+
+

वर्ल्डलिंकको यात्रा : घरको इमेलदेखि ७ लाख घरधुरीसम्म

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३० गते १४:२३

३० कात्तिक, काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनको ग्राहक संख्या ७ लाख नाघेको छ । देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीको रूपमा रहेको वर्ल्डलिंकलेसोमबार राति ९ बजेर १२ मिनेटमा सात लाखको कोशेढुंगा पार गरेको हो ।

स्थापना भएको वर्ल्डलिंकले २७ वर्षमा यो कोशेढुंगा पुरा गरेको हो । पछिल्लो करिब साढे ५ वर्षमा मात्रै वर्ल्डलिंकले ६ लाख ग्राहक थपेको हो ।

विजय जलान, दीलिप अग्रवाल र श्याम अग्रवालको वर्ल्डलिंकका जन्मदाताहरू हुन् । उनीहरुको प्रयासमा जन्मिएको कम्पनीले २७ वर्षमा देशभर १५० भन्दा बढी शाखा कार्यालय स्थापना गरिसकेको छ ।

पाँच हजार भन्दा बढी कर्मचारी कार्यरत रहेको कम्पनीले देशका सातै प्रदेशका दार्चुला, बैतडी, मनाङ र मुस्ताङबाहेकका ७३ जिल्लामा इन्टरनेट सेवा पुर्‍याइसकेको छ ।

कूल इन्टरनेट ट्राफिकमध्ये ४२ प्रतिशत खपत वर्ल्डलिंकका प्रयोगकर्ताले गर्छन् । १४ हजारभन्दा बढी स्थानमा वाईफाई एक्सप्रेसमार्फत फ्रि वाईफाई दिइरहेको कम्पनीले प्रति कनेक्सन औसत ४.३ प्रयोगकर्तालाई आधार मान्दा ३० लाख २४ हजारभन्दा बढी व्यक्तिलाई इन्टरनेट सेवा दिइरहेको छ ।

कम्पनीका कार्यकारी निर्देशक मनोज अग्रवाल ग्राकवर्ग, टिम मेम्बर, सरकार र शुभचिन्तकहरुको साथ, सहयोग र समर्थनमा नै यो महत्वपूर्ण कोशेढुंगा पार भएको बताए ।

‘सबैलाई साधै राम्रो सेवा दिने हाम्रो मुख्य उद्देश्य हो, त्यसअनुसार हामीले लगानीको प्रतिफल नउठ्ने ठाउँमा समेत सेवाको उद्देश्य राखेर लगानी गरिरहेका छौं,’ उनी भन्छन्,’फ्रि वाइफाइ लगायतका सेवा समेत दिएर हामी ग्राहकसँग जोडिरहेका छौं ।’

इमेलबाट सुरु भएको सेवा

तर, यो कम्पनीको स्थापना यति ठूलो लक्ष्य राखेर भएको थिएन । दिलीप अग्रवाल पढाइका लागि अमेरिकामा रहँदा घरमा कुराकानी गर्न जोडिएको लिनेक्स (इमेल अपरेटिङ प्रणाली)ले यो कम्पनीको जग बसाल्न भूमिका खेलेको थियो । उनी यो प्रणालीका लागि सेकेन्ड ह्यान्ड कम्प्युटर -३८६ पीसी) किनेर इमेल गर्न सक्ने सर्भर जोडेर १९९५ मा नेपाल आएका थिए ।

दीलिप नेपाल आएपछि दिनरात विजय र श्याम पनि इमेल सेवा दिन थाल्ने अभियानमा जोडिए । त्यतिबेला नेपालमा फोन लाइन पाउन सहज थिएन । ३० हजार रुपैयाँ तिरेर ‘ओआईटी’ फोन लिन पाइन्थ्यो । त्यो लाइन दुर्लभजस्तै थियो । उनीहरुले दिलीपका बुवाको कार्यालयको फ्याक्स लाइन जोडेर काम चलाए । त्यसरी सन् १९९५ सेप्टेम्बरबाट सुरु भएको थियो-वर्ल्डलिंक ।

