+
+

लेगस्पिनमा उदीयमान माैसम

‘राष्ट्रिय टिममा पुग्न हतार छैन, चम्किएर हराउन नपरोस्’

अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको मुख्य हतियार स्पिन बलिङ हो, पछिल्लो पाँच वर्षदेखि त्यसको नेतृत्व सन्दीप लामिछानेले गर्दै आएका थिए । सन्दीपको अनुपस्थितिमा नेपालले लेगस्पिन हतियारका रूपमा मौसमलाई प्रयोग गर्न सक्छ ।

नमिता दाहाल नमिता दाहाल
२०७९ कात्तिक २८ गते २१:०६

२८ कात्तिक, काठमाडौं । हालै सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेटअघि मौसम ढकाल सुनिएको नाम होइन । विभागीय टोली एपीएफका लागि करार सम्झौतामा रहेका २१ वर्षे लेग स्पिनर मौसम प्रतियोगिताको उदीयमान खेलाडी बनेपछि धेरैको आकर्षण खिच्न सफल छन् ।

प्रधानमन्त्री कपमा रुपन्देही, भलबारीका यी युवा खेलाडीले च्याम्पियन टिम एपीएफले खेलेका ६ मध्ये ५ खेलमा विकेट लिए । जसमा फाइनलमा त्रिभुवन आर्मीविरुद्धको महत्वपूर्ण ३ विकेट पनि समावेश छ । मौसमले सुदूरपश्चिमविरुद्ध २, गण्डकी र कर्णालीविरुद्ध ४–४ तथा सेमिफाइनलमा मधेश प्रदेशविरुद्ध २ विकेट लिएका थिए । ६ इनिङ्समा ३८ ओभर बलिङ गरेका मौसमले २ मेडन राख्दै १८५ रन खर्चेर प्रतियोगिताकै सर्बाधिक १५ विकेट लिए ।

मौसमको उदय यस्तो समयमा भएको छ जहाँ नेपाल टिमले एकजना भरपर्दो लेगस्पिनर खोजी गरिरहेको छ । पहिलो राष्ट्रिय प्रतियोगितामा सर्बाधिक विकेट लिएका मौसमलाई राष्ट्रिय टिमको दावेदार मान्न थालिएको छ ।

स्ट्राइक (प्रमुख) बलर सन्दीप लामिछाने फौजदारी अभियोग खेप्दै जेल चलान भएपछि राष्ट्रिय क्रिकेट टिमको बलिङ प्रदर्शन खलबलिएको छ । अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको मुख्य हतियार स्पिन बलिङ हो, पछिल्लो पाँच वर्षदेखि त्यसको नेतृत्व सन्दीपले गर्दै आएका थिए । सन्दीपकाे अनुपस्थितिमा नेपालले लेगस्पिन हतियारका रूपमा माैसमलाई प्रयाेग गर्न सक्छ ।

मौसमले क्रिकेटमा भविष्य खोज्न थालेको सात वर्ष भयो । १४ वर्षको उमेरमा रुपन्देहीस्थित स्टार क्रिकेट एकेडेमीबाट सुरु भएको उनको क्रिकेट करिअर दिल्लीस्थित प्रदीप साहू क्रिकेट एकेडेमी हुँदै खारिएको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व स्टार स्पिनर शक्ति गौचनले उनलाई ब्याट र बल समाउन सिकाएका हुन् । नेपालमा आएर फ्रेन्चाइज क्रिकेट खेलिसकेका भारतीय क्रिकेटर प्रदीप साहुले उनको क्षमतामा निखार ल्याइदिए ।

घरेलु क्रिकेटको पहिलो प्रयासमै नसोचेको सफलता पाए पनि मौसमलाई करिअरमा फड्को मार्न हतार छैन । उदीयमान खेलाडी बनेपछिको खुसी र दवाव उत्तिकै छ । समय आएपछि सबै सफलताको अनुभव गर्न पाइन्छ भन्ने बुझेका छन् ।

