+
+
अन्तर्वार्ता :

‘टेस्टेडसँग जनता असन्तुष्ट छन्, स्वतन्त्र साथीहरूको मुद्दा म आफैं बोक्छु’

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३० गते २१:४२

देशभरिका चुनाव नियाल्ने क्रममा हामी काठमाडौं–५ मा पुगेका छौं । जहाँ नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल एमालेका वरिष्ठ नेता ईश्वर पोखरेलसँग प्रतिस्पर्धा गर्दैछन् ।

यस क्षेत्रबाट विगतमा नेता ईश्वर पोखरेल निर्वाचित भएका थिए । पहिलो पटक काठमाडौं–५ बाट प्रतिनिधिसभा सदस्यको लागि निर्वाचन लड्दै गरेका प्रदीप पौडेलसँग गरिएको कुराकानीः

कस्तो चल्दैछ तपाईंको चुनाव प्रचार ?

हामी आम मतदाता कहाँ जाँदैछौं । बढीभन्दा बढी मतदाता भेट्ने कोसिस गरिरहेका छौं । अहिले दुई प्रकारको परिस्थिति देखिन्छ । एउटा चैं राजनीतिप्रति असाध्यै धेरै अविश्वास, वितृष्णा जस्तो छ । यिनीहरू चुनावमा भोट माग्न आउँछन्, जितेपछि फेरि अर्को चुनावमा आउँछन्, मोटा–मोटा घोषणापत्र बनाउँछन्, केही पनि कार्यान्वयन गर्दैनन् भन्ने एउटा अविश्वासको नजरले हेरेको परिस्थिति देखिन्छ । अर्को परिस्थिति कस्तो छ भने तपाईं नयाँ हो, तपाईंले लामो समय सडक आन्दोलनमा आफूलाई सक्रिय बनाउनुभयो, सडकमा उठाएको विषयहरू संसदमा लैजानुहोस्, हामी तपाईंलाई विश्वास गर्छौं, तपार्ईंप्रति हाम्रो भरोसा छ भनेर आशाको नजरले हेरेको पनि देखिन्छ ।

तपाईं खासमा तनहुँबाट चुनाव लड्न चाहनुहुन्थ्यो, परिबन्दले तपाईंलाई काठमाडौं ल्याइपुर्यायो है !

त्यस्तो पनि होइन । तनहुँ र काठमाडौं पार्टीले दुई वटा अप्सन दिएको थियो । स्वाभाविक रूपमा कहाँ परिस्थिति अनुकूल हुन्छ पार्टीले व्यवस्थापन गर्नका लागि विभिन्न उपाय अपनाउने हो । मलाई काठमाडौं एउटा अवसर हो भन्ने लाग्यो, यहाँ मिडिया एक्सपोजर पाइन्छ । त्यसपछि यहाँ काम गर्न सकियो भने जनताका मनमा बस्न पनि सकिन्छ । साँच्चै सेवक भएर तमाम बेथितिका विरुद्ध लड्ने स्थितिमा चाहिं यहाँका सचेत मतदाताको समर्थन–सहयोग, मिडियाको समर्थन–सहयोग प्राप्त गर्न सकिन्छ । त्यसले एउटा शक्ति आर्जन गर्न सकिन्छ । त्यसले आफैंलाई बेथितिका विरुद्ध सक्रिय बनाउन सकिन्छ भन्ने लागेर मैले काठमाडौं रोज्न पुगेको हुँ ।

तपाईं लड्दै गरेको क्षेत्रलाई एमालेले सबैभन्दा सुरक्षित क्षेत्र मानेको छ नि ?

अघिल्लो पटक पनि पार्टीले जित्यो भन्ने आधारमा त्यही पार्टीले जितिरहने हो भने एकचोटि चुनाव गरेपछि अर्को गर्दै नगरे भो ! अब त्यो सामान्यतया कस्तो होला भने कुनै पार्टीमा कसैको पद माथि होला तर आम जनताले मूल्यांकन गर्ने विषय के हो भने राज्यमा भूमिका प्राप्त गर्दा कसरी काम गरेको थियो ? त्यसका इम्प्याक्ट के के थिए ? मौका पाउँदा जनता सन्तुष्ट बनाउने गरी काम गरिएको थियो कि थिएन ? टेस्टेडहरूको हकमा मुख्य ती कुराहरू हेरिन्छ भन्ने लाग्छ ।

तेस्रो कुरा चाहिं हेभिवेट भनेर भनिन्छ त्यो शरीरकै वेटलाई लिएर हेभिवेट भनिएको हो कि ! मलाई के लाग्छ भने काठमाडौं–५ का मतदाता सचेत हुनुहुन्छ । उहाँहरूले सबै पक्षबाट उम्मेदवारको मूल्यांकन गर्नुहुन्छ । त्यस आधारमा म जोखिममा छु भन्ने लाग्दैन ।

त्यसअर्थमा, तपाईंको क्याम्पेन सजिलो नै भइरहेको छ ?

