+
+

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न रणनीतिक कार्ययोजना बन्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २८ गते १८:२४

२८ कात्तिक, काठमाडौं । नेपाल पर्यटन बोर्ड, जीविकोपार्जन पुनरुत्थानका लागि दीगो पर्यटन परियोजना (एसटीएलआरपी) ले नेपालको आन्तरिक पर्यटन प्रवर्द्धन गर्न रणनीतिक कार्ययोजना बनाउने भएको छ ।

कार्ययोजना निर्माणका लागि (एसटीएलआरपी) ले विज्ञहरुको सहभागितामा विभिन्न प्रादेशिक मन्त्रालय, नगरपालिका तथा पर्यटनसँग सम्बन्धित निकायबीच कार्यशालासमेत आयोजना गरेको बताएको छ ।

कार्यक्रममार्फत आन्तरिक पर्यटनको वर्तमान स्थिति, आन्तरिक पर्यटनको प्रवर्द्धनमा बाधा पुर्‍याउने विद्यमान नीति भित्रका अन्तरहरूको अन्वेषण र विश्लेषण, नीतिगत वर्तमान आवश्यकता, आन्तरिक पर्यटन प्रवर्द्धनका लागि तीन तहका सरकारको भूमिका र दायित्व लगायतका बिषयवस्तुमा गहन छलफल गरी आन्तरिक पर्यटन रणनीतिक कार्य योजना निर्माण गरिने परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले जानकारी दिए ।

जस अनुसार बोर्डले पहिलो चरणमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको प्रदेश पर्यटन मन्त्रालय, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्टस (नाटा) होटल एसोसिएसन नेपाल (हान), तथा विभिन्न नगरपालिका र पर्यटनसँग सम्बन्धित अन्य विभिन्न सरोकारवाला सस्थाहरुसँग मिलेर कार्ययोजना तयार गर्न लागेको हो ।

प्रदेशमा आयोजना गरिएको कार्यशालामा विज्ञ तथा सरोकारवालाहरुले स्पष्ट पर्यटनमैत्री नीति, पर्यटनमा एकद्वार प्रणाली, पर्यटन व्यवसायलाई २४सै घण्टा सञ्चालनको व्यवस्था र जनशक्ति क्षमता अभिवृद्धिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको उनले बताए । यस्तै कार्यशालाको अवसरमा व्यवसायीहरुले स्थानीय खाद्यान तथा घरवास कार्यक्रमलाई प्रोत्साहन गर्नु पर्ने उनले बताए ।

लुम्बिनीमा आयोजित कार्यशालामा सरोकारवालाहरुले आन्तरिक पर्यटन प्रवर्द्धनको रणनीति आवश्यक रहेको बताउँदै आन्तरिक पर्यटन प्रवर्द्धनका लागि अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन योजना तर्जुमा गर्नु पर्ने कुरामा जोड दिएको लामिछानेको भनाइ छ ।

यस्तै सुदूरपश्चिमको धनगढीमा आयोजित कार्यशालामा नेपालमा आन्तरिक पर्यटनको प्रचुर सम्भावना रहेकोले यसको प्रवर्द्धनका लागि छुट्टै रणनीति एवं ठोस योजना बनाउनु पर्नेमा जोड दिएको उनले बताए ।

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्य तथा सहलगानीमा कोभिड–१९ को संकटको कारणले रोजगार र आय आर्जनका अवसरहरु गुमाएका पर्यटन क्षेत्रका श्रमिक वा मजदुरहरुले अल्पकालीन रोजगारका अवसरहरु प्राप्त गर्ने र प्रमुख पर्यटकीय गन्तब्यस्थलहरुका पर्यटकीय सम्पदाहरुको सम्बर्द्धन र विकासका कार्यक्रम मार्फत पर्यटन उद्यमी र श्रमिकहरुका लागि रोजगार र आयआर्जनका अवसरहरुमा वृद्धि गर्ने उद्देश्यले जीविकोपार्जन पुनरुत्थानका लागि दीगो पर्यटन परियोजना सञ्चालनमा ल्याइएको लामिछानेको भनाइ छ ।

यसै सन्दर्भमा परियोजनाले कोभिड–१९ का कारणबाट पर्यटन व्यवसायीहरु तथा जनशक्तिहरुमा परेको प्रभावलाई मूल्यांकन गरी आगामी दिनहरुमा विपत्ति तथा चुनौतीहरुसँग सामना गर्न सक्नेगरी आन्तरिक पर्यटन रणनीतिक कार्ययोजना निर्माण गर्न लागेको परियोजनाका जीविकोपार्जनविज्ञ धर्म दवाडीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?