+
+

हारपछि कृष्ण सिटौलाले दिए राजेन्द्र लिङ्देनलाई बधाई

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ९ गते १३:१३

९ मंसिर, काठमाडौं । झापा-३ बाट प्रतिनिधिसभा सदस्यमा पराजित नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले यसै क्षेत्रबाट निर्वाचित राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई दिएका छन् । शुक्रबार फेसबुकमा स्टाटस लेख्दै उनले प्रदेशसभा सदस्यमा निर्वाचितहरुलाई बधाई दिएका छन् ।

उनले मतदातालाई पनि धन्यवाद दिएका छन् । चुनावमा हार जित हुने भन्दै उनले झापा-३ का जनताको र देशको सेवा गर्न चुनावको नतिजाले नरोक्ने बताएका छन् ।

‘अग्रगमनको पक्षमा मलाई मत दिनु हुने ३७ हजार ३७२ को म प्रतिको विश्वास र माया नै मेरो जित हो । यसले नै मलाई क्षेत्र र देशको विकास र समृद्धिका लागि डटिरहन अझ हौसला दिएको छ’ उनले भनेका छन् ।

हेर्नुहोस् सिटौलाको स्टाटस

झापा क्षेत्र नं ३ बाट प्रतिनिधि सभामा निर्वाचित राजेन्द्रप्रसाद लिङ्देन एवं प्रदेश सभामा निर्वाचित भुमिप्रसाद राजवंशी र छबिलाल चुडाललाई म बधाई एवं शुभकामना व्यक्त गर्दछु । नेपालीहरुको चाहना बमोजिम देश विकासमा लाग्न तपाईंहरुलाई सधैं प्रेरणा मिलिरहोस्।

निर्वाचनमा सहभागी सम्पूर्ण मतदाताहरुलाई म धन्यवाद दिन चाहन्छु । तपाईंहरुको यो सहभागिता नै लोकतन्त्रको बलियो आधार हो ।

चुनावमा हार जित त हुन्छ नै । तर आफ्नो क्षेत्रको, यहाँका जनताको र देशको अनवरत सेवा गर्नबाट मलाई कुनै चुनावको नतिजाले रोकेको थिएन, र भविष्यमा पनि रोक्ने छैन । अग्रगमनको पक्षमा मलाई मत दिनु हुने ३७ हजार ३७२ को म प्रतिको विश्वास र माया नै मेरो जित हो । यसले नै मलाई क्षेत्र र देशको विकास र समृद्धिका लागि डटिरहन अझ हौसला दिएको छ ।

चुनावी अभियानमा हामीलाई सक्रिय सहयोग गर्नुहुने सबै साथीहरुलाई म धेरै धन्यवाद दिन चाहन्छु । लोकतन्त्र र गणतन्त्र प्रतिको तपाईंहरुको आस्था र तपाईंहरुको उत्साह र कर्मशीलताले मलाई नेपालको भविष्य सुदृढ र समृद्ध छ भन्ने कुरामा पुनः विश्वास दिलाएको छ । चुनावको नतिजाले नआत्तिनुहोस् । देश सेवामा म सधैं तपाईंहरुको साथमै हुनेछु।

निर्वाचनलाई सफल बनाउन खट्नुभएका निर्वाचन अधिकृत एवं सम्पूर्ण कर्मचारी, स्वयम् सेवक र सुरक्षाकर्मीहरुलाई म धन्यवाद दिन चाहन्छु। निर्वाचनमा जनताले निर्धक्क भएर आफ्नो मत खसाल्न पाउनु लोकतन्त्रको निम्ति अपरिहार्य हो। यसमा तपाईंहरुको योगदान प्रशंसनिय छ।

जय नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?