डेफिनेट्ली मलाई गाह्रो छैन । म त मतदातासँग अन्तरक्रिया नै गरिरहेको छु । प्रश्नको सवाल–जवाफ नै गरिरहेको छु । अब त्यो पहिला भूमिका पाएको तर कामै नगरेको अवस्था भएको भए त्यो गर्न सकिंदैनथ्यो । कतिपयलाई घरदैलोमा जान गाह्रो छ । जनताको प्रश्नको सामना गर्न सक्ने स्थिति नै छैन । मेरो हकमा त्यस्तो छैन । अन्य कतिपय उम्मेदवारको हकमा पनि त्यो नहुन सक्छ तर हामीलाई प्रष्ट ढंगबाट आम मतदाताले आफ्ना कुराहरू राख्नुभएको छ । विश्वास र भरोसा पनि व्यक्त गर्नुभएको छ । निराशा पनि सँगसँगै व्यक्त गर्नुभएको छ । हामीले त्यो निराशालाई चिर्ने गरी, राजनीतिले गुमाएको विश्वास फर्काउने गरी आफ्ना प्रतिबद्धताहरू व्यक्त गरिरहेका छौं । आफ्नो हुटहुटी देखाइरहेका छौं । विश्वास आर्जन गर्ने स्थिति राजनीतिले गरेन भने निराशा झन् बढेर जान्छ ।

पहिलोचोटि प्रतिनिधिसभामा लड्दै गरेको भए पनि राजनीतिले वितृष्णा पैदा गरेका नागरिकहरूको जवाफ पनि तपाईंले दिंदै हिंड्नुपरिरहेको छ नि !

यसमा दुई–तीन वटा कुरा छ । पार्टीभन्दा पनि केही पात्रहरूको कामप्रति जनताको असाध्यै धेरै प्रश्न छन् । पात्रहरूको कारणले राजनीतिप्रति र पार्टीप्रति अविश्वास बढेको हो । पार्टीमाथि पनि थुप्रै प्रश्न छन् । पार्टीले पनि करेक्सन गर्न आवश्यक छ । तर पार्टी अस्वीकृत भएको हैन । पार्टीभित्रका केही मान्छे चाहिं अस्वीकृत भएको जस्तो वातावरण देखिन्छ । त्यसैले अब विभिन्न तरिकाले प्रभावित गरेर फेरि स्वीकृत हुने, अनुमोदन हुने कोसिस चाहिं भइरहेको छ । तर साँच्चै विवेक प्रयोग गर्दा चाहिं केही व्यक्ति स्वीकृत हुने देखिंदैन । अब हामीले त धेरै मान्छे, मतदाता भेट्यौं । त्यसरी भेट्दा यो पुस्ता जसलाई युवा पुस्ता भनिएको छ त्यो पुस्तामाथि आशा छ । त्यसैले पनि पहिलेको जस्तो गर्‍यौं भने यो राजनीतिप्रति अविश्वास चुलिएर अर्को स्थितिमा पुग्छ ।

त्यो त अहिले पनि अलि–अलि छनकहरू देखिन थालेको छ नि ? 

त्यो डेफिनेट्ली । हामीलाई प्रश्न गर्दा चाहिं पार्टीसँग जोडिन्छ । भनौं न तपाईं गएर पनि त के हुन्छ ? मानिलिऊँ त्यहाँ गएपछि पहिले जस्तो भएको थियो अहिले त्यस्तै हुन्छ । पहिलेका पात्रहरूले जे गरेका थिए त्यही नै गर्छन् । यो एउटा बास्केटमा बिग्रिएको सुन्तलाको प्रभावले बिग्रिने हुन्छ भन्ने छ ।

तपाईं कसरी बाचा गर्नुहुन्छ, हामी त्यसरी बिग्रिंदैनौं भनेर ?

