+
+

बालाचतुर्दशी मनाउनेहरुको पशुपतिमा घुइँचो

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ५ गते ७:४८

५ मंसिर, काठमाडौं । बालाचतुर्दशीको अघिल्लो दिन पितृका नाममा बत्ती बाल्नेहरुको पशुपतिनाथ मन्दिर परिसरमा घुइँचो लागेको छ ।

आज त्रयोदशीको बिहानदेखि भेला भएका भक्तजनले बेलुकी विधिपूर्वक पितृका नाममा बत्ती बाल्छन् । त्रयोदशीको बेलुकीदेखि दिवंगत पितृका नाममा अखण्ड महादीपदान गरी बसेका भक्तजनले चतुर्दशीको बिहान पितृको सद्गतिको कामना गर्दै सतबीज छर्छन् ।

पशुपति क्षेत्र विकास कोषले महादीपदान गर्न आउने भक्तजनसँग कुनै शुल्क नउठाइने स्पष्ट पारेको छ । सोमबार रातभर दीपदान गरी बसेका भक्तजनले मंगलबार बिहानै पितृको चिरशान्तिको कामना गर्दै धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिसाएर पशुपति क्षेत्र वरपर छर्छन् ।

एक सय आठ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा सतबीज छर्ने गरिन्छ । सतबिज छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पुर्‍याउन अनुरोध गरिन्छ ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिनाथमा आउँछन् । यसरी आएका श्रद्धालु भक्तजनको मार्गशीर्ष कृष्ण त्रयोदशीको बिहानैदेखि पशुपति क्षेत्रमा भीड लाग्ने गर्छ । बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लाग्ने गरेको हो ।

जाडोको मौसम भएकाले उनीहरुलाई पाललगायत व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपति क्षेत्रमा सोमबार बिहानैदेखि सुरक्षाकर्मी लगायतको बाक्लो उपस्थिति रहने गरी व्यवस्था मिलाइएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?