+
+

तोसिमा जितको कारक : कांग्रेसभित्रको असन्तुष्टि र पुराना दलप्रतिको वितृष्णा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते १९:५२

८ मंसिर, ललितपुर । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसाललाई २२ हजार भन्दा बढी मतले पछि पारिन् डा. तोसिमा कार्कीले । डा. तोसिमाले ३१ हजार १३६ मत ल्याएर निर्वाचित हुँदा माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसालले जम्मा ८ हजार ७६९ मत ल्याएर तेस्रो भइन् ।

भुसालले यही क्षेत्रबाट २०६४ सालमा एमालेका रघुजी पन्तलाई पराजित गरेकी थिइन् । त्यसको १० वर्षपछि २०७४ सालमा भएको आम निर्वाचनमा नेपाली कांग्रेसका मदनबहादुर अमात्यलाई हराइन् । २०७४ को संसदीय चुनावमा निर्वाचित हुने माओवादीबाट उपत्यकामा नै एक्लो उम्मेदवार हुन् ।

पम्फालाई यसपटक कांग्रेस र एमाले फुटेर बनेको दल नेकपा एकीकृत समाजवादीको समर्थन थियो । उनले कम मत ल्याउनुमा कांग्रेसभित्रको असन्तुष्टिलाई मुख्य कारण मानिएको छ ।

ललितपुर–३ लाई कांग्रेसले पनि आफू बलियो भएको क्षेत्र मान्दै आएको छ । आफ्नो बलियो पकड भएको क्षेत्रको टिकट माओवादीलाई दिएकामा कांग्रेसभित्र तीव्र असन्तुष्टि थियो । ललितपुर–३ मा कांग्रेसबाट मदनबहादुर अमात्य र जीतजंग बस्नेतसहित चारजना सिफारिस भएका थिए । पम्फाले टिकट पाएपछि कांग्रेसभित्र असन्तुष्टि रहेको ललितपुरका एक नेता बताउँछन् । उनी भन्छन्, ‘हाम्रो बलियो क्षेत्रमा गठबन्धनको नाममा माओवादीलाई टिकट दिएपछि असन्तुष्टि भयो । त्यो असन्तुष्ट पक्षको मत घण्टीतिर गयो ।’

पुराना दलका उम्मेदवारले पटक पटक जनतालाई झुक्याएका कारण यसपटक नयाँ रोजेको ललितपुर–३ का एक मतदाता नरेन्द्र महर्जन बताउँछन् । ‘पहिला जितेकाले खै के गरे त ? उनीहरुलाई दिएर हाम्रो भोट खेर नै जाने हो । जे सुकै होस् भनेर नयाँ र युवालाई दियौं हामीले त ।’ अहिले निर्वाचित नयाँहरुले कसरी काम गर्छन वा पुरानाले झैं झुक्याउँछन् भने अर्को पल्ट उनीहरुको पनि अहिलेका दलका नेताहरुकै हालत हुने उनको जिकिर छ ।

वर्षौंदेखि राजनीतिक दललाई विश्वास गरेर मत दिँदै आएपनि जनताको समस्या नबुझेको कारण राजनीतिक दलप्रति जनताको वितृष्णा बढेको स्थानीय कृष्ण खरेल बताउँछन् । अहिले बहालवाला मन्त्री समेत रहेकी पम्फा भुसालले मत नपाउनुको मुख्य कारण राजनीतिक दलहरुले जनताप्रति गर्दै आएको उपेक्षा भएको उनको बुझाइ छ- खरेल भन्छन् ।

‘राजनीतिक दलहरुलाई हामीले पटक पटक जिताउँदै आएकै हो नि । खै त जनताको समस्या बुझेको ? उनीहरुले हामीलाई यत्ति उपेक्षा गर्दै आएकी हामीले विकल्प रोज्न बाध्य भयौं ।’

चुनावअघि भुसालले ललितपुर–३ का जनतासँग निरन्तरको सम्पर्क–सम्बन्ध नै आफ्नो मूल शक्ति भएको दाबी गरेकी थिइन् तर मतदाता भने निर्वाचनमा मात्रै भोट माग्न आउने भएकाले घण्टीमा भोट हालेको बताउँछन् । ललितपुर थेंचोकी तुलसी डंगोल यसअघि निर्वाचनमा खटिएरै भुसाललाई सहयोग गरेको जिकिर गर्छन् तर जितेर गएपछि जनताको समस्या फर्केर बुझ्नै नआएकोले नयाँ पार्टीलाई भोट दिएको बताए ।

‘हामीले यसअघि भोट माग्नै हिँडेका हौं । हाम्रो समस्या समाधान गर्नका लागि जिताएर पठाएका हौं, तर जितेर गएपछि एकपटक फर्केर हाम्रो हाल सोध्न आएन । एकैचोटी यो वर्ष भोट माग्न आए । हामीले नयाँलाई दियौं’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?