एउटा त हामीले उठाएका विषयहरू तथ्यमा आधारित छन् । असाध्यै व्यावहारिक छन् । राजनीतिप्रति विश्वास घटेको कुरा मैले नै स्वीकार गरेर सुरुवात गर्छु । विश्वास घटेको छ । यसप्रति विश्वास बढाउनका निम्ति हामी काम गर्छौं । के काम गर्छौं भन्दा राजनीतिले डेलिभर गर्ने काम गर्नुपर्छ । यसमा हामीले भनेको तर्कसँग आम जनता कन्भिन्स हुनुहुन्छ ।

तपाईले कस्तो पार्न खोज्नुभएको छ ?

जस्तै, करप्सन अन्त्य नभएसम्म सुशासन प्राप्त हुन सक्दैन । करप्सन कहाँ छ खोजेरै साध्य छैन । करप्सन कहाँ छैन भन्ने कुरा खोजेरै सकिंदैन । करप्सनको आजको स्थितिलाई अन्त्य गर्‍यौं भने चाहिं सुशासन प्राप्त हुन्छ ।

भनेको १०–२० हजार घुस खानेलाई समातेर केही हुँदैन, नीतिमा नै हान्नुपर्‍यो ?

हो, हान्नुपर्‍यो । त्यो मुहान नै बन्द गर्नुपर्‍यो । मास लेबलमा गएर त्यसको केही अर्थ हुँदैन ।

सर्वसाधारणलाई त थाहा पनि हुँदैन कहाँबाट करप्सन भइरहेको छ भनेर, नीतिगत करप्सन त त्यस्तो हुँदैन नि ?

नीतिगत कुरा नबुझ्ने पनि हुनुहुन्छ । त्यसलाई हामीले बुझाउँछौं । जस्तो संवैधानिक अंग माथिको हस्तक्षेप, न्यायालयमाथिको हस्तक्षेप, क्याबिनेटको निर्णयलाई अख्तियारले छानबिन गर्न नपाउने विषय जस्ता तमाम विषय जोडेर हामीले भन्ने गर्छौं । त्यसले के देखिएको छ भने हाम्रो कुरामा लजिकल विषयहरू छन् । स्टेपहरू देखाइएका छन् । कहाँ हुन्छ, कसरी हुन्छ भनेर पनि देखाइएको छ ।

तपाईं यसका अलावा मतदाताबीचमा के कुरा लगेर गइरहनुभएको छ ?

म सांसद हो, नीतिको मात्र कुरा गर्छु भनेर सम्भव छैन । त्यसैले सांसदले विकासको कुरा पनि गर्नुपर्ने रहेछ, वडाअध्यक्ष, सदस्य लड्नेले जे कुरा गर्नुभएको थियो त्यही कुरा हामीले पनि गरिरहेका छौं । अब दुर्भाग्य कस्तो छ भने काठमाडौंमा ७ किलोमिटर बाटो पिच गर्ने विषय, करिडोर बनाउने विषय विगत दश वर्षदेखि चुनावी मुद्दा बनिरहेको छ । सेतो तारलाई कालो तारमा फेर्छु भन्ने विषय चुनावी मुद्दा बनिरहेको छ । ढललाई व्यवस्थापन गर्छु, खानेपानी ल्याउँछु भन्दै हिंड्नुपरेको छ । त्यसकारणले सांसद भनेको पूरै विकासको नेता पनि रहेछ ।

किनभने स्थानीय साधन–स्रोतले पुग्दैन त्यसैले म संघबाट पैसा ल्याएर यो कामहरू गर्छु भनेर भन्नुपर्ने रहेछ । अनि जनतासँगको कनेक्टिभिटीको कुरा त्यति मेजर रहेछ यो चुनावमा तपाईं आउनुभयो त्यसपछि त एकैचोटि अर्को चुनावमा आउने होला भनेर व्यंग्य गर्नुहुन्छ । हामीले अब त्यसलाई के गरेका छौं भने डिजिटल कनेक्टिभिटी जसले सहज बनाउँछ त्यसको लागि एप खोल्छौं ।

म यहाँ भौतिक रूपमा उपस्थित नभए पनि तपाईंको कुरा सुनिने व्यवस्था म मिलाउँछु भन्ने हो ?