त्यबितेला कम्पनीले इमेल सेवा मात्रै दिन्थ्यो । नेपालबाट जाने इमेल दीलिपको दाजुको कम्प्युटरमा रहेको सर्भरमा पुग्थ्यो । त्यो कम्प्युटरले ‘मोडेम’मार्फत नेपालमा रहेको कम्प्युटरमा अन्तर्राष्ट्रिय कल गर्थ्यो । त्यहाँको इमेल यहाँको सर्भरमा लिन्थ्यो र त्यहाँका सर्भरमा आएको इमेल यहाँको सर्भरमा पठाउँथ्यो ।

त्यतिबेला इमेल अहिलेजस्तो ‘रियल टाइम’मा पुग्थेन । अहिलेजस्तो फटाफट च्याट गर्ने सुविधा थिएन । ग्राहकले इमेल एउटा सर्भरमा ड्रप गरेपछि त्यो इमेलले अर्को सर्भरमा पुर्‍याएर पुग्नुपर्ने ग्राहकसम्म पर्याउन केही समय लाग्थ्यो । तर, चिठ्ठीमा निर्भर हुने समयमा त्यो सेवा फोनको तुलनामा निकै सस्तो र प्रभावकारी हुन्थ्यो ।

विजय, दीलिप र श्यामले कम्पनीबाट तलब नलिने गरी पार्टनर बनेर सेयर इक्विटी लिए । सबै प्रवन्ध गरेर दिलीप स्नातक सक्न अमेरिका फर्किएपछि नेपालमा विजय र श्यामको खटाई झन बढ्यो । दिलीपले प्राविधिक समस्याहरु पर्दा उतैबाट सघाउँथे भने यहाँ सेवा दिन विजय र श्याम आफैं-आफैं घरमा पुग्थे ।

त्यतिबेला इमेल प्रयोगबारे बुझाउन सहज थिएन । त्यतिबेला विज्ञापन गर्न न प्रविधि थियो, न पैसा नै । त्यसैले एउटा डिजाइन तयार गरेर गोश्वरा पोस्ट बक्समा उनीहरुले प्रिन्टेड ‘इमेल सेवा सुरु हुँदैछ’ इच्छुकले सम्पर्क राख्नुहोला भनेर फारम राखिदिन्थे । इच्छुकले त्यो फारममा आˆनो विवरण भरेर हुलाक बक्समा खसाल्थे । त्यसमार्फत धेरै ग्राहक वर्ल्डलिंकसँग जोडिन पुगे ।

त्यतिबेला नेपाल बस्ने विदेशी नियोग, ट्राभल एजेन्सी, अन्तर्राष्ट्रिय व्यापार गर्नेहरु, एनजीओ/आईएनजीओहरु प्रमुख ग्राहक थिए । त्यो समयमा मर्कन्टाइलले पनि इमेल सेवा सुरु गरेको थियो ।

दीलिपहरुले त्यतिबेला वर्ल्डलिंक घरमा सानो कोठाबाट सञ्चालन गर्थेे । ग्राहक कार्यालय आउँदा ‘यहाँ त तिमीहरुको खासै केही रहेनछ’ भन्थे । हेर्दा ठीटा, सानो सर्भर, साँघुरो कार्यालय । यो देखेपछि विजय र श्यामहरुलाई सोधिन्थ्यो, ‘मैले तिमीलाई बिजनेस दिएँ भने के ग्यारेन्टी छ कि अर्को महिनामा पनि तिमी यहीँ हुन्छौ ?’ यस्तो अवस्थामा उनीहरुले अनेकन प्रयासबाट बुझाउनुपर्थ्यो ।

त्यतिबेला वर्ल्डलिंकको सेवामा धेरै ग्राहक जोडिनुको मुख्य कारण थियो, उनीहरुको सेवा दिने शैली । प्रतिस्पर्धी कम्पनी मर्कन्टाइलले मर्मत तथा इमेल सेवा जोड्न आफ्नो अफिसमा कम्प्युटर ल्याएर छोड्न र अर्को कुनै दिन आएरै लैजान भन्थ्यो । तर, महत्वपूर्ण र गोप्य डाटा भएका ग्राहक त्यो चाहँदैन थिए ।

त्यसैलाई वर्ल्डलिंकमा सहसंस्थापकहरुले आफ्नो अवसर बनाए । कम्पनीले ग्राहककै कार्यालय र घरमा गएर उसकै अघि बसेर सेवा दिन थाल्यो । जसले गर्दा धेरै विदेशी ग्राहकले यो सेवा रुचाए । सबैको फोन आउनासाथै घर वा कार्यालयमै पुगेर सेवा दिने शैलीले धेरै प्रभावित भए ।

