+
+

सुदूरपश्चिमका १३ क्षेत्रमा मतगणना जारी, कहाँ कसको अग्रता ?

जनक विष्ट जनक विष्ट
२०७९ मंसिर ६ गते ०:१३

६ मंसिर, धनगढी । सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभाका १६ मध्ये १३ निर्वाचन क्षेत्रमा मतगणना जारी छ । कैलालीसहित प्रदेशका ७ जिल्लाका १३ क्षेत्रमा सोमबार दिउँसोदेखि मतगणना भइरहेको हो ।

सबै क्षेत्रमा प्रारम्भिक मतपरिणाम आउने क्रम जारी छ । अहिलेसम्मको नतिजाअनुसार प्रदेशका सत्तारुढ गठबन्धनले ८ क्षेत्रमा अग्रता लिएको छ । कैलाली-४, कञ्चनपुर- २ र ३ अछाम-१ र २, दार्चुला, बैतडी, डडेल्धुरा र डोटीमा सत्तारुढ गठबन्धनका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् ।

कैलाली-४ मा एमालेका लेखराज भट्टलाई पछि पार्दै कांग्रेसका वीरबहादुर बलायरले अग्रता लिएका छन् । बलायरले २ हजार ३४० मतसहित अग्रता लिँदा भट्टले २ हजार ३०३ मतसहित पछ्याइरहेका छन् । कञ्चनपुर- २ मा नेपाली कांग्रेसका एनपी साउदले अग्रता लिएका छन् । तीन हजार १५८ मतको गणनामा साउदले १ हजार ३२७ मत पाएका छन् भने निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका नरबहादुर धामीले १ हजार २०९ मत प्राप्त गरेका छन् ।

कञ्चनपुर-३  मा कांग्रेसकै रमेश लेखक ३ हजार ४०९ मत सहित अग्रता कायम राखेका छन् । उनलाई नेकपा एमालेकी निरुदेवी पालले २ हजार २६ मत प्राप्त गर्दै पछ्याइरहेकी छन् । दार्चुलामा पनि कांग्रेसका दिलेन्द्रप्रसाद बडुले ४५३ मतसहित अग्रता लिएका छन् । बडुलाई एमालेका गणेशसिंह ठगुन्नाले ३२६ मतसहित पछ्याइरहेका छन् ।

डडेल्धुरामा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा अघि छन् । उनले दुई हजार ७५६ मत प्राप्त गरेर अग्रता कायम राख्दा स्वतन्त्र उम्मेदवार सागर ढकालले एक हजार ५२४ मत ल्याएका छन् ।

डोटीमा भने सत्तारुढ गठबन्धनकै नेकपा (एकीकृत समाजवादी) का प्रेमबहादुर आलेको अग्रता छ । आलेले ६२२ मत प्राप्त गरेर अग्रता लिँदा एमालेकी गौरी ओली ३३२ मतसहित दोस्रो स्थानमा छन् । उता अछाम- १ मा नेकपा (एकीकृत समाजवादी) का शेरबहादुर कुँवरले एक हजार ९३१ मतसहित अग्रता कायम राख्दा नेकपा एमालेका झपट बोहराले एक हजार ४५० मत प्राप्त गरेका छन् ।

अछाम- २ मा नेपाली कांग्रेसका पुष्पबहादुर शाह २ हजार ४१६ मतसहित अघि छन् । शाहलाई पछ्याइरहेका नेकपा एमालेका यज्ञबहादुर बोगटीले एक हजार ९२३ मत पाएका छन् ।

कैलालीका तीन क्षेत्रमा भने नागरिक उन्मुक्ति पार्टीले मतगणनाको सुरुवातदेखि अग्रता लिइरहेको छ । क्षेत्र नम्बर १ मा पार्टीकी अध्यक्ष पनि रहेकी रेशम चौधरी पत्नी रन्जिता श्रेष्ठले सुरुदेखि अग्रता लिइरहेकी छन् । उनले एक हजार ८५७ मत पाउँदा प्रतिद्वन्द्वी कांग्रेसका रामजनम चौधरीले एक हजार १९९ मत प्राप्त गरेका छन् ।

यस्तै कैलाली-२ मा नागरिक उन्मुक्तिका अरुण चौधरीले २८१ मतसहित अग्रता लिएका छन् । उनलाई माओवादी केन्द्रका भगत बडुवालले ९४ मतसहित पछ्याइरहेका छन् । कैलाली-३ मा पनि उन्मुक्ति पार्टीकै गंगा चौधरीको अग्रता छ । उनले दुई हजार ८३५ मत पाउँदा माओवादी केन्द्रका कृष्ण चौधरीले एक हजार ८८३ मत पाएका छन् ।

कञ्चनपुर-१ र बैतडीमा भने नेकपा एमालले अग्रता लिएको छ । कञ्चनपुर १ मा नेकपा एमालेका तारा लामा तामाङले एक हजार ७१ मत प्राप्त गरेर अग्रता कायम राख्दा माओवादी केन्द्रकी बिना मगरले ४५९ मत प्राप्त गरेकी छन् ।

बैतडीमा एमालेका दामोदर भण्डारीले एक हजार ८० मतसहित अग्रता लिएका छन् । उनलाई पछ्याइरहेका माओवादी केन्द्रका नरेन्द्र कुँवरले सात सय ८५ मत ल्याएका छन् । अहिले पनि यी क्षेत्रमा मतगणना जारी छ ।

यी बाहेक कैलाली क्षेत्र नम्बर ५, बझाङ र बाजुरामा मतगणना भएको छैन ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?