त्यो मिलाउँछु । सँगसँगै हामीले एकदम मितव्ययी खर्चमा सांसद कोषको कार्यालय पनि खोल्छौं । तपाईंसँग एकदमै निरन्तर रूपमा संवाद गरिरहन्छौं । समस्या के हो ? पहिचान गर्छौं, त्यसलाई कहाँ कहाँ लग्यौं भन्ने प्रतिवेदन के छ ? त्यसलाई पनि सार्वजनिक गर्छौं । सांसद विकास कोषको पैसा चाहिं समुदायको अगुवा सम्मिलित एउटा समिति बनाएर त्यसले छनोट गरेको योजनामा खर्च गर्ने व्यवस्था हामी मिलाउँछौं । सांसद विकास कोषको पैसाको अडिट गर्छौं ।

संसद विकास कोष त खारेज भइसक्यो नि ?

हो, कोष खारेज हुनुपर्छ भन्नेमध्येकै म हुँ । तर मैले मात्रै भनेर खारेज हुँदैन होला । सांसद आफैं नीति बनाउनुहुन्छ । आफैंले पाउने पैसा त खारेज गर्न मान्नुहुन्न होला । त्यसकारण अब मैले मात्र नलिएर अर्थ हुन्न । त्यसैले लिनै पर्ने परिस्थिति भयो भने यसो गरिन्छ भनेर भनिएको छ । अनि यहाँका तमाम विषय ढलको कुरा, खानेपानीको कुरा, स्कुलको कुरा, अस्पतालको कुरा, करिडोरको कुरा, खोलानाला सफा गर्ने कुरा, ट्राफिक जामको कुरा अनि गुगलमा काठमाडौंको पहिचान फेर्ने कुराहरू छन् ।

गुगलमा काठमाडौंको पहिचान के छ ?

काठमाडौं संसारकै प्रदूषित शहरमध्ये एउटा हो भन्ने छ । आफ्नो राजधानीलाई प्रदूषित राख्ने अनि ५० लाख पर्यटक ल्याउँछु भनेर गफ दिएर के अर्थ छ ! तपाईंले पहिला एयरपोर्ट फेर्नुपर्‍यो, काठमाडौंको पहिचान बदल्नुपर्‍यो । यहाँका तमाम समस्या के हो त्यो निदान गर्नुपर्‍यो । आम रूपमा जनताले खोजेको ठूलो कुरै होइन । योग्यता, क्षमता भएको व्यक्तिले प्रतिस्पर्धा गरेर अवसर पाउनुपर्‍यो । योग्यता नै नभएको व्यक्तिले पहुँचको आधारमा अवसर पाउने कुराको अन्त्य हुनुपर्छ । कानुनले, नियमले, निर्देशिकाले जनतालाई दिएको अधिकार कसैलाई नभनी प्राप्त गर्ने स्थिति निर्माण हुनुपर्‍यो ।

कर तिर्ने जनताले नै गाडी छ भने सफा बाटोमा कुदाउन पनि नपाउने, घरमा खानेपानी पनि नआउने, ढलको व्यवस्था पनि नहुने । त्यस कारणले सुशासनको मुख्य आधार जे हो त्यो आधार सरकारले निर्माण गर्नुपर्छ भन्ने कुरा हामीले गरिरहेका छौं । यी त स्थानीय तह काठमाडौंका विषयहरू भए । हामीले राजधानी पनि सफा गर्ने, राजनीति पनि सफा गर्ने भनेर भनेका छौं । अनि केन्द्रीय अथवा नीतिगत तहमा गरिने अन्य विषयहरू भ्रष्टाचार अन्त्य गरेर सुशासन स्थापना गर्ने । प्रतिभा पलायन हुने स्थिति रहिरह्यो भने देश बन्न सक्दैन । योग्य, क्षमतावान मान्छे देशमा बस्ने वातावरण बनाउने ।

यो पल्टको चुनावमा अरू उम्मेदवार भन्दा तपाईंले स्पष्ट रूपमा उठाएको यो प्रतिभा पलायनको कुरा छ हैन ?

