
७ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले तडक भडक नगर्ने बताएकी छन् ।
अधिक संयमका साथ निर्वाचन क्षेत्रका केही ठाउँमा जम्मा हुने, चौतारीमा बसेर गफ गर्ने र मोटरसाइकल र्याली ननिकाल्ने उनले बताएकी छन् ।
सामाजिक सन्जालमा उनले लेखेकी छन्, ‘अहिले बिहान ८ बजे एकैछिनका लागि हामी निर्वाचन कार्यालय थलीमा जम्मा हुँदैछौं । चौतारीमा बसेर गफ गर्नेछौं ।’
उनले प्रतिस्पर्धी र फरक मत राख्नेहरुको आत्मसम्मानमा ठेस लाग्ने गरी कुनै वक्तव्य नदिने पनि उल्लेख गरेकी छन् । उनी अगाडि लेख्छिन्, ‘आम सर्वसाधारणलाई असहज हुनेगरी हामी ठूलो तडक–भडक गर्नेछैनौं, मोटरसाइकल र्याली गर्ने, हर्न बजाउने आदि कृत्य गर्ने छैनौं ।
अधिक संयमका साथ हामी हाम्रो निर्वाचन क्षेत्रका केही ठाउँमा जम्मा हुनेछौं र सबैजनालाई धन्यवाद दिनेछौं । प्रतिस्पर्धी साथीहरु तथा फरक मत राख्ने मतदाताको आत्मसम्मानमा ठेस लाग्ने गरी कुनै वक्तव्य दिनेछैनौं ।’
आज बिहान ११ बजे म्याजेस्टिक ब्यांक्वेट जडीबुटीमा पत्रकार सम्मेलन गर्ने जानकारी पनि गौतमले दिएकी छन् ।
काठमाडौं क्षेत्र नम्बर २ मा सोविता गौतम १५ हजार २२९ मत ल्याएर विजयी हुँदा पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्तीमगर चौथो स्थानमा रहिन् ।
दोस्रो भएका नेकपा एमालेका उम्मेदवार मणिराम फुयालले ११ हजार ५५५ मत पाए । राप्रपाका उम्मेदवार कुन्तीदेवी पोखरेलको पक्षमा ११ हजार १४ र ओनसरीको पक्षमा ९ हजार ४४९ मत पर्यो।
प्रतिक्रिया 4