+
+

लमजुङबाट प्रदेश सभामा कांग्रेसका पौडेल निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते ०:४९

८ मंसिर, लमजुङ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा लमजुङ प्रदेश सभा ‘२’ मा नेपाली कांग्रेसका भेषबहादुर पौडेल निर्वाचित भएका छन् ।

पौडेलले ७ सय ५४ मतान्तरले नेकपा एमालेका कृष्णप्रसाद अधिकारीलाई हराउँदै निर्वाचित भएका हुन् । पौडेलले १९ हजार ५५७ मत पाएका छन् । एमालेका अधिकारीले १८ हजार ८०४ मत पाएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए ।

मतगणनाको सुरुवातदेखि बुधबार दिउँसोसम्म एमालेका अधिकारी अगाडि रहेपनि अन्तिममा बेंसीशहर नगरपालिकाको मतगणना गर्दा पौडेल अगाडि आएका हुन् ।

आफ्नै पालिकाको मत परिणामले उनको जित निश्चित भयो । बेंसीशहर नगरपालिका ७ का पौडेल नेपाली कांग्रेस लमजुङका पूर्व सभापति हुन् । उनी व्यवसायीको रुपमा परिचित छन् । शालिन, मिलनसार र सरल स्वभावको उनलाई सबैले राम्रो व्यक्ति मान्छन् । आफ्ना पार्टीका मात्र नभएर विपक्षी पार्टीका नेता, कार्यकर्ताले पनि उनको प्रशंसा गर्ने गर्छन् ।

प्रदेश सभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका ततबहादुर गुरुङले १ हजार ९ सय ५७, मंगोल नेशनल अर्गनाइजेशनका राज गुरुङले ३ सय १४, जनता समाजवादी पार्टी नेपालका युवराज दुराले २ सय ४१ मत र नेपाली कांग्रेस (वीपी) का नवराज बसौलाले १ सय ४५ मत पाएका छन् ।

कुल ४१ हजार ८ सय ५७ मतमा ४१ हजार १७ सदर र ८ सय ४० बदर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?