दीलिपका अनुसार वर्ल्डलिंक सुरु गर्दा कम्पनी दर्ता गर्नुपर्छ भन्ने समेत थाहा थिएन । सुरु-सुरुमा उनीहरुले ग्राहकलाई पि्रन्ट गरेर बिल दिन्थे । ग्राहकहरु अफिसियल बिल माग्थे । दीलिप भन्छन्, ‘अनि कम्पनी नै दर्ता गर्नुपर्ने रहेछ भन्ने कुरा थाहा भयो ।’

उद्योगको प्रकृतिमा ‘इन्टरनेट सेवा’ भनेर उल्लेख गर्दा कम्पनी रजिष्ट्रारले ‘के हो इन्टरनेट सेवा भन्या ?’ भन्दै पीसीओ लेखेर दर्ताको तोक लगाइदिएका थिए । त्यतिबेला पीसीओमात्रै दर्ता हुने अवस्था थियो । त्यसरी ‘गर्दै जाऊ, जान्दै जाऊ’ शैलीमा वर्ल्डलिंक अगाडि बढ्यो ।

त्यतिबेला इन्टरनेट सेवामा लाइसेन्स लिनुपर्ने प्रावधान बनिसकेकै थिएन । त्यतिबेला विजयहरु कसैसँग कुनै सल्लाह लिन पनि गएनन्, प्रविधि पनि सस्तो हेर्थे । राम्रो प्रविधिमा जान स्रोत पनि त थिएन !
प्रतिस्पर्धी कम्पनी महँगो प्रविधि प्रयोग गर्थ्यो । दीलिप सम्झन्छन्, ‘लिनेक्स भनेको निःशुल्क पाइने प्रविधि हो, Åयाक हुन्छ भनेर ग्राहक भड्काउने काम पनि नभएको हैन ।’

त्यो जमानामा फ्याक्स आउँथ्यो, त्यो पनि कति कुरा त नबुझिने गरी, धमिलो-धमिलो । तर, इमेल/इन्टरनेट आएपछि मान्छेले तुरुन्तै आˆनो सन्देश पाउने अवस्था बन्यो । त्यो सेवा तत्कालीन समयमा कल्पनाभन्दा बाहिरको थियो ।

चिठ्ठी महिनौं लगाएर पुग्ने र महिनौंपछि जवाफ आउने त्यो युगमा इमेल सेवाले एउटा क्रान्ति नै ल्यायो । यस्तो सेवा जोड्दा मान्छे यति खुसी हुन्थे कि जोड्न जाँदा उनीहरुलाई ग्राहकहरुले टिप्स पनि दिन्थे ।
सेवा सुरु गर्दा इमेलको चाप कम थियो । तर, विस्तारै-विस्तारै यति धेरै इमेल आयो कि सर्भरलाई थेग्न मुस्किल हुन थाल्यो । सुरुमा अमेरिकाबाट दिनमा एकपटक ‘मोडेम कल’ आउँथ्यो भने पछि दिनमा ४-५ घण्टासम्म आउन थाल्यो ।

इमेल आदानप्रदान बढी हुन थालेपछि ग्राहकको कम्प्युटरमा इमेल पुग्न पनि समय लाग्यो । ग्राहक भने धेरै घण्टा कुर्न तयार थिएनन् ।

मर्कन्टाइलले नेपालमा सन् १९९७ को सुरुमा इन्टरनेट सेवा सुरु गर्‍यो । त्यतिबेला नेपालबाट इन्टरनेट सेवा दिन ‘लिजलाइन’ लिनुपर्थ्यो । त्यो लाइनले यहाँबाट भारतको कुनै इन्टरनेट सेवा दिने लाइन आएको बिन्दुसम्म जोड्थ्यो । यो लाइन हरेक समय खुल्लै हुनुपर्ने ट्रंक लाइनजस्तै थियो ।

लिज लाइन जोड्न नेपाल टेलिकमलाई साढे ४ लाख रुपैयाँ तिर्नुपर्थ्यो । त्यसबाहेक विदेशी कम्पनीलाई प्रतिमहिना साढे ४ हजार डलर तिर्नुपर्ने हुन्थ्यो । वर्ल्डलिंकले त्यति ठूलो रकम जुटाएर सेवा दिने आँट गर्न सकेन । प्रतिस्पर्धी कम्पनी मर्कन्टाइल भने अघि बढिसकेको थियो ।

