News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रिमियर लिग क्रिकेटमा गत विजेता जनकपुर बोल्ट्सले दोस्रो सिजनमा ७ खेलमा १ जित मात्र निकाल्दै पुछारमा रह्यो।
- जनकपुरले कप्तान अनिल साहलाई हटाएर वायन पार्नेल र निकोल लफ्टी इटनलाई कप्तान बनायो तर नतिजा सुधार भएन।
- जनकपुरको ब्याटिङ कमजोर रहँदा १४५ रनभन्दा बढी स्कोर बनाउन सकेन र बलिङ तथा फिल्डिङमा पनि कमजोरी देखियो।
२१ मंसिर, काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा उपाधि जितेको जनकपुर बोल्ट्सले दोस्रो सिजनका लागि कोर टिमसहित महत्वपूर्ण खेलाडीलाई दोस्रो संस्करण पनि निरन्तरता दिएको थियो ।
गत संस्करण उपाधि जित्न महत्वपूर्ण भूमिका निभाएका अमेरिकन विकेटकपर ब्याटर लाहिरु मिलान्थाबाहेक अन्य सबै विदेशी खेलाडीहरू नयाँ ल्याएको जनकपुरले दोस्रो संस्करण पनि राम्रो प्रदर्शन गर्ने धेरैको अनुमान थियो ।
विशेषगरी दक्षिण अफ्रिकाका दुई स्टार खेलाडीहरू वायन पार्नेल र इमरान ताहिरलाई पनि अनुबन्ध गरेको जनकपुरले ब्याटिङ मात्र नभएर बलिङ पनि अझ बलियो बनाएको आभाष दिलाएको थियो ।
तर मैदानमा भने बिल्कुल फरक नतिजा देखियो । कागजमा बलियो देखिएपनि मैदानको प्रदर्शन भने जनकपुरको फितलो रह्यो । यस संस्करणमा ७ मध्ये १ खेल मात्र जितेर प्लेअफको यात्रा तय गर्न सकेन । गत संस्करण उपाधि जितेको जनकपुर एकैपटक माथिबाट तल पुग्यो, पुछारमा ।
जनकपुरले टिम कम्बिनेसनदेखि कप्तानसम्म परिवर्तन गरेपनि नतिजा भने शून्यप्राय नै रह्यो । अन्तत: लिग चरणमा सबैभन्दा पुछारमा रहेर प्रतियोगिता सकायो ।
जनकपुरले सुरुवाती ४ खेलमा हार बेहोरेपछि पाँचौं खेलमा आएर चितवन राइनोजमाथि जित निकाल्दै एउटा ‘स्टेटमेन्ट’ दिएको थियो । तर त्यो स्टेटमेन्ट त्यतिमै सीमित भयो, टिमलाई अगाडि पुर्याउन पर्याप्त भएन ।
आइतबार भएको कर्णाली याक्ससँगको अन्तिम खेलमा जितनजिक पुगेर पराजित भएसँगै जनकपुर ७ खेलमा २ अंक मात्र जोडेर आठौं स्थानमा फिनिस गर्ने अवस्था बनेको हो ।

टस जितेर पहिले कर्णालीलाई पहिले ब्याटिङको निम्तो दिएको जनकपुरले कसिलो बलिङ गर्दै कर्णालीलाई ठूलो योगफल भने बनाउन दिएन । पिच पनि स्पीन बलरलाई बढी नै सहयोगी हुने देखिँदा जनकपुरले पूरै २० ओभर स्पीनरलाई बलिङ गराएको थियो । अझ भनौं जनकपुरले आजको खेलमा पेस बलर नै खेलाएको थिएन । कर्णालीले २० ओभरमा ९ विकेट गुमाएर १२९ रन बनायो ।
जवाफमा कर्णालीले पनि १५ ओभरसम्म स्पीन बलरलाई नै बलिङ गराएको थियो । एक समय कर्णालीले जनकपुरको टप अर्डर ध्वस्त पार्दै ७ ओभरभित्रै ४ विकेट लिएको थियो ।