‘हतार गरेर सबै अहिले नै गर्छु भन्ने छैन । प्रक्रिया मिल्दै गयो भने र आफूलाई प्रमाणित गर्दै जान सकें भने नै माथि पुग्ने हो,’ परिपक्व सुनिएका मौसम भन्छन्, ‘म आफ्नो मिहिनेत गर्दै जान्छु, राम्रो गर्दै गएँ भने सफलता पाउनेछु । अहिले नै यहाँ पुग्छु भन्ने सोचेको छैन ।’ जे होस् उनले क्रिकेटबाहेक अरु सोचेका छैनन् ।
नेपालको घरेलु तथा फ्रेन्चाइज क्रिकेटमा शरद भेषावकर युवा खेलाडीलाई विश्वास गर्ने कप्तानका रुपमा परिचित छन् । आसिफ शेख, रोहित पौडेल, कुशल मल्लजस्ता स्थापित खेलाडीहरुको पहिचानको श्रेय शरदलाई जान्छ । मौसमलाई गत वर्षको एभरेष्ट प्रिमियर लिगमा शरदले आफ्नो टिम भैरहवा ग्लाडिएटर्समा राखेका थिए । भलै उनले खेल्ने अवसर पाएनन् ।

गएको भदौमा भएको नवौं राष्ट्रिय खेलकुद, पुरुष क्रिकेटमा मौेसम एपीएफमा अनुबन्ध भइसकेका थिए । तर, राष्ट्रिय प्रतियोगितामा डेब्यूको अवसर पाएनन् । एपीएफ टिमका अभिनाश बोहोरा अस्ट्रेलिया गएपछि खाली स्थानमा मौसमलाई अवसर दिने टिमको निर्णय सही सावित भयो । ‘मौसम एउटा राम्रो खेलाडी हो । क्षमता भएको खेलाडी हो । उसले भविष्यमा अझै राम्रो गर्न सक्ने क्षमता राख्दछ,’ मौसमका बारेमा शरद भन्छन् ।

घरेलु क्रिकेटमा एकदिवशीयबाट डेब्यू गरेका मौसमले टी–२० फम्र्याटमा अफूले अझै रामो प्रदर्शन गर्न सक्ने आत्मविश्वास छ । भारतमा प्रशिक्षणरत रहँदा एकदिवशीयको तुलनामा टी–२० धेरै खेल्नुको नतिजा हो, यो । ‘भारतमा मैले टी–२० र्फम्याटमा धेरै खेल्छु । एकदिवसीयमा भन्दा टी–२० खेल्न सहज लाग्छ । मेरो प्रशिक्षकले पनि मलाई त्यही भन्नुहुन्छ ।’

नेपालको राष्ट्रिय टिममा बलिङ पोजिसनबाट खेल्ने खेलाडीहरुमा धेरै प्रतिस्पर्धा छ । आफ्नो स्थान र लयलाई कायम राख्ने चुनौति बुझेरै उनले राष्ट्रिय टिममा जान हतार नगरेको हुन सक्छन् ।

‘प्रदर्शन नभइ कुनै पनि टिममा पर्छु भनेर सोच्नु गलत हो । मेहनत छ टिममा परिन्छ नत्र आफूभन्दा लायकको मान्छे आउँछ,’ मौसम भन्छन्, ‘कुनै पनि टिममा आफूले मौका पाउनु सानो उपलब्धी होइन । राष्ट्रिय टिम भनेको त झन देशलाई चिनाउने ठाउँ हो । त्यहाँसम्म पुगन अझै मिहिनेत चाहिन्छ । कसैले पनि सजिलै त्यहाँ पुग्न सक्दैन ।’

