोड्ने सडक स्तरोन्नति, सडक पुल निर्माण, निर्माणाधीन जलविद्युत आयोजनालाई पूर्णता दिने प्रतिवद्धता जनाएका छन् ।

त्यस्तै पर्यटन पूर्वाधार विकास, गुठी जग्गाको समस्या समाधान, रोजगारी सिर्जना, कृषि र पशुपालनको व्यवसायीकरण, शिक्षा र स्वास्थ्यको गुणस्तर सुधारमा जोड दिने मुद्दालाई अघि सारेर चुनाव प्रचारलाई तिब्रता दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?