१० ओभरमा ४२-४ को अवस्थामा रहेको जनकपुरका लागि संगीथ कुरे र सन्जय कृष्णमुर्तीले ७५ रनको साझेदारी बनाउँदै कमब्याक गराएका थिए । १०४ रन हुँदा संगीथ कूरे आउट भए भने सन्जयले अर्धशतक बनाएर खेललाई अन्तिमसम्मै पुर्याए ।
टिमलाई अन्तिम ओभरमा १४ रन आवश्यक हुँदा उनी अन्तिम ओभरको पहिलो बलमा आउट भए । अन्त्यमा जनकपुर ३ रनले पराजित भयो । यसरी जनकपुरको अन्त्य पनि सुखद् हुन सकेन ।
जनकपुरका अफिसियलदेखि प्रशिक्षक अनि कप्तानदेखि खेलाडीसम्मका लागि यो संस्करण बिर्सनलायक भयो । साविक विजेता भएकाले बिर्सन त्यति सजिलो भने हुने छैन ।
धेरै परिवर्तन, थोरै प्रभाव
जनकपुरले गत संस्करणकै कप्तान अनिल साहलाई कप्तानीमा निरन्तरता दिएको थियो । तर सुरुवाती ३ खेलमा लगातार पराजित भएपछि जनकपुरले कप्तान परिवर्तन गरेको थियो । त्यसमाथि अनिल त प्लेइङ ११ बाटै बाहिर राखिए ।
अनिलको स्थानमा वायन पार्नेललाई कप्तानको जिम्मेवारी दिइएको थियो, जो प्रतियोगितामा जनकपुरको तेस्रो खेलबाट मात्र उपलब्ध थिए । पार्नेलले कप्तानी गरेको खेलमा पनि जनकपुर पराजित भयो ।
जनकपुरले एनपीएलमै पहिलोपटक विदेशी कप्तान नियुक्त गरेको थियो । पार्नेलको अनुभवका कारण उनलाई कप्तानी दिएको टिमले नै बताएको थियो ।
पाँचौं खेलमा अनिल टोलीमा फर्किए तर ब्याटरका रूपमा मात्र । उक्त खेलमा अनिलले अर्धशतक नै बनाए, जकपुरले खेल पनि जित्यो । खेलपछि उनले कप्तानी दबाब नहुँदा ब्याटिङ राम्रो भएको प्रतिक्रिया दिएका थिए ।
‘म ब्याटिङ गर्दा ब्याटरकै रूपमा खेल्न खोज्छु । कप्तान हुनुभन्दा अगाडि ब्याटर हूँ भनेर सोच्छु । रन बनिरहेको थिएन प्रेसर थियो पनि, ब्याटर खेल्न खोज्दा पनि हारको कुराहरू आउने रैछ दिमागमा’ अनिलले पाँचौं खेल जितेपछि भनेका थिए, ‘अहिले लागिरहेको छ, ब्रेकपछि प्रदर्शन भइरहेको जस्तो देखिएको छ । आजभन्दा सिरियस अरु खेलमा थिएँ, ब्रेकपछि त्यो चेन्ज भएजस्तो देखिन्छ।’

त्यसपछिका दुई खेलमा फेरि उनको ब्याट चलेन । कप्तान पनि फेरि परिवर्तन गरियो । वायन पार्नेल टोलीबाटै बाहिर हुँदा निकोल लफ्टी इटन कप्तान बने । नतिजा भने उही रह्यो, जनकपुरले खेल जित्न सकेन ।
सहायक प्रशिक्षक मनोज कटुवालले पनि अनिल कप्तानी दबाबमा रहेको बताएकाले कप्तान परिवर्तन गरेको बताए । ‘अनिलले कप्तानी दबाब लिइरहेको थियो, ऊ आफैंले प्रेसर महसुस गरेर हामीलाई भन्यो अनि हामीले अनुभवका आधारमा पार्नेललाई कप्तानी दिएका थियौं’ कटुवालले भने, ‘कप्तानी उनलाई दिएको भएपनि बाहिरबाट सल्लाह दिने काम भने आसिफ, लफ्टी इटनहरूबाट पनि भएको थियो।’
कप्तान मात्र नभएर जनकपुरले विभिन्न खेलमा फरक फरक कम्बिनेशन प्रयोग गरिरहेको थियो, जसले नतिजा भने दिन सकेको थिएन । सबैभन्दा धेरै ८ जना विदेशी खेलाडी घोषणा गरेको जनकपुरले इमरान ताहिरबाहेक नेपाल आएका ७ जना खेलाडीलाई नै मौका दियो ।