खेलाडीको करिअर सधैं एकनासको हुँदैन । नेपालको उमेर समूहमा प्रतिनिधित्व नगरेका मौसमको करिअर बल्ल सुरु भएको छ । करिअरको उतारचडावबाट विचलित नहुन उनका आदर्श खेलाडी शरदले सम्झाएका छन् । शरदकै सुझाअनुसार कठिन र अस्थिर समयमा ध्यान र योग गर्न थालेको मौसमले सुनाए ।

शक्तिले सिकाए, प्रदीपबाट खारिए

मौसमको दिमागमा क्रिकेटको मोह भर्ने व्यक्ति उनकै बुबा घनश्याम हुन् । घनश्याम आफैं पनि क्रिकेटका सौखिन हुन् । बुबाले नै शक्ति गौचनको स्टार क्रिकेट एकेडेमीमा पु¥याएपछि १४ वर्षको उमेरमा मौसमको व्यवसायिक क्रिकेट करिअर सुरुवात भयो ।

नेपाली बलिङ ब्रान्ड अर्थोडक्स स्पिनर शक्ति गौचनले बनाएका अर्का स्पिनर हुन् मौसम । उनले स्टार एकेडेमी गएर क्रिकेट सिक्न थालेको ५ वर्ष भयो ।

माध्यमिक पढाइ सकिएपछि क्रिकेट सिक्न भारतको नयाँ दिल्ली पुगेका उनी त्यहीँ खारिएका हुन् । मौसमले भारतका लेगस्पिनर प्रदीप साहुको एकेडेमीमा प्रशिक्षण लिन थालेको तीन वर्ष भयो ।

प्रदीप साहु २०१८ को ईपीएलमा काठमाडौं किङ्स-११ बाट खेलेका खेलाडी हुन् । त्यतिबेला उनले ६ खेलमा १० विकेट लिएका थिए । ‘अहिले त धेरै भारतमै बस्छु, परीक्षा दिनमात्र आउँछु । प्रदीप सरसँगै प्रशिक्षण लिइरहेको छु,’ मौसमले भने

उनलाई प्रदीपको प्रशिक्षण र भारतमा हुने क्रिकेटको स्तरले ठूलो प्रभाव पारेको छ । ‘भारतमा क्रिकेट सिक्दा हामीले धेरै खेल खेल्न पाउँछौं । खेलाडीलाई चाहिने भनेकै खेल अनुभव हो,’ आफ्ना प्रशिक्षकबारे मौसमले थपे, ‘गुरुले पनि मलाई धेरै राम्रो गर्न सक्छौ भन्नुहुन्छ । शक्ति दाई, वसन्त रेग्मी दाईले पनि मलाई धेरै हौसला दिनुहुन्छ ।’

२०७७ सालमा लकडाउनका बेला रुपन्देहीको तिरुपती क्रिकेट एकेडेमीमा बलिङ गर्दैगर्दा वसन्त रेग्मीको नजरमा परेपछि मौसमलाई घरेलु क्रिकेटको संरचनाभित्र आउन सजिलो भयो । राष्ट्रिय टिमका भेट्रान अफस्पिनर वसन्तले नै मौसमलाई एपीएफसँग सम्पर्क गराइदिएका हुन् । उनले आफ्ना आदर्श खेलाडी शरदलाई भेटेको एपीएफकै एकेडेमीमा हो ।

पहिलोपल्ट कुरा हुँदा शरदले खेलेको भिडियो पठाउन भनेका थिए । एपीएफले उनलाई करारमा अनुबन्ध गरेको चाहिँ नवौं राष्ट्रिय खेलदेखि हो । ‘शरद दाइको कप्तानीमा कहिल्यै प्रेसर अनुभव गरिनँ । विश्वास गर्नुहुन्छ, हौसला दिनुहुन्छ । उहाँकै विश्वासमा मैले टिममा अवसर पाएको हो,’ मौसमले अवसरका लागि शरद र एपीएफप्रति कृतज्ञता व्यक्त गरे ।

तस्वीरः चन्द्र आले/अनलाइनखबर

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?