अन्ततः विजयहरुले पनि निर्णय लिए-अब इन्टरनेट सेवामा जानुपर्छ । तर, रकमको लागि कसैले पत्याएनन् । त्यही बेला सेवा सम्झौता भएको एउटा विदेशी कम्पनीले ३ महिनाको ‘पेइङ पिरियड’ दियो ।
जसले गर्दा कम्पनीलाई केही सहज भइदियो । त्यतिबेला आन्तरिक कारणले टेलिकमले पनि सुरुको ५-६ महिना लाइनको बिलिङ नै गर्न सकेन । ३ महिनामा इन्टरनेटका धेरै ग्राहकहरु पनि बने । त्यो अवधिमा आवश्यक लगानी जुटाउन सके ।

त्यो डायलअप इन्टरनेटको युग थियो । माओवादी विद्रोहका कारण बिजनेसको वातावरण खस्किएको थियो । दीलिपकै भाषामा- वर्ल्डलिंक ‘अबोध बालक’जस्तै थियो ।

सेवा सुरु भएको धेरैपछि सञ्चार मन्त्रालयले बोलाएरै लाइसेन्स दियो । त्यो समयमा पूर्वाधारमा खासै ठूलो लगानी गर्नुपर्ने थिएन । कम्पनीको आम्दानी पनि राम्रो भइरहेको थियो । २००१/००२ सम्म यस्तै चलिरह्यो ।

विस्तारै ग्राहकले पुरानै शैलीको सेवामा चित्त बुझाउन छाडे । भन्न थाले-हामीलाई थप सुविधा चाहियो ।

डायलअप इन्टरनेटको स्पिडमा उनीहरुको आपत्ति थियो । त्यतिबेला युरोपमा ‘आईएसडीएल’ भन्ने सर्भिस थियो भने अमेरिकामा ‘डीएसएल’ । यता नेपाली ग्राहकले दीलिपहरुलाई सोध्ने थाले- तिमीहरु के गर्दैछौ ?

त्यसपछि वर्ल्डलिंकले नेपाल टेलिकमसँग कुरा गर्यो । वर्ल्डलिंकको प्रस्ताव थियो, ‘ग्राहकलाई बिक्री वितरण गर्न मिल्ने एडीएसएल -फोनमार्फत जोडिने इन्टरनेट)को पूर्वाधार सेवा दिनुस् ।’ आफ्नै योजना छ भनेर पन्छिएको टेलिकमले त्यो सेवा २००७ बाट मात्र सुरु गर्‍यो ।

टेलिकमले एडीएसएल दिन नमानेपछि वर्ल्डलिंकले एउटा वायरलेस इक्विपमेन्ट भेट्यो, तर साह्रै महँगो थियो । घरेलु ग्राहकलाई त्यसबाट सेवा दिन त्यो उपयुक्त थिएन । धेरै शुल्क तिर्नसक्नेकोमा वायरलेस इक्विपमेन्ट जोडेर सेवा विस्तार पनि भयो, तर त्यो सबैलाई हुने खालको प्रविधि थिएन । वर्ल्डलिंकले २००४ मा काठमाडौं, पोखरा र बिराटनगरका पोलहरुबाट केबल नेटवर्क हालेको थियो । ती पोलमा स्विच राखेर घर-घरमा सेवा जोड्न सकिने अवस्था थियो । तर, त्यो पनि सजिलो थिएन । त्यतिबेला टेलिभिजन केबल अपरेटरहरुले पोलमा तार हाल्न आपत्ति पनि जनाए । आफू टेलिभिजन सेवा दिने कम्पनी हैन भनेर बुझाउन निकै हम्मे पर्‍यो ।

तामाको तारमार्फत दिइने सेवा लोकप्रिय भयो । यसपछि डायलअप इन्टरनेट दिन परेन । त्यतिबेला वर्ल्डलिंकसँग कसैको प्रतिस्पर्धा नै थिएन । ग्राहकहरु खुसी थिए ।

