+
+
उम्मेदवार प्रोफाइल :

डा. विश्व पौडेल : कम्युनिस्टकै बलमा कम्युनिस्ट गढ भत्काउने प्रयास

उनले पहिलो कदमलाई नै फड्को बनाउन चितवन–१ बाट ‘ह्याट्रिक’ गर्ने सुरमा रहेका एमालेका उनै सुरेन्द्र पाण्डेलाई रोक्न सक्नुपर्नेछ ।

सुवास पण्डित सुवास पण्डित
२०७९ कात्तिक २८ गते १४:२५

पूर्वी चितवनलाई कम्युनिस्ट गढ मानिन्छ । स्वर्गीय जागृतप्रसाद भेटवालले संगठित राजनीति गरेको यो चितवन क्षेत्र नं. १ मा नेपाली कांग्रेसले २०५६ सालमा एकपटक मात्र चुनाव जितेको छ ।

वामपन्थीहरूका लागि यो कति गुनिलो क्षेत्र छ भने २०७४ को आम निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार बनेका एमाले नेता सुरेन्द्र पाण्डेले ५१ हजार ८० मत ल्याएर निर्वाचित हुँदा नेपाली कांग्रेसका राजेन्द्र बुर्लाकोटीले ३५ हजार ६३० मत पाएका थिए ।

त्यसअघि २०७० को दोस्रो संविधानसभा निर्वाचनमा पनि पाण्डेले १८ हजार ७६० मत र बुर्लाकोटीले १३ हजार ७४५ मत पाएका थिए । यसपटक भने यो ‘वाम किल्ला’ भत्काउन अर्थशास्त्री विश्व पौडेल अग्रसर भएका छन् । र, यसका लागि उनका परम सहयोगी छन्– नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ।

चितवनकै बेल्सीमा जन्मिएका डा. पौडेल डेढ दशकअघि पार्टीको क्रियाशील सदस्यता लिएका कांग्रेस हुन् । यसपटक उनले राजनीतिक हिसाबले निकै लामो योगदान भएका नेताहरूलाई पछि पार्दै चितवन–१ को टिकट हात पारे ।

यो क्षेत्रबाट उठ्ने चाहना राखेका राजेन्द्र बुर्लाकोटीसहितका कम्तीमा पाँच नेता भए पनि बालुवाटारसँगको विशेष सम्बन्धबाट पौडेलले टिकट पाए । राष्ट्रिय योजना आयोगको उपाध्यक्षको पद छाडेर ‘बाँचे हस्तिनापुरको रजाइँ, मरे चपरी मुनिको बास’को बाटो लागेका ४८ वर्षीय डा. पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को आर्थिक सल्लाहकार र काठमाडौं विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टमा ‘एसोसिएट प्रोफेसर’ रहेको अनुभव पनि छ ।

उनले पहिलो कदमलाई नै फड्को बनाउन चितवन–१ बाट ‘ह्याट्रिक’ गर्ने सुरमा रहेका एमालेका उनै सुरेन्द्र पाण्डेलाई रोक्न सक्नुपर्नेछ ।

चुनावी अंकगणित

गत ३० वैशाखको स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतमा एमाले अगाडि छ । एमालेले ३९ हजार ६०६, कांग्रेसले ३६ हजार ७८३, माओवादी केन्द्रले ५ हजार २५२ र एकीकृत समाजवादीले ४ हजार ५ मत पाएको छ ।

गठबन्धनका सबै दलको यस्तो मत जोड्दा ४६ हजार ४० पुग्छ, जुन एमालेको भन्दा ६ हजार ३३४ बढी हो । गठबन्धनको हिसाबले डा. पौडेल केही सहजतामा रहेको यसले देखाउँछ । आन्तरिक विमतिहरू सल्टाउँदै गठबन्धनको मत सुरक्षित गर्न सक्दा कम्युनिस्टहरूकै सहयोगमा चितवन–१ कांग्रेसको पोल्टोमा पार्न उनी सफल हुने सम्भावना देखिन्छ ।

चुनौती पनि उत्तिकै छ । पार्टीभित्रकै एउटा पक्षले असहयोग गर्ने सम्भावना छ । संघ र प्रदेश दुवैमा पार्टी सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार उठाएको भनेर शशांक कोइराला खेमा असन्तुष्ट छ ।

प्रदेशतर्फ कांग्रेसको भागमा परेको चितवन-१ (क) मा देउवा पक्षका क्षेत्रीय सभापति किरण भूषण ओली र (ख) मा एकीकृत समाजवादीका कृष्ण खनाल उम्मेदवार छन् । प्रदेशको दुवै सिटमा कांग्रेसका बागी उठेर विद्रोहको संकेत गरेका छन् ।

बुर्लाकोटीले आफूविरुद्ध दिएको उम्मेदवारी भने पछि राष्ट्रिय सभामा लैजाने सहमतिमा फिर्ता गराउन सफल भएका छन्, डा. पौडेल । आन्तरिक असन्तुष्टिहरूको व्यवस्थापन गर्नुपर्ने चुनौती अद्यापि छँदैछ ।

अर्कोतिर, संघ र प्रदेश दुवैमा भाग नपाएको माओवादी केन्द्र चितवन–१ मा गठबन्धनप्रति कति इमानदार रहला भन्ने प्रश्न पनि छ । त्यसमाथि स्वतन्त्र उम्मेदवारहरूले मतमा धेरथोर प्रभाव पार्ने देखिएको छ ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?