+
+
उम्मेदवार प्रोफाइल :

सुनिल थापा : पार्टी परिवर्तनलाई अनुमोदन गर्ने चुनौती

त्यसबेला राईलाई वाम गठबन्धनको साथ थियो, यसपटक थापा सत्ता गठबन्धनका साझा उम्मेदवार बनेर आएका छन् । यो अवस्थाले धनकुटामा कांग्रेसलाई दोस्रो पटक विजयी बनाउँदै आफू पनि जनअनुमोदित हुन थापालाई अलि सजिलो रहेको देखाउँछ ।

ईश्वर थापा ईश्वर थापा
२०७९ कात्तिक ३० गते १९:५८

पञ्चायत र बहुदलीय व्यवस्थामा गरी पाँच पटक प्रधानमन्त्री बनेका सूर्यबहादुर थापाका छोरा सुनिलबहादुर बाबुको विरासत छाडेर नेपाली कांग्रेसमा पसेपछि पहिलो पटक जनअनुमोदित हुन संसदीय चुनावी मैदानमा खडा भएका छन् । ६५ वर्षीय सुनिल थापा यसपटक धनकुटा-१ मा कांग्रेसका उम्मेदवार छन् ।

धनकुटाको मुगामा जन्मिएका थापाले अमेरिकामा स्नातकोत्तर गरेपछि लामो समय अन्तर्राष्ट्रिय गैरसरकारी संघ-संस्थाहरूमा काम गरे । २०६९ सालमा राजनीतिमा प्रवेश गरेका उनले आफ्ना पिताको राष्ट्रिय जनशक्ति पार्टीमा सुरुमै केन्द्रीय सदस्य पद पाए ।

राष्ट्रिय जनशक्ति पार्टी २०७० मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा विलय भएपछि उनी केन्द्रीय सदस्य र २०७३ मा राप्रपा विभाजनबाट बनेको राप्रपा (प्रजातान्त्रिक)मा महामन्त्री बने ।

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनी धनकुटा–२ बाट निर्वाचित भएर २०७१ सालमा वाणिज्य तथा आपूर्ति मन्त्री बने । गणतन्त्र र त्यसअनुसारको परिवर्तन आत्मसात् गर्दै १३ साउन २०७७ मा सहमहामन्त्री हुने गरी कांग्रेसमा आएका थापा पार्टीको १०औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भए । उनी कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति सदस्य पनि छन् ।

सुनिलका बाबु सूर्यबहादुर थापा पनि २०१० सालमा नेपाली कांग्रेसको धनकुटा जिल्ला सभापति थिए । राप्रपा र कांग्रेस दुवै दलका समर्थक/शुभचिन्तकलाई त्यो विगतको स्मरण गराउँदै मद्दत मागिरहेका छन्, थापा ।

सम्भावित मतदातालाई पनि उनी भनिरहेका छन्, ‘मलाई भोट दिनुस्, म यहाँले सोचेको, खोजेको जस्तै धनकुटा बनाउँछु ।’ गत स्थानीय तह चुनावको अंकगणित सुनिल थापाका लागि तुलनात्मक रूपमा सहज भए पनि हेमराज भण्डारीले नेकपा (माओवादी केन्द्र) छाडेर स्वतन्त्र उम्मेदवारी दिनु, जनता समाजवादी पार्टी (जसपा) सत्ता गठबन्धनमा नआउनुलगायत कारणले उनलाई चुनौती बढेको छ ।

जसपाले धनकुटाबाट प्रदेश सभाको दुवै सिटमा उम्मेदवारी दिएर प्रतिनिधिसभा छाडेको छ । अन्तिममा उसले प्रतिनिधिसभामा कोसँग समझदारी गर्छ, अझै खुलेको छैन ।

गत स्थानीय चुनावमा धनकुटामा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतमा एमाले अगाडि छ । एमालेले ३६ हजार ३३६, कांग्रेसले २८ हजार १८२, माओवादी केन्द्रले ५ हजार ४५८, जसपाले २ हजार २९३, एकीकृत समाजवादीले १ हजार ७२८, स्वतन्त्रले १ हजार २१ र राप्रपाले ३०४ मत पाएको छ ।

यो चुनावी नतिजा अनुसार सत्ता गठबन्धनको मत ३७ हजार ६८२ छ । यसले एमालेलाई थोरै मात्र कमजोर देखाउँछ । फेरि, धनकुटामा कांग्रेसले २०१५ साल बाहेक कुनै राष्ट्रिय निर्वाचनमा जितेको इतिहास छैन ।

यसपटक कांग्रेसका सुनिल थापा पुरानै प्रतिद्वन्द्वी राजेन्द्र राईसँग भिड्दैछन् । उनले कांग्रेस हुनुअघि २०७४ को निर्वाचनमा राईलाई ४५४ भोटले पराजित गरेका थिए ।

त्यसबेला राईलाई वाम गठबन्धनको साथ थियो, यसपटक थापा सत्ता गठबन्धनका साझा उम्मेदवार बनेर आएका छन् । यो अवस्थाले धनकुटामा कांग्रेसलाई दोस्रो पटक विजयी बनाउँदै आफू पनि जनअनुमोदित हुन थापालाई अलि सजिलो रहेको देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?