केबल इन्टरनेट सेवा सुरु गरेपनि त्यो जोगाडको सस्तो प्रविधि थियो । त्यतिबेला भारतमा पनि यही प्रविधि प्रयोगमा थियो । तर, कमजोर गुणस्तरका कारण कम्पनीले पूर्वाधारमा ठूलो लगानी गर्नुपर्ने स्थिति आयो ।

त्यो प्रविधि दीर्घकालसम्म जानसक्ने अवस्था भने थिएन । तर, दीलिपहरु जे-जे गर्न सकिन्छ त्यसमा लागिरहे । झन्झट हुने भएकाले नै पोलमा तार हाल्न मर्कन्टाइल आउँदै आएन । उनीहरुले बजार नै छोडिदिए । वर्ल्डलिंकले भने अनेकन प्रयोग र प्रयास गरिरह्यो ।

जब केबल इन्टरनेटमा ग्राहकहरु बढ्न थाले, पोलमा राखिएका स्विचको गुणस्तर कमजोर भएकाले व्यवधान आयो । सेवामा धेरै गुनासा आए । त्यसपछि अब यसलाई हटाउने सोचमा कम्पनी पुग्यो ।

फेरि कम्पनीले एउटा अमेरिकी कम्पनीसँग ‘ताररहित डिभाइस’ किन्न थाल्यो । काठमाडौं र पोखरामा यो प्रविधिले सुरुमा राम्रो काम गर्‍यो । ग्राहक सजिलै ‘वायरलेस’मा जान थाले ।

अन्य कम्पनीमार्फत पनि धेरै ग्राहक यो सेवामा जोडिएपछि आसपासका डिभाइसका सिग्नल जुध्न थाल्यो । त्यसले सेवा फेरि प्रभावित हुन पुगेपछि स्पिड घटेको भन्दै ग्राहक फेरि अर्को गुनासो गर्न थाले ।

धेरै ग्राहक बनाएर सेवा खस्काएको भन्ने आरोप कम्पनीमाथि लाग्यो । ग्राहक पनि ठूलो संख्यामा बढेकाले कम्पनीलाई यही प्रविधिमा रहिरहन सहज भएन । २००७ सम्म यस्तो अवस्थाबाट कम्पनी अघि बढ्दै थियो ।

२००८ नलाग्दै नेपालको टेलिकम उद्योगमा अर्को क्रान्ति भयो । टेलिकमले एडीएसएल सेवा ल्यायो । भारतबाट फाइबरमार्फत इन्टरनेट ब्यान्डविथ भित्र्यायो । त्यतिबेलासम्म नेपालमा सबै इन्टरनेट ब्यान्ड विथ स्याटेलाइटबाट मात्रै आउँथ्यो । त्यस्तो इन्टरनेट ढिलो त हुन्थ्यो नै, महँगो पनि पर्थ्यो ।

स्याटेलाइटबाट लिने १ एमबीपीएस इन्टरनेट ब्यान्थविथको त्यतिबेला प्रतिमहिना १३ सय डलरसम्म तिरिँदै थियो । सुरुवातमा यस्तो शुल्क १० हजार डलरसम्म थियो । तर, फाइबरमार्फत एक एमबीपीएस किन्दा ३ सय डलरमा आउँथ्यो ।

टेलिकमले फाइबरबाट सस्तो इन्टरनेट ब्यान्डविथ भित्र्याएर एडीएसएल सेवा थालेपछि कम्पनीलाई लाग्यो- अब त हामी सकिन्छौं !

टेलिकम आˆनो प्रविधिले निजी कम्पनीलाई विस्थापन गर्ने बताइरहेकै थियो । वर्ल्डलिंकले आफूलाई पनि फाइबर ब्यान्डविथ दिन टेलिकमसँग प्रस्ताव गर्यो, तर टेलिकमले मान्ने कुरै भएन । टेलिकमले छरितो सेवा दिन थालेपछि वर्ल्डलिंकले शुल्क घटायो । त्यसबाट कम्पनीको आर्थिक अवस्था बिग्रन थाल्यो ।

वर्ल्डलिंकसँग टेलिकमको एडीएसएलसँग प्रतिस्पर्धा गर्ने प्रविधि नै थिएन । ग्राहक त छन्, भरपर्दो नेटवर्क छैन, तर टेलिकमसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । यो अवस्थामा जे छ, त्यसबाटै बजारमा टिकिरहनुको विकल्प थिएन ।

