+
+

शृंखला जित्न नेपालले पायो १७७ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २ गते १२:४१

२ मंसिर, काठमाडौं । युएईसँगको शृंखलाअन्तर्गत तेस्रो तथा निर्णायक एकदिवशीय अन्तर्राष्ट्रिय खेलमा नेपालले १७७ रनको लक्ष्य पाएको छ । यसअघिका दुई खेलमा १–१ को बराबरी रहेकाले यो खेलको विजेताले दुईदेशीय शृंखला जित्नेछ ।

आयान खान र हजरत विलालले अन्तिम विकेटका लागि ८३ रनको अविजित साझेदारी गरेपछि टस हारेर ब्याटिङ गरेको युएईले निर्धारित ओभरमा ९ विकेट गुमाएर १७६ रनको योगफल खडा गरेको हो ।

खराव सुरुवात गरेको युएईमाथि नेपालका बलरहरुले दवाव राखेका थिए । ३१.१ ओभरमा ९३ रनको स्कोरमा नवौं विकेट गुमाएको युएईलाई एक सय रनको योगफल बनाउन पनि कठिन हुन थालेको थियो ।

तर, आठौं नम्बरमा आएका आयन खान र एघारौं नम्बरमा आएका हजरतले पूरा ओभर खेलेर युएईलाई सम्मानित अवस्थामा पुर्याए ।

आयनले ६३ बलमा खेलेर ७ चौका र १ छक्कासहित ५४ रनको अर्धशतकीय पारी खेले । हजरतले ५४ बलमा २० रन बनाए ।

अन्तिम विकेटका लागि यो साझेदारी इतिहासकै चौथो सर्वाधिक साझेदारी हो । सन् १९८४ मा भिभियन रिचर्ड र माइकलले वेष्ट इण्डिजका लागि इंग्ल्याण्डविरुद्ध अन्तिम विकेटमा १०६ रनको कीर्तिमानी साझेदारी गरेका थिए ।

यसअघि सुरुवाती तीन विकेट सस्तैमा गुमाएको युएईका लागि रोहन मुस्तफाले २४ तथा अलिसन शराफुले ३३ रन जोडे । यी दुईले चौथो विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए ।

७ जना बलर प्रयोग गरेको नेपालका लागि गुल्सन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले २–२ विकेट लिए । सोमपाल कामी र ललित नारायण राजवंशीले १–१ विकेट लिए ।

तीन खेलको शृंखलाको पहिलो खेलमा युएई ८४ रनले विजयी भएको थियो भने दोस्रो खेलमा नेपालले ३ विकेटको जित निकालेको थियो ।

तस्वीरः विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?