यो मात्रै होइन; प्रतिभा, श्रम अनि पूँजी पलायनको स्थितिले देश बन्दैन । हामीले निर्यात गर्न नहुने कुरा गरिरहेका छौं, युवा जनशक्ति । निर्यात गर्नुपर्ने कुरा केही नगरिकन आयात मात्रै गरिरहेका छौं । तपाईंको उत्पादनमूलक उद्यमशीलताको विकास नगर्ने हो भने नेपालमा भएको ठूलो अवसर छ नि; हाम्रो साइकोलोजी कस्तो छ भने नेपाल दुई ढुंगाबीचको तरुल हो, कमजोर हो भन्ने छ । होइन तरुलबीचको ढुंगा हो । किनभने संसारको सबभन्दा ठूलो बजार उत्तरतिर छ । अर्को ठूलो बजार दक्षिणतिर छ । हाम्रो उत्पादन त्यो बजारमा केही गएको छ ? त्यसकारणले चाहिं यो परनिर्भरताको स्थितिलाई अन्त्य गर्नुपर्छ । उत्पादन वृद्धि गरेर आत्मनिर्भर हुने र अन्तर्राष्ट्रिय बजारमा आफ्नो उत्पादन लिएर जाने परिस्थिति हामीले निर्माण गर्नुपर्छ । त्यो विषय नीतिसँग जोडिएको छ ।

त्यसपछि यो डेभलपमेन्ट चाहिं यस्तो भद्रगोल किसिमको हुनुहुँदैन । दिगो, व्यवस्थित र मौलिकतालाई आत्मसात् गरिएको विकास हुनुपर्छ । यो डेभलपमेन्टको मोडललाई पनि चेन्ज गर्नुपर्ने जरूरी छ । अनि यो प्रकृति यही पुस्ताको लागि मात्रै हो ? छोराछोरीको लागि घर–जमिन जोगाइदिने, बनाइदिने तर प्रकृति चाहिं नजोगाउने ! त्यसैले प्रकृति त हस्तान्तरण गर्नुपर्ने विषय हो नि ! प्रकृतिमाथि यस्तो दोहन गर्न पाइन्छ ? क्लाइमेट चेन्जको कुरा हामीले उठाएका छौं, वातावरणको विषय हामीले उठाएका छौं । यी तमाम विषय उठाएर नीतिगत तहमा हस्तक्षेप गर्ने यी विषयहरूको आधारमा नेतृत्व गर्ने र समग्र बेथितिमाथि एकदम बेजोड प्रहार गर्ने ढंगबाट हामी अगाडि बढिरहेको कुरा हो ।

यस्तो खालको मुद्दा उठाउँदा मतदाताबाट प्रतिक्रिया, जवाफ र सुझाव के छ ?

यो हुटहुटीलाई एप्रिसिएसन गरेको भन्ने देखिन्छ । तर, अविश्वासको नजरले हेर्ने हो कि ! चुनावमा आकाशको तारा खसालिदिन्छु, तपाईंको हातमा राखिदिन्छु भनिने गरिएको छ । ठूला कुरा चुनावमा गर्ने त्यसपछि भेट्नै नहुने परिस्थिति हुने हुन्छ । मैले परिस्थिति पनि बुझाएर यो कुरा गरेको छु । यी कुराहरू लजिकल छैनन् भन्ने मलाई लाग्दैन । त्यसकारण आम मतदाताले ‘एप्रिसिएट’ गर्दै भन्नुहुन्छ– तपाईंलाई एकदमै शुभकामना छ । तर, गर्नुहोस् है !

तर, तपाईंलाई कस्तो दुःख ! अहिलेसम्म जति लामो सरकार तपाईंको पार्टी र नेकपा एमालेले चलाएका छन्, एमालेका अध्यक्षले हरेक ठाउँमा भाषण गर्दा जे–जे आफ्नो विकासको सूचक भन्नुभएको छ, त्यो सबै काठमाडौं थुप्रिएका छन् । तपाईं त्यही–त्यही भएन भनिराख्नुभएको छ नि ?

हैन, काठमाडौं बाहिरबाट हेर्दा त्यति धेरै कुरुप देखिंदैन जति भित्र छ । एमालेको अध्यक्षले के–के भन्नुभयो म त्यतातिर जान्नँ । अहिले मेलम्चीकै पानी काठमाडौंमा आइरहेको छ त ? मेलम्चीकै पानी पनि काठमाडौंमा पुग्ने स्थिति छैन । खत्री गाउँमा दुई करोडको ट्यांकी छ । तर, त्यहाँको ट्यांकीमुनिको बस्ती सुक्खा छ । खानेपानीको अभाव त्यति धेरै छ । साँच्चै जनताले महसुस गर्ने गरी सामान्य कुरामा पनि परिवर्तन वा व्यवस्थित भएको छैन ।

