+
+
Shares

कृष्ण सिटौलाको सुझाव- गगनलाई भाइ भन्छु, सभापति भन्न पटक्कै मन छैन

‘आफ्नै अन्तरआत्मालाई सोध्नुपर्छ- २४ गते आहत भएको शेरबहादुर देउवालाई पार्टीबाट निकालेर कत्रो महान् कार्य गरेँ ? भनेर आफ्नै अन्तरआत्मालाई सोध्नुस् तपाईँले । तपाईँको अन्तरआत्माले जे भन्छ गर्नुस् त । एकान्तमा बसेर सोच्नुस् त’, सिटौलाले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते १८:२२

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले गगन थापाले विशेष महाधिवेशन गरेर ठूलो गल्ती गरेको टिप्पणी गरेका छन् । शुक्रबार कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सिटौलाले विशेष महाधिवेशनबाट सभापति चुनिएका थापालाई सभापति भन्न पटक्कै मन पनि नलागेको बताएका हुन् ।

‘हाम्रो युवा भाइ हुन् गगन थापा । भाइ भन्दा अन्यथा नहोला । सभापति भन्न मलाई पटक्कै मन लागेको छैन,’ सिटौलाले भने, ‘विशेष महाधिवेशनलाई मान्यता दिनै सकिएको छैन । त्यो अवैधानिक छ, अराजक ढंगले गरिएको छ ।’

यो कुरा आफ्नो पक्षको मान्यता रहेको बताउँदै उनले कुनै व्यक्तिगत पूर्वाग्रह नभएको पनि दाबी गरे ।

‘उहाँलाई मेरो सुझाव छ– मानिसको जीवनमा गल्ती हुन्छ । त्यसलाई आत्मसात गर्नसक्नुपर्छ । त्यसलाई सच्याउन सक्नुपर्छ । त्यही त महानता हो,’ सिटौलाले भने ।

सर्वोच्च अदालतले सभापति थापालाई गल्ती सच्याउने ढोका खोलिदिएको पनि नेता सिटौलाले बताए । उनले भने, ‘सच्याउने बाटो खोज्नुस् तपाईँ आफैले । हामीभन्दा तपाईँ धेरै कुरा बुझ्नसक्नुहुन्छ ।’

दुनियाँमा धेरै शासन गरेका शासक आफू हठ गरेर गल्ती गर्दा ढलेको उनले बताए ।

‘हठले, अहंकारले कहिँ पनि पुगिदैन  तपाईंलाई मेरो सुझाव छ– गल्ती सच्याउनुस्,’ सिटौलाले भने, ‘विशेष महाधिवेशनबाट घोषित अन्य पदाधिकारीलाई मेरो भन्नु केही छैन ।’

गल्ती सच्याउन कहिँ हारगुहार पनि नगर्नुपर्ने सिटौलाले बताए ।

‘कहिँ कतै कसैसँग हारगुहार माग्नुपर्दैन, आफ्नै अन्तरआत्मालाई सोध्नुपर्छ,’ उनले भने, ‘२४ गते आहत भएको शेरबहादुर देउवालाई पार्टीबाट निकालेर कत्रो महान् कार्य गरेँ ? भनेर आफ्नै अन्तरआत्मालाई सोध्नुस् तपाईंले । तपाईंको अन्तरआत्माले जे भन्छ गर्नुस् त । एकान्तमा बसेर सोच्नुस् त ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?