कम्पनीले ‘हामीलाई पनि फाइबर ब्यान्डविथ दिनुस्’ भन्दै एक वर्षसम्म भारतका विभिन्न सेवा प्रदायकलाई गुहार्‍यो । तर, त्यहाँ पनि सीमित थियो, अन्तरदेशीय फाइबर हाल्दा विभिन्न नियम, प्रक्रियाहरु थिए । सुरक्षाका सवालहरु थिए ।

टेलिकमले बीएसएनएलबाट फाइबर ब्यान्डविथ लिएको थियो, दुवै सरकारी स्तरकै कम्पनी भएकाले झन्झट कम थियो । निजी सेवा प्रदायकलाई त्यति सरल प्रक्रिया थिएन ।

२००८ को अन्तिमतिर बल्ल वर्ल्डलिंकले फाइबरबाट ब्यान्डविथ ल्यायो । त्यसपछि कम्पनीको गुणस्तर बढ्यो र खर्च घट्यो । कम्पनीले वायरलेस डिभाइसबाटै सेवा दिइरह्यो ।

त्यतिबेला कम्पनीले सरकारसँग विदेशमा वायरलेस इन्टरनेटमा तीव्र गतिको इन्टरनेट चलाउन प्रचलनमा आएको ‘वाईम्याक्स’ प्रविधिको लाइसेन्स माग्यो । नेपालमा त्यसको सुरुआत भएको थिएन । त्यसका लागि सरकारबाट फ्रिक्वेन्सी लिनुपर्थ्यो । नेपाल टेकिलमले सहजै पि|mक्वेन्सी पायो, तर निजी कम्पनीले बोलकबोलबाट पाउने नियम बनाइयो । कम्पनीले फ्रिक्वेन्सीको ‘अक्सन’ टेन्डर गर्न धेरै हारगुहार गर्यो, तर सरकारी तबरबाट स्वीकारिएन ।

टेलिकमले एडीएसएलबाट तुलनात्मक रुपमा स्तरीय सेवा दिइरहँदा वर्ल्डलिंक आर्थिक हिसाबले पनि कमजोर बन्न पुग्यो । गुणस्तरीय प्रविधि पनि लिन नसक्ने र ठूलो लगानी पनि गर्न नसक्ने अवस्थाले कम्पनीलाई गाँज्दै लग्यो ।

२००८ देखि २०१२ सम्मको अवधिमा कम्पनी सबैभन्दा खराब अवस्था पुग्यो । ग्राहकको गालीको ओइरो थियो । टेलिकमको एडीएसएसलसँगको तुलनाले कम्पनीलाई हानी भइरहेको थियो, जुन स्वाभाविक थियो ।

दीलिपहरुलाई त्यतिबेला के गर्ने, कहाँ जाने, के प्रविधि ल्याउने केही पत्तो थिएन । दीलिपको भनाइमा कम्पनी समुद्रमा हराएको जहाज जस्तो भएको थियो । कर्मचारीलाई तलब खुवाउन पनि समस्या भयो ।
यस्तो कठिन परिस्थितिसँग जुध्दै गर्दा २०११ डिसेम्बरमा राजस्व अनुसन्धान विभागले वर्ल्डलिंकमा छापा मार्‍यो ।

‘वर्ल्डलिंक कम्युनिकेसन प्रालि’ काठमाडौंमा दर्ता थियो । तर, सेवा दिने क्रममा देशमा विभिन्न शहरमा त्यहाँको स्थानीय व्यक्तिलाई पार्टनर बनाएर छुट्टै कम्पनीहरु स्थापना भएको थियो । त्यही कम्पनीमार्फत सेवा दिइन्थ्यो ।

उतारचढाबपछिको सफलता

राजस्व अनुसन्धान विभागले भन्यो, ‘यस्तो संरचना बनाएर दूरसञ्चार सेवाको रोयल्टी छलियो ।’ दूरसञ्चार सेवा प्रदायकले आफ्नो आयको ४ प्रतिशत रोयल्टी बुझाउनु पर्थ्यो, तर काठमाडौं बाहिरका कम्पनीहरुले दूरसञ्चार सेवाको अनुमतिपत्र लिएका थिएनन् । इन्टरनेट सेवामा प्रदायकको लाइसेन्स नलिएका ती कम्पनीले ४ प्रतिशत रोयल्टी पनि बुझाएका थिएनन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले पनि कम्पनीलाई यस्ता कम्पनीबारे स्पष्ट निर्देशन दिएको थिएन । ‘त्यतिबेला हाम्रो गल्ती थिएन भन्ने हैन, हामीले प्रष्ट भएर त्यो काम गर्नुपर्ने थियो,’ दीलिप सम्झन्छन्, ‘तर, सिक्दै जाने क्रममा त्यस्तो भइदियो, हामीलाई त्यो सयममा सच्चिने मात्रै विकल्प थियो ।’