फेरि, यो व्यवस्थित गर्न नसकिने कुरा पनि होइन । भोलि म सांसद भएपछि यी विषय उठाएर सरकारी अड्डामा गएर काम भएन भने मेरा सबै मतदाता लगेर त्यहाँ दबाव दिन्छु । काम नगरी सुखै नहुने वातावरण बनाउँछु । किनभने धेरै बजेट लाग्ने, गर्न नसक्ने यी कामहरू पनि होइन । यस्ता कामहरूको निम्ति लगाव, प्राथमिकता निर्धारण गर्छु भन्ने कमिटमेन्ट र समय दिनुपर्छ । त्यसैले राजधानीका यस्ता समस्या हल गर्न नसक्ने विषय हुन् भन्ने मलाई लाग्दैन । यही हाम्रो क्षेत्रमा पनि विगत २० वर्षदेखि सुरुङ मार्गको कुरा गरिएको छ । १९ वर्ष अगाडि रामशरण महतले गर्नुभएको प्रस्ताव आजसम्म पूरा भएको छैन । काठमाडौं–४ नम्बर क्षेत्रमा करिडोर बन्न सक्छ, ५ नम्बर क्षेत्रमा किन बन्न सक्दैन ? त्यो बन्न नसकेको होइन, बनाउन नचाहेको हो । त्यसकारण यस्ता थुप्रै विषयलाई हामी पूरा गर्ने गरी अगाडि बढ्छौं ।

तपाईको कुरा सुन्दा ५ नम्बर क्षेत्रको कुना–काप्चामा पुगिसक्नुभएको जस्तो सुनिन्छ ! तर कतिपयले तपाईंलाई टुरिस्ट उम्मेदवार भन्छन् नि ?

टुरिस्टहरू भन्नेसँग म बस्न चाहन्छु । उहाँहरूले यो क्षेत्रको समस्या बुझ्नुभएको छ कि मैले ? टुरिस्ट नभएको भए यति लथालिंग हुन्थ्यो ! उहाँहरू टुरिस्ट नै भएर यति लथालिंग भएको हो नि ! मलाई टुरिस्ट भन्नेहरूभन्दा म अगाडि काठमाडौं आएको हो । ५–६ पटक चुनाव लडेपछि पहिलो पटक चुनाव लड्दा सम्झिनुपर्‍यो नि ! कतै जमानत जफत भएपछि यहाँ चुनाव लड्नुभएको होइन ! त्यसैले आफू कुन ठाउँमा छु, त्यो विगत बिर्सिएर भन्न मिल्दैन नि ! कुनै नागरिक आफ्नो राजधानीमा टुरिस्ट हुन्छ ? यस्तो सानो बुझाइ हुने मानिसले राजनीति गर्न सक्छ ? यो मेरो जमिन होइन, म नेपालीको छोरो होइन ! मेरो जमिनमा उभिंदै गर्दा टुरिस्ट भन्ने ! यस्तो पनि नेता हुन्छ !

मैले बूढानीलकण्ठ मन्दिर गएर हेरें । पहिला पनि दर्शन गर्न जान्थें । बूढानीलकण्ठ मन्दिर यति अद्भुत रहेछ विष्णुको मूर्ति उत्तानो परेर सुतिरहेको छ । उत्तानो परेर सुतिरहेको छायाँ पूरै पानीमा देखिन्छ । बेरिएको सर्पको आकृति देखिन्छ । त्यसलाई बद्रीनाथ र केदारनाथ पनि भनिंदो रहेछ । त्यस्तो अद्भुत तीर्थस्थल अहिलेसम्म विश्व सम्पदा सूचीमा छैन । कसले नगरेको हो ?

त्यसैगरी, सुरक्षित पैदल यात्रा शिवपुरीमा गर्न सकिन्छ । मानिसलाई यहाँ हिंड्ने पार्क छैन । त्यसलाई व्यवस्थित कसले नगरेको ? धेरै सार्वजनिक जग्गा छन् । त्यसलाई पार्क कसले नबनाएको ? बालबालिका तथा ज्येष्ठ नागरिकलाई किन पार्क नबनाएको ? करिडोर व्यवस्थित गर्दा मात्रै रिङरोडको ट्राफिक समस्या केही हदसम्म हल हुनसक्छ । पटक–पटक चुनाव जितेर ती कामहरू किन नगरेको ? विष्णुमतीको पानी हातमा लिएर तर्पण दिनु हाम्रो संस्कृति होइन ! त्यसमाथि प्रहार कसले गरेको ? यहाँ मन्दिर मन्दिर जोडेर धार्मिक पदयात्रा गर्न सकिन्छ ।

