२८ कात्तिक, चरिकोट । कांग्रेसको शेरबहादुर देउवा नेतृत्वको समूहका १५ औँ नियमित महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले पार्टी एकताबाट मात्रै लोकतन्त्रको रक्षा सम्भव भएको बताएका छन् ।
शनिबार देउवा पक्षको दोलखा जिल्ला अधिवेशन उद्घाटन गर्दै कोइरालाले कांग्रेसको एकताबाट मात्रै देशको समुन्नति, लोकतन्त्र र राष्ट्रिय स्वाभिमानको रक्षा सम्भव हुने बताएका हुन् ।
आफ्नो प्रमुख ध्येय कांग्रेसलाई एकताबद्ध बनाउनु नै रहेको उनले बताए । त्यसका लागि सबै नेता तथा कार्यकर्ताले आ–आफ्नो ठाउँबाट इमानदार प्रयास गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा नेता एनपी साउदले पार्टीका मूल्य, मान्यता र आदर्शलाई संरक्षण गर्दै वर्तमान आन्तरिक अन्तरद्वन्द्वको राजनीतिक रूपमा व्यवस्थापन र समाधान गर्नुपर्ने बताइ । वैधानिकताको विषयमा आफूहरूले न्याय पाउने उनले विश्वास व्यक्त गरे ।
अर्का नेता मोहनबहादुर बस्नेतले गगन थापाले विधिसम्मत प्रक्रियाभन्दा बाहिर गएर अरूको उक्साहटमा पार्टी कब्जा गर्ने प्रयास गरेको आरोप लगाए ।
शिवप्रसाद हुमागाईंले पार्टी एकताको अपरिहार्यतामाथि जोड दिँदै आपसी समझदारी र सहकार्यबाट अघि बढ्नुपर्ने धारणा राखे ।
समारोहमा कुन्दनराज काफ्ले, भूपेन्द्र राई, राजु श्रेष्ठलगायत नेताले पनि सम्बोधन गरेका थिए ।
प्रतिक्रिया 4