जनकपुरले गत संस्करणका उच्च रनकर्ता लाहिरु मिलान्थालाई तेस्रो खेलबाट बेन्चमा राखेपछि कुनै खेल पनि खेलाएन । प्रतियोगिताको सुरुवाती खेल खेलेका लाहिरु समारकून पनि त्यसपछि गुमनाम भए । प्रतियोगिताको बीचमा आएका संगीथ कूरे पनि टिममा आउने-जाने भइरहे । माज सदाकतले तेस्रो खेलदेखि अन्तिमसम्मै खेले । वायन पार्नेलले ३ खेल मात्र खेले । अमेरिकी सन्जय कृष्णमुर्ती र निकोल लफ्टी इटनले मात्र सबै खेल खेले ।
यस्तै राष्ट्रिय टोलीका मुख्य स्पीन बलर ललित राजवंशीलाई पनि चौथो, पाँचौं र छैटौं खेलमा बेन्चमा राखेको थियो । यसबाहेक रुपेश सिंह र किशोर महतो अनि घरेलु खेलाडीहरू विकाश आग्री, मयन यादव, सचिन भट्ट, आदित्य महतालाई पनि रोटेट गराइरहेको थियो ।
कागजमा बलियो, मैदानमा फितलो
जनकपुर बोल्ट्सको मुख्य समस्या यसपटक ब्याटिङमा देखिन्थ्यो । कागजमा हेर्दा बलियो देखिएपनि मैदानमा भने त्यसअनुरुपको प्रदर्शन हुनै सकेन । ब्याटिङमा पनि विशेषगरी टप अर्डर ब्याटिङ यो संस्करणमा चल्नै सकेन ।
पहिलो खेलमा आसिफ शेखले अर्धशतक बनाएका थिए । त्यसबाहेक उनका लागि पनि सिजन बिर्सनलायक रह्यो । उनले ७ खेलमा १०५ रन बनाए । ३ खेलमा उनी डकआउट नै भए ।
यस्तै अनिल साहले ७ खेलमा एक अर्धशतकसहित ७३ रन बनाए । एकै खेलमा ६१ रन बनाएका उनले अन्य ५ खेलमा १२ रन मात्र बनाए । २ खेलमा डकआउट नै भए ।
जनकपुरको ब्याटिङ विशेषत: तीन विदेशी खेलाडीले धाने । मिडल अर्डरमा खेल्ने सन्जय कृष्णमुर्तीले ७ खेलमा २ अर्धशतकसहित सबैभन्दा धेरै १६७ रन बनाए । यस्तै प्रतियोगिताको बीचमा आएका पाकिस्तानी खेलाडी माज सदाकतले ५ खेलमा १ अर्धशतकसहित ११३ रन बनाए । उनले टप अर्डरमा राम्रो सुरुवात दिलाउन खोजेपनि अन्यबाट सहयोग हुन सकेन ।
निकोल लफ्टी इटनले ७ खेलमा १०८ रन बनाउँदै सर्वाधिक रनकर्ताको तेस्रो स्थानमा रहे ।

जनकपुर विजयी भएको खेलमा बाहेक कुनैपनि खेलमा १४५ रनभन्दा बढी योगफल बनाउन सकेन । २ खेलमा १३० भन्दा कम योगफल अनि २ खेलमा १३० रन बनाउँदा एक खेलमा १३२ रन र एक खेलमा १४५ रन बनायो ।
प्रशिक्षक कटुवालले पनि अपेक्षा अनुसार खेलाडीबाट प्रदर्शन हुन नसकेको बताए । ‘हामीलाई पहिलो सिजन जिताएका खेलाडीहरू चल्न सकेनन्, त्यही कारणले हाम्रो यो संस्करण राम्रो हुन सकेन’ उनले भने ।
‘हामी कागजमा हेर्दा बलियो नै थियौं, लोकल खेलाडीहरू चल्न सकेनन् । आसिफ र अनिलबाट पनि प्रदर्शन राम्रो हुन सकेन’ उनले थपे, ‘विदेशी खेलाडीबाट पनि जुन् आशा थियो त्यो हुन सकेन।’
जनकपुरको बलिङ औसत नै देखिँदा फिल्डिङमा पनि केही खेलहरूमा कमजोर देखिएको थियो । महत्वपूर्ण क्याचहरूदेखि मिसफिल्ड धेरै हुँदा मोमेन्टम प्राप्त गर्ने अवस्था पनि बनेन ।
प्रतिक्रिया 4