हाँडीगाउँ, टोखा नेपालको सबैभन्दा प्राचीन शहर हो । नेवारी सभ्यताको मुख्य ठाउँ हो । २ हजार वर्ष पहिलाको शिलालेख त्यहाँ भेटिन्छ । त्यसलाई विकसित कसले नगरेको ? ७७ जिल्लाको आमनागरिक यो क्षेत्रमा बस्नुहुन्छ । यहाँ देशभरिको सभ्यता, संस्कृति छ । यो देशको ऐना हो । त्यसैले यो समाजलाई मिलाएर, व्यवस्थापन गरेर आम नागरिकलाई सुखी बनाउने काम कसले नगरेको ? त्यसकारण हामीले यी कुराहरू धेरै उठाएका छौं ।

अहिले हेर्दा तपाईंको मुख्य प्रतिस्पर्धा ईश्वर पोखरेलसँग हुने देखिन्छ । अन्य वैकल्पिक, स्वतन्त्र भन्ने पनि उम्मेदवार आएका छन् । तपाईभन्दा पनि ‘फ्रेस’ युवा आएका छन् । यो कुरालाई तपाईंले कसरी बुझ्नुभएको छ ? कति युवाको लगाव र कति आफ्नो लागि थे्रटको रूपमा बुझ्नुभएको छ ?

निर्णय, विवेक मतदाताले गर्ने हो । ५ नम्बर क्षेत्रका मतदाताहरूप्रति विश्वस्त छु । मत हाल्ने बेलामा उहाँहरू गम्भीर हुनुहुनेछ । कामको मूल्यांकन गर्नुहुनेछ । निष्ठालाई जोगाउनुहुनेछ । हामीले प्रस्तुत गरेका मुद्दा पनि उहाँहरूले हेर्नुहुनेछ । हामीले पहिलो पटक प्रतिबद्धता व्यक्त गरेर निर्वाचन लडिरहेका छौं । हाम्रो प्रतिबद्धतामा चरणहरू तय गरेका छौं । तर्कहरू प्रस्तुत गरेका छौं । त्यसैले हाम्रा प्रतिबद्धता विश्वसनीय छन् । त्यसमाथि म एकैपटक नेपाली कांग्रेसको टिकट लिएर यहाँ आएको होइन । मेरो सार्वजनिक जिम्मेवारीमा पुग्ने मौका नपाएको पनि लामो विगत छ । त्यो विगतलाई पनि मतदाताले नियाल्नु हुनेछ ।

म पार्टीभित्र बसेर वैकल्पिक राजनीतिको वकालत गरेको व्यक्ति हुँ । पार्टी पनि सुधार्नुपर्छ देशलाई पनि प्राथमिकताको आधारमा जनताको स्वार्थलाई हेर्ने गरी एजेण्डा बन्नुपर्छ । बेथितिका विरुद्ध लड्ने प्रयास गरेको मानिस हुँ । त्यसैले, ती आधारमा विवेकी जनताले मूल्यांकन गर्नुहुनेछ भन्ने मेरो विश्वास छ ।

अब प्रतिस्पर्धा कोसँग हुन्छ भन्ने सन्दर्भमा विगतको कामसँग असन्तुष्टि भएकाहरूसँग प्रतिस्पर्धा हुन्छ भन्ने लाग्दैन । अनि, स्वतन्त्र साथीहरूको बारेमा मेरो आग्रह के हो भने उहाँहरूले वैकल्पिक विषय तथा व्यवहारलाई राजनैतिक बनाउँदा आम दबाव सिर्जना गर्‍यो । त्यसलाई म सकारात्मक रूपमा लिन्छु । तर, स्वतन्त्र प्रवेश गर्दा एक्लै प्रवेश गर्नुहुन्छ, एक्लै संसदमा प्रवेश गरेर यी तमाम विषय रोक्न सकिंदैन । त्यसैले पार्टीको उम्मेदवार भएको कारणले विमति, सहमति हुनसक्छ । तर, संगठित स्वरुप हामीले निर्माण गर्न सक्छौं । यथास्थितिलाई बदल्नका निम्ति हामीले प्रयास गर्न सकिन्छ ।

यो बहुदलीय संसदीय प्रणाली भएकाले त्यही रूपमा छिर्नुपर्छ भन्ने भनाइ हो तपाईंको ?

