
७ मंसिर, काठमाडौँ। चीनले नेपालमा रिक्त रहेको राजदूत पदमा चिनियाँ विदेश मन्त्रालयको एसिया विभागका उपमहानिर्देशक छन् सोङलाई पठाउने भएको छ ।
नेपालका लागि पूर्व राजदूत होउ यान्छीले आफ्नो चार वर्षे कार्यकाल सकाएर गत २५ अक्टोबरमा स्वदेश फर्किएपछि चीनले नयाँ राजदूतका रूपमा छन्लाई काठमाडौं पठाउन लागेको हो ।
चीनले राजदूतमा कूटनीतिज्ञ छन् सोङलाई नियुक्त गर्ने चर्चा भएपनि नेपाललाई एग्रिमोका लागि गरेको औपचारिक जानकारी गराएको छैन । परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार बेइजिङस्थित नेपाली राजदूतावासलाई भएको अनौपचारिक जानकारी बाहेक अहिलेसम्म कुनै औपचारिक जानकारी वा पत्र भने आइपुगेको छैन ।
‘उहाँ हाम्रो मुलुकका लागि परिचित कूटनीतिज्ञ नै हुनुहुन्छ । तर अहिलेसम्म हामीलाई कुनै औपचारिक पत्र वा जानकारी भने आइपुगेको छैन,’ परराष्ट्र उच्च स्रोतले अनलाइनखबरसँग भन्यो ।
नियुक्त भएका भनिएका कूटनीतिज्ञ छन् हाल चीनको विदेश मन्त्रालयअन्तर्गत रहेको एसिया मामिला विभागमा रहेका पाँच जना उपमहानिर्देशकमध्ये एक हुन् । उनले नेपाल र अफगानस्तानसहित दक्षिण एसियाली मुलुकहरू हेर्दै आइरहेका छन् ।
चिनियाँ विदेश मन्त्रालयको विदेश मामलाको महानिर्देशकको जिम्मेवारीमा लिउ चिनसङ छन् । त्यस्तै पाँच जना उपमहानिर्देशकमा शेन मिन्चुवान (महिला), छन् सङ, पाङ हङ (महिला), छन् शाओछन र लियाङ जियान्जुन रहेका छन् ।
राजदूत यान्छीले सन् २०१८ को डिसेम्बरदेखि चार वर्षसम्म नेपालमा राजदूतका रूपमा काम गरेकी थिइन् । उनको कार्यकालमा सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिनपिङले राजकीय नेपाल भ्रमण गरेका थिए । त्यसबाहेक उनको कार्यकालमा नै नेपाल र चीनबीच महत्वपूर्ण सम्झौता र भ्रमणहरू समेत भएका थिए ।
गएको अक्टोबरमा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) को २०औं महाधिवेशनपछि चीनले नेपालमा नयाँ राजदूत पठाउन लागेको हो ।
प्रतिक्रिया 4