+
+

बाइडेन र सीबीचको शिखर वार्तामा द्वन्द्व टार्ने प्रतिबद्धता

रासस रासस
२०७९ कात्तिक २८ गते २०:०८

२८ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच इन्डोनेसियाको बालीमा भएको शिखर वार्तामा दुवै पक्षले द्वन्द्व टार्ने प्रतिवद्धता जनाएका छन् ।

ताइवान र अन्य विषयमा महिनौंदेखि जारी तनावपछि जी–ट्वन्टी शिखर सम्मेलनका लागि इण्डोनिसायामा पुगेका दुई नेताबीच भेट भएको हो ।

लामो समयदेखि प्रतिक्षा गरिएको दुई नेताको बैठक सुरु गर्नुअघि रिसोर्ट टापुमा सी र बाइडेनले अमेरिका र चिनियाँ झण्डामुनि उभिएर हात मिलाएका थिए ।

बेइजिङ र वासिङ्टनले विश्वलाई ‘हाम्रा मतभेदलाई व्यवस्थापन गर्न, प्रतिस्पर्धालाई द्वन्द्वमा परिणत हुनबाट रोक्न सक्छन्’ भनेर देखाउन ‘जिम्मेवारी साझा’ गरेको बाइडेनले बताए ।

पछिल्ला केही दशकमा चीनका सबैभन्दा शक्तिशाली नेताका रूपमा स्थापित चिनियाँ राष्ट्रपति सीले तेस्रो कार्यकालका लागि निर्बाचित भएपछि पहिलो प्रत्यक्ष भेटमा बाइडेनलाई विश्व ‘दोबाटोमा आइपुगेको’ बताए ।

‘चीन र संयुक्त राज्य अमेरिकाले सम्बन्धलाई राम्रोसँग सम्हाल्नेछन् भन्ने विश्वले अपेक्षा गरेको छ,’ चिनियाँ राष्ट्रपति सीले बताए ।

अमेरिकी अधिकारीहरूले बैठकअघि बाइडेनले चीनसँगको सम्बन्धमा ‘गार्डरेल’ स्थापना गर्ने र विश्वका दुई ठूला अर्थतन्त्रलाई द्वन्द्वमा धकेल्न सक्ने ‘रेड लाइन’ बाट कसरी बच्न सकिन्छ भन्नेबारे आकलन गर्ने आशा व्यक्त गरेका थिए ।

चीन र अमेरिकाबीचको सबैभन्दा संवेदनशील विषय ताइवान हो, जुन चीनको तर स्वशासित क्षेत्र हो । संयुक्त राज्य अमेरिकाले ताइवानलाई समर्थन बढाइरहेको छ भने चीनले ताइवानलाई आफ्नो नियन्त्रणमा लिने धम्की दिइरहेको छ ।

गत अगस्टमा अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीले ताइपेइको भ्रमण गरेपछि चीनले अभूतपूर्व सैन्य अभ्यास गरेको थियो ।

सीसँगको वार्ताको पूर्वसन्ध्यामा बाइडेनले कम्बोडियामा दक्षिणपूर्वी एशियाली शिखर सम्मेलनका क्रममा जापानी प्रधानमन्त्री फुमियो किशिदा र दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलसँग भेटवार्ता गरेका थिए ।

प्योङयाङले आफ्नो सातौं आणविक परीक्षण गर्ने डर बढेपछि बाइडेनले चीनलाई सहयोगी उत्तर कोरियामाथि लगाम लगाउन दबाब दिने अपेक्षा गरिएको छ ।

प्रत्यक्ष पहिलो भेटघाट

कोभिड–१९ महामारी सुरु भएयता सीको यो दोस्रो विदेश भ्रमण हो । भ्रमणमा उनले विश्वका केही प्रमुख नेताहरूसँग भेटघाट गर्ने छन् । प्रधानमन्त्री एन्थोनी अल्बानीसले नेता सीसँग पहिलो पटक औपचारिक भेटवार्ता गर्ने घोषणा गरेका थिए ।

यो सन् २०१७ पछि अस्ट्रेलियाका उच्च पदस्थ अधिकारी र चिनियाँ राष्ट्रपतिबीच हुन लागेको पहिलो भेट हो । सीले सन् २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रत्यक्ष भेटवार्ता गरेका थिए ।

त्यतिबेला ट्रम्प र बाइडेन दुबैले चीनलाई एक प्रमुख अन्तर्राष्ट्रिय चासोको रूपमा पहिचान गरेका थिए र विश्व मञ्चमा अमेरिकी प्रभुत्वको लागि एक मात्र सम्भावित चुनौतीको रूपमा चिनाएका थिए ।

राष्ट्रपतिका रूपमा सी र बाइडेनबीच पहिलो पटक भेट भएको भए तापनि यो जोडीको असामान्य रूपमा लामो इतिहास छ ।

बाइडेनको अनुसार उनले उपराष्ट्रपतिका रूपमा सन् २०११ मा चीनको नेतृत्वको पर्खाइमा रहेका नेता सीसँग व्यक्तिगत रूपमा ६७ घण्टा बिताएका थिए ।

जसमा सन् २०१७ मा बाराक ओबामाको प्रशासनको अन्तिम दिनमा भएको बैठकलाई अझ राम्ररी बुझ्ने उद्देश्यले चीन भ्रमण पनि समावेश छ ।

ह्वाइट हाउसमा प्रवेश गरेयता बाइडेनले सीसँग लगभग पाँच पटक कुराकानी गरिसकेका छन् तर सोमबार उनीहरुबीच प्रत्यक्ष भेटवार्ताको साहित जुरेको हो ।

 

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?