वर्ल्डलिंक आफूले गरेको गल्तीको सजाय भोग्न तयार भयो । विभागले बिगो करिब २५ लाख हुने हिसाव निकाल्यो ।

विभागका तत्कालीन महानिर्देशक भरत सुवेदी (अख्तियारको फन्दामा परेका) अर्कै मनासाय देखाए । त्यसपछि कम्पनीमाथि अरु खालका आरोपहरु पनि थपिए । ३० करोड बिगो निकाल्ने धम्की बिभिन्न च्यानलबाट आए ।

‘हामीलाई ध्वस्त बनाउने भन्दै बार्गेनिङ गर्न खोजिए थियो, हामीलाई दैनिक तारेख धाउन बाध्य पारियो’, दीलिप सम्झन्छन्, ‘६ महिना विभाग धाएपछि मैले भनें, थुन्ने भए थुन्नुस् के-के जफत गर्नपर्छ गर्नुस् भन्यौं ।’

त्यतिबेला कम्पनी नै बन्द गर्नेसम्मको अवस्था आयो । सञ्चारमाध्यममा पनि कम्पनीको पक्ष/विपक्षमा समाचारहरु आए । ब्यापार डामाडोल भएपछि विजय र दीलिपहरु व्यवसायबाटै पलायन हुनेसम्मको सोचमा पुगिसकेका थिए ।
तर, हार नमानेर उनीहरु मुद्दा लड्न कस्सिए । पुनरावदेन अदालतमा मुद्दा जितेपछि ६ महिना बन्द भएको कम्पनीको खाता खुल्यो ।

राजस्वको विवादको सामना गर्दागर्दै पनि कम्पनीले विभिन्न विकल्पहरु सोचिरहेका थियो । त्यतिबेला चीनको एक कम्पनीले केबल नेटवर्कमा राख्न निकालेको नयाँ खालको स्विच कम्पनीका लागि ‘मरुभूमिमा पानीको मुहान’ भेटिएजस्तै भयो । त्यसलाई ल्याएर कम्पनीले पुरानो नेटवर्कमा काठमाडौंका ३५ सय वटा स्विचहरु बदल्यो ।

स्विच बदलेपछि सेवाको गुणस्तर बढ्यो । त्यतिबेला कम्पनीले १० एमबीपीएसको घरेलु सेवा ल्यायो । त्यतिबेलासम्म घरेलु सेवा १/२ एमबीपीएसमा मात्रै हुन्थ्यो ।

बजारले फेरि वर्ल्डलिंकलाई मन परायो । स्विचको प्राविधिक परिवर्तनकै भरमा फेरि कम्पनीले बजारमा ‘कम ब्याक’ गर्‍यो । कन्ट्रोल रुममै बसेर ग्राहकको समस्या पत्ता लगाउन सकिने विशेषतासहितको त्यो ‘म्यानेज्ड स्विच’ नै कम्पनीका लागि बरदान बनिदियो ।

त्यसपछि भने वर्ल्डलिंकले पछाडि फर्किएर हेर्नुपरेन । त्यो नै वर्ल्डलिंकको व्यवसायमा आएको सबैभन्दा ठूलो ‘टर्निङ प्वाइन्ट’ थियो ।

२०१४ मा कम्पनीले एउटा ठूलो निर्णय लियो, फाइबर अप्टिकलमार्फत ग्राहकलाई सेवा दिने । त्यतिबेला पुरानो तामाको तारको केबल नेटवर्कले नै गज्जब काम गरिरहेको थियो ।

तर, कम्पनीकै कर्मचारीहरु त्यसलाई माया गरेर बस्न नहुने पक्षमा उभिए । कम्पनीलाई फाइबरमा जाने निर्णय लिन सहज थिएन । किनकी त्यसमा ठूलो लगानी गर्नुपर्ने थियो भने राम्रो काम गरिरहेको केबल निकालेर फाल्नु पनि पर्ने थियो ।

