+
+
उम्मेदवार प्रोफाइल :

कम्फर्ट जोनमा योगेश भट्टराई

योगेश भट्टराईको राजनीतिक गतिका निम्ति आउँदो ४ मंसिरको चुनाव महत्वपूर्ण बन्ने देखिन्छ । नेकपा (एमाले) असहज परिस्थितिमा सत्ता गठबन्धन विरुद्ध चुनावी मैदानमा उत्रिएको छ । यस्तो बेला हुने हार–जितले नेताहरूको व्यक्तिगत राजनीतिमा खास अर्थ राख्छ नै ।

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १ गते १९:११

नेकपा एमालेका सचिव योगेश भट्टराई मनोनयन दर्ता गर्ने अन्तिम समयसम्म पनि कहाँबाट चुनाव लड्छन् भन्ने निश्चित थिएन । ताप्लेजुङ एमालेले उनको नाम एकल रूपमा सिफारिश गरेको थिएन । उनलाई झापा–१ मा टिकट दिइँदैछ भन्ने चर्चा पनि थियो, एमाले वृत्तमा ।

२०७४ मा जितेको आफ्नै गृह जिल्ला ताप्लेजुङ ताकेर बसेका भट्टराई आफैं पनि अन्योलमा थिए । किनकि, पार्टी अध्यक्ष केपी शर्मा ओलीले २१ भदौको सचिवालय बैठकबाट टिकट वितरणको अधिकार लिएका थिए ।

अन्तिम समयमा ताप्लेजुङकै टिकट पाए । एउटै निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा ११ जनाको उम्मेदवारी परे पनि योगेश भट्टराईको प्रतिस्पर्धा नेकपा (माओवादी केन्द्र)का खेलप्रसाद बुढाक्षेत्रीसँग हुने देखिएको छ ।

२०७४ को चुनावमा वाम गठबन्धनबाट भट्टराईलाई जिताउन खटिएका बुढाक्षेत्री यसपटक सत्ता गठबन्धनको साझा उम्मेदवार छन् ।

टिकेर खेल्ने रहर

योगेश भट्टराई एमालेमा दोस्रो पटक सचिवको हैसियतमा छन् । पार्टी संस्थागत रूपमा चल्ने हो भने उनी टिकट वितरण गर्ने निकायकै नेता हुन् ।

४८ वर्षे उमेरमा २०७१ को आठौं महाधिवेशनबाट उनी एमाले सचिवमा निर्वाचित हुँदा अरू दललाई समेत दबाव परेको थियो । भट्टराईको राजनीतिक पृष्ठभूमिका कारण उनलाई एमाले नेतृत्वको सम्भावित नेताका रूपमा पनि हेरियो ।

२०३७ मा अखिलको साधारण सदस्य बनेका उनी २०४६ सालमा केन्द्रीय सदस्य भए । महेन्द्ररत्न क्याम्पस ताहाचलको स्ववियु सभापति रहेको बेला पञ्चायतविरोधी आन्दोलनका क्रममा जेल परे । केपी ओलीलाई उनले जेलमै भेटे ।

२०५१ मा अखिलको केन्द्रीय अध्यक्ष भए भट्टराई । मदन भण्डारीको जिल्ला ताप्लेजुङका उनी अखिल अध्यक्षको रूपमा खेलेको भूमिकाबाट राष्ट्रिय राजनीतिमा चिनिए । भारतले ६२ ठाउँमा सीमा मिचेको प्रतिवेदन तयार पार्नेदेखि कालापानी मार्च गर्नेसम्मको गतिविधिमा नेतृत्व गरे उनले त्यो बेला ।

२०६२-६३ को जनआन्दोलनताका भट्टराई उपत्यका कमिटी सचिवको रूपमा सक्रिय भए । २०६४ र २०७० को निर्वाचनमा भने उनी काठमाडौं-६ मा पराजित भएर दुवै ऐतिहासिक संविधानसभामा पुग्न सकेनन् ।

पार्टीमा भने उनको प्रगति रोकिएन । आठौं महाधिवेशनबाट केन्द्रीय सदस्य र नवौं महाधिवेशनबाट सचिवमा निर्वाचित भए । त्यसबेला माधवकुमार नेपाल नेतृत्वको समूह बनाउने नेतामध्ये उनी एक थिए ।

२०७४ मा नेकपा (माओवादी केन्द्र)सँग चुनावी तालमेल र त्यसलगत्तै पार्टी एकता भएपछि भने भट्टराईको राजनीतिक भूमिका खुम्चियो । वाम तालमेलकै लाभ उठाएर प्रतिनिधिसभा सदस्य जिते पनि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा उनी स्थायी कमिटी सदस्य मात्र रहे ।

नेकपा विभाजन हुँदा योगेश भट्टराईले पार्टी र संसदीय मोर्चामा ठूलै क्षति बेहोर्नु पर्‍यो । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीबाट राजिनामा दिए ।

गत वर्ष माधवकुमार नेपालले एमालेबाट अलग एकीकृत समाजवादी बनाउँदा भने उनी पार्टी विभाजनको विपक्षमा उभिए । १० बुँदे सहमति गरेर ओलीसँगै बसेका उनले १०औं महाधिवेशनमा बढुवा पाएनन् । ओलीले प्रस्ताव गरेको पुरानै सचिव पदमा बसे ।

नवौं महाधिवेशनमा सचिवमा पराजित विष्णु रिमाल १०औं महाधिवेशनमा उपमहासचिव बने । पदाधिकारीको वरीयतामा पनि भट्टराईलाई सातमध्ये छैटौंमा राखियो । यही कारण मनोनयनको अघिल्लो दिनसम्म पनि उनको उम्मेदवारीबारे अन्योल थियो ।

तुलनात्मक सहजता

योगेश भट्टराईको राजनीतिक गतिका निम्ति आउँदो ४ मंसिरको चुनाव महत्वपूर्ण बन्ने देखिन्छ । नेकपा (एमाले) असहज परिस्थितिमा सत्ता गठबन्धन विरुद्ध चुनावी मैदानमा उत्रिएको छ । यस्तो बेला हुने हार–जितले नेताहरूको व्यक्तिगत राजनीतिमा खास अर्थ राख्छ नै ।

गत स्थानीय चुनावको नतिजा र प्रतिस्पर्धी उम्मेदवारको राजनीतिक वरीयता हेर्दा भट्टराई तुलनात्मक रूपमा अनुकूल अवस्थामा देखिन्छन् । फेरि एमालेको बलियो पकड रहेको जिल्ला पनि हो, ताप्लेजुङ ।

स्थानीय तहको गत चुनावमा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतमा सत्ता गठबन्धनका दलहरूको मत जोड्दा पनि एमाले नै अगाडि छ । उक्त निर्वाचनमा एमालेले २४ हजार २९५ भोट पाएको छ भने माओवादीले ४ हजार ४९७ ।

२०६४ को माओवादी लहरमा समेत ताप्लेजुङमा एमाले विजयी भएको थियो । २०७४ मा एमालेसँग तालमेल हुँदा पहिलोपटक प्रदेश सभा सदस्य जितेका माओवादी केन्द्रका टंक आङ्बोहाङ पनि अहिले एमालेमै छन् ।

कांग्रेसका शुभेच्छुक–समर्थकको सबै मत बुढाक्षेत्रीले पाए र एमालेको मत जोगाउन पनि सकेनन् भने चाहिं योगेश भट्टराईको विजय खतरामा पर्न सक्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?