+
+

‘जनताले लगाइदिएको सिन्दुर गर्विलो हुँदो रहेछ’

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते १८:३५

८ मंसिर, विराटनगर। नेकपा माओवादी केन्द्रका ३६ वर्षीय केन्द्रीय सदस्य जीवन आचार्यको नाम अगाडि थपिने शब्द हो ‘प्रचण्डको ज्वाइँ’ । पार्टी भित्र आफ्नो पहिचान बनाउन संघर्ष गरिरहेका आचार्य आफ्नो पहिचान ज्वाइँ मात्रै नभएको बताउथें ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको छोरा प्रकाशको निधनपछि आचार्यले उनको छोराको भूमिका पनि निर्वाह गरिरहेका छन् ।

बिहीबारबाट भने उनले आफ्नो परिचय फेरेका छन् । मोरङ क्षेत्र नम्बर-६ को १ बाट प्रदेशसभा सदस्यमा जनताले अनुमोदन गरेपछि नामको अगाडि बारम्बार जोडिने शब्द फेरेका हुन् । ‘जनताले लगाइ दिएको सिन्दुर गर्विलो हुदो रहेछ,’ जितपछि अनलाइनखबरसँग उनले भने, ‘जिम्मेवारी पनि थपिएको छ ।’

आचार्य माओवादी केन्द्रको मनोनित केन्द्रीय सदस्य हुन् । दोस्रो प्रयासमा सांसद चुनिएका उनी जनतासँगै बसेर काम गर्ने बताउँछन् । २०७४ सालको निर्वाचनमा उनी बाम गठबन्धनबाट उम्मेदवार बनेका थिए । तर कांग्रेस उम्मेदवार चुमनारायण तबदारसँग पराजित भए ।

तबदारले २३ हजार ५ सय १३ मत प्राप्त गर्दा आचार्यले २१ हजार ४७० मत पाएका थिए । यो पटक भने उनले एमाले उम्मेदवार रिता न्यौपानेलाई १ हजार ८ सय ८३ मतले पराजित गरे । आचार्य १९ हजार ४५५ मतसहित विजयी हुँदा न्यौपानेले १७ हजार ५७७ मत पाएकी थिइन् ।

पाँच वर्षअघि पराजित भएपनि आचार्य क्षेत्र नम्बर ६‘क’ मा खटिएका थिए । सडक पूर्वाधार र खोला नियन्त्रणका लागि बजेट ल्याएर काम गराए । सांसद नहुँदै गरेको कामका कारण जनताले अनुमोदन गरेको उनको बुझाइ छ ।

‘जनताको खास ठूलो चाहान छैन,’उनले भने,‘ आधारभूत आवश्यकता पूरा होस्, सुशासन होस, भ्रष्टचार मुक्त सरकारी सम्यन्त्र होस् भन्ने छ ।’ जनताको चाहाना पूरा गर्ने उनले बताए ।

संघियता संस्थागत गर्नका लागि आफ्नो तर्फबाट भूमिका खेल्ने उनले बताए। ‘आवश्यक पर्ने ऐनहरु बनेका छैनन्, हाम्रो प्रदेशको नामकरण पनि भएको छैन,’ उनले भने,‘ नाम नै त राख्न सकेको छैन भन्ने जनतामा लागेको छ, त्यता पट्टि हामीले मेहनेत गर्नुपर्नेछ ।’

आचार्य प्रचण्डको कान्छी छोरी गंगा दाहालका श्रीमान् हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?