तर, दीलिप सहमत भए कि चलिरहेको पुरानो केबल नेटवर्क पनि जोगाड प्रविधि नै थियो । प्रविधिमा जसले पहिले कदम चाल्छ त्यो कम्पनी नै सफल हुन्छ भनेर बुझेका दीलिपले नयाँमा जाने निर्णय लिन ढिलाइ गरेनन् । वर्ल्डलिंक तामाको तारमा फसेर बस्न नहुने निष्कर्षमा पुग्यो ।

ग्राहकलाई स्तरीय सेवा दिनकै लागि भनेर कम्पनीले काठमाडौंमा एकैपटक फाइबरमा १ अर्ब लगानी गर्यो । त्यतिबेलासम्म वर्ल्डलिंक ठूलो कम्पनी भइसकेको पनि थिएन । १०० करोड ऋण लिएर सेवामा जानु कम्ता चुनौतीपूर्ण थिएन । यो जोखिमलाई दीलिपले कर्म र धर्म माने ।

त्यसपछिका वर्षहरुमा कम्पनीले लगानी बढाउँदै लग्यो । ग्राहकले पनि फाइबर सेवालाई रुचाए । साढे ३ वर्षअघि कम्पनीले इन्टरनेट सेवामा नेपाल टेलिकमलाई जित्यो । टेलिकमसँग अहिले साढे २ लाख ८० हाराहारीमा फिक्स्ड लाइन इन्टरनेट ग्राहक छन् भने वर्ल्डलिंकसँग साढे ४ लाखभन्दा बढी ।

कम्पनीले अहिले ९० प्रतिशत नगरपालिकामा फाइबरमार्फत नै सेवा दिइरहेको छ । वायरलेस प्रविधिबाट अन्य क्षेत्रमा सेवा दिइरहेको छ । कर्णाली प्रदेशमा पनि दूरसञ्चार प्राधिकरण ग्रामीण दूरसञ्चार परियोजना अन्तरगत वायरलेस इन्टरनेट सेवा दिइरहेको छ । त्यो परियोजना भिस्याट प्रयोग नगरी जोडिएको छ, जसमार्फत स्तरीय सेवा दिन सकेको दावी कम्पनीको छ ।

अहिले सबै इन्टरनेट सेवा प्रदायकमाझ एक तिहाइ, ब्यान्डविथ ट्राफिक र फाइबरमार्फत सेवा दिनेका आधार आधारमा झण्डै आधा, प्रयोगकर्ताको संख्याका आधारमा एक तिहाई प्रतिशत वर्ल्डलिंकसँग छ । अहिले समान्य अवस्थामा वर्ल्डलिंकका एउटा ग्राहकले महिनामा औसत १ सय जिबी प्रयोग गर्छन् । लकडाउनमा त्यो बढेर १५० जिबीसम्म पुग्यो ।

कम्पनीमा विदेशी लगानी पनि आएको छ । त्यसका आधारमा कम्पनीले लगानी थप्यो र आक्रामक बजारीकारण गर्‍यो । पछिल्लो समयमा फिक्स्ड लाइन जोड्नेहरुको संख्या अत्याधिक गतिमा बढ्दा त्यसको लाभ पनि कम्पनीले उठायो । महामारीपछि इन्टरनेट प्रयोगकर्ताको संख्यामा आएको उछाल र कम्पनीले सेवालाई सहज पहुँचयोग्य, प्रभावकारी र सस्तो बनाउन गरेका प्रयत्नले वर्ल्डलिंक ७ लाख सब्सक्राइबर पुगेको कम्पनीको दाबी छ ।

यो क्षेत्रमा सँधै अपग्रेड र अपडेट हुनुपर्ने भएकाले लगानी पनि पर्याप्तामा मात्रा थपेर सेवालाई गुणस्तरीय बनाउन हरसम्भव काम गरेको कार्यकारी निर्देशक अग्रवाल बताउँछन् । ‘हामी राम्रो सेवा दिने कुरामा सम्झौता गर्दैनौं,’ उनले भने,’त्यसका लागि हामी प्रविधि, जनशक्तिदेखि सबै कुरामा निरन्तर लगानी थपिरहेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?