हो, त्यही रूपले नै छिर्नुपर्छ । साथीहरूले उठाउनुभएको मुद्दाप्रति म सहमत छु । हामीले पनि त्यस ढंगकै मुद्दा प्रस्तुत गरिरहेका छौं । त्यसैले सम्पूर्ण स्वतन्त्र साथीहरूको मुद्दा बोकेर म अगाडि बढ्न चाहन्छु ।

तपाईंको पार्टीभित्रको आन्तरिक विवाद चुनावमा पनि छरपस्ट भएको देखियो । उम्मेदवार पनि आफ्नो क्षेत्रभन्दा अन्यत्र नफैलिने, यतिबेला तपाईंको क्षेत्रमा गगन थापा, गगनको क्षेत्रमा तपाईं गएर बोलेको, विश्वप्रकाश चन्द्र भण्डारीकोमा गएर बोलेको देखिनुपर्ने हो नि ? चिह्न चाहिं तपाईंहरूको एउटै, मन चाहिं चारैदिशा फर्किएको हो ? 

मेरो उम्मेदवारी पछि निर्णय भएको कारणले धेरै काम गर्नुपर्नेछ । त्यसकारण अन्यत्र जाने कुरा त्यति सहज भइरहेको छैन । अहिले आमसभा, कोणसभा कम भइरहेको छ । घरदैलो नै बढी छ । पहिला–पहिलाको निर्वाचनको जुन अभ्यास थियो, अहिले फेरिएका छन् । भीडभाड, सभा जस्ता काम अहिले घटेको जस्तो देखिन्छ । जुलूस, सभा नगरेसम्म अन्यत्रै गएर उम्मेदवारको पक्षमा गएर बोलिने ठाउँ हुँदैन । डिजिटल माध्यमबाट बोलिन सकिन्छ । तर, यो काम हामीले गर्दैछौं । हामी सबै मिलेर संसदमा जानुपर्छ भन्ने नै छ । हाम्रो संयुक्त बलले नै परिवर्तन गर्ने हो । तर, एकअर्काको सहयोगी बन्न सकिरहेका छैनौं । हामी पार्टीका उम्मेदवार हौं, क्षेत्रले कार्यक्रम बनाउँछ । त्यही कार्यक्रमलाई लिएर हामी हिंड्नुपर्छ । हाम्रो निर्वाचन परिचालन समिति छ । त्यो परिचालन समितिले विभिन्न रुटिन बनाएको छ ।

चुनाव पनि एक खालको लडाइँ हो । लड्न जाने सिपाही मरिन्छ वा जितिन्छ भनेर लगिन्छ । तपाईंले पक्कै जितिन्छ भन्ने कल्पना गर्नुभएको छ । यदि, जितियो भने कति अन्तरले जितिन्छ ?

चुनाव भनेको हामीले तमाम बेथितिका विरुद्ध गरिने आन्दोलन हो भनेर बुझ्नुपर्छ । क्रान्ति, संघर्ष गरेर परिवर्तन गर्ने भन्दा पनि निर्वाचनबाट नै परिवर्तन गर्नुपर्छ । त्यसैले मत लिनेहरूले विश्वास गुमाए । मत लिनेहरूले घात गरे । तर, दिनेहरू पनि जति गम्भीर हुनुपर्ने हो त्यति नहुनुभएको हो कि ! यो पनि एउटा प्रश्न छ । निर्वाचनमा म यतिले जित्छु भनेर जनताको विवेक प्रयोग गर्ने स्वतन्त्रतालाई हनन् गर्न चाहन्नँ । मैले जित्छु, यसकारण कि मसँग प्रष्ट मुद्दाहरू छन् । मसँग फिगर विगत छ । मप्रति विश्वास भएको मैले महसुस गरेको छु । तर, यो जनताको विवेकको कुरा हो । त्यसकारणले उहाँहरूले विवेक प्रस्तुत गर्दा निष्ठा जोगिने गरी गर्नुहुन्छ भन्ने मेरो विश्वास छ ।

राजनीतिबाट टाढिएर समाज परिवर्तन हुँदैन । आम मतदाताले खोजेको कुरा प्राप्त हुन सक्दैन । राजनीतिसँग जोडिएर राजनीतिभित्रको विकृति अन्त्य गर्ने गरी सहभागी हुँदा सफा गर्न सकिन्छ । त्यस आधारमा निर्वाचनमा उम्मेदवार सबै खराब छन् भन्ने पनि होइन । त्यसलाई गहिरोसँग बुझेर आफ्नो अभिमत दिनुहुन अनुरोध गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?