+
+

‘५७६० मिनेट खेलका लागि १५ हजारको ज्यान ?’

ओलम्पियास्टन रंगशालामा भएको हेर्था बर्लिन र बायर्नबीचको खेलमा घरेलु समर्थकले प्रदर्शन गरेको ब्यानरमा यस्तो लेखिएको थियो– ‘५७६० मिनेटको फुटबलका लागि १५००० को ज्यान ? लज्जास्पद ।’

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०७९ मंसिर ९ गते १७:५७

सन् २०१० मा अमेरिका समेतको दावेदारीलाई पछि पार्दै कतारले विश्वकप अधिकार पाउनु विश्वभरका फुटबल समर्थकका लागि ‘अप्रत्यासित’ खबर थियो । १२ वर्षपछि विश्वकप आयोजना गर्ने कतारसँग त्यतिबेला एउटा मात्रै राष्ट्रिय रंगशाला थियो । कतारले एक महिनासम्म चल्ने सबैभन्दा प्रतिष्ठित खेलकुद महामेलाका लागि आवश्यक सम्पूर्ण संरचना र पूर्वाधार १० वर्षमा तयार गर्‍यो ।

पहिलोपल्ट शीतकालमा सञ्चालन हुन लागेको विश्वकप फुटबलको यो संस्करणले धेरै कीर्तिमान बनाएको छ । कतारले विश्वकप आयोजना अधिकार पाएदेखि नै सुरु भएको यो विवाद अहिलेसम्म उस्तै छ, केवल अवस्था र विषयहरू फेरिएका छन् । सुरुमा उसलाई विश्वकप आयोजना अधिकार हत्याउन ठूलो मात्रामा ‘आर्थिक चलखेल’को आरोप लागेको थियो, अहिले मानवअधिकार र समलैंगिक अधिकारका लागि कतार आलोचनाको केन्द्रमा छ ।

‘नाउ इज अल’ (सबैथोक यसपालि) कतार विश्वकपको आधिकारिक नारा हो । हाल भइरहेको विश्वकपका लागि वर्तमान अवस्थामा सबैको ध्यान केन्द्रित गर्नका लागि यो एक सन्देश पनि हो । तर, यसको आशय यति साधारण छैन ।

कतार विश्वकप इतिहासकै सबैभन्दा विवादास्पद खेलकुद महामेलाका रूपमा देखिएको छ । यद्यपि कतार खेलकुदका माध्यमबाट विश्वमा आफ्नो सकारात्मक छवि देखाउन प्रयासरत छ ।

पछिल्लो २० वर्षमा चीनले दुईपल्ट ओलम्पिक प्रतियोगिता आयोजना गरेको छ । रूसले शीतकालीन ओलम्पिक र अघिल्लो संस्करणको विश्वकप आयोजना गरेको थियो । मानवअधिकार हननको मामलामा यी दुई देशमाथि पनि आरोप लागेको थियो । फिफाले विश्वकपको अधिकार दिएको १२ वर्षको दौरान यो विषयले धेरै निराशा र आक्रोशलाई बढावा दिएको छ ।

कतारको आधिकारिक तथ्यांक अनुसार सन् २०१४ मा पूर्वाधार निर्माणको काम सुरु भएयता कार्यक्षेत्रमा ३ जनाको मात्र निधन भएको छ । अन्य ३७ जना कामदारको पूर्वाधार निर्माण क्षेत्रमा निधन भए पनि त्यो निधन ‘कामसँग सम्बन्धित’ थिएन । विश्वकपको मूल आयोजक समितिले श्रमिकको अधिकार आफ्नो प्राथमिकतामा रहने दावी गर्दै आएको छ ।

सरकारी तथ्यांकअनुसार सन् २०१० र २०१९ को बीचमा कतारमा १५ हजार २१ जना गैरकतारीको निधन भएको छ । देशमा रहेका गैरकतारी कामदारको संख्याको अनुपातमा रहेर तथ्यांकमाथि टिप्पणी गर्न कतारको अनुरोध छ । यद्यपि कति संख्यामा भएको मृत्यु ‘कामसँग सम्बन्धित’ थियो भन्ने आँकडा विवादित र अस्पष्ट समेत छ ।

कतार विश्वकपमा मैदानभित्र भन्दा बाहिरको विवाद र आलोचनाको चर्चा धेरै भएपछि विश्व फुटबल महासंघ (फिफा) ले विश्वकपमा सहभागी देशहरूलाई पत्र लेखेर फुटबलमा मात्र ध्यान केन्द्रित गर्न आग्रह गरेको थियो । तर, इंग्लिस प्रशिक्षक ग्यारेथ साउथगेटले फिफालाई चुनौती दिंदै इंग्ल्याण्डले कहिल्यै पनि त्यसो नगर्ने प्रष्ट पारिसकेका छन् ।

‘हामीले अहिलेसम्म त्यही विषयहरूमा कुरा गर्दै आएका छौं, जुन विषयमा हामीलाई बोल्नुपर्छ भन्ने लागेको छ’, एक पत्रकार सम्मेलनमा इंग्लिस प्रशिक्षक ग्यारेथ साउथगेटले भनेका छन् ।

डच फुटबल संघ कतारमा मानवअधिकार र विदेशी श्रमिकमाथि हुने व्यवहारको आलोचना गर्ने सीमित फुटबल संघमध्ये एक हो । कतारमा त्यहाँको जनसंख्याभन्दा धेरै बढी २८ लाख प्रवासी कामदार छन् ।

नेदरल्याण्ड्सले विश्वकपका क्रममा आफ्नो टिमले लगाउने सम्पूर्ण जर्सी र टिसर्टलाई लिलामी गर्ने जनाएको छ । लिलामीबाट प्राप्त रकम डच फुटबल संघले विश्वकपका लागि पूर्वाधार निर्माण गर्ने क्रममा हताहती भएका श्रमिकको समर्थनमा सहयोग गरिनेछ । लिलामी अनलाइन माध्यमबाट हुनेछ ।

‘उनीहरूले निकै कठिन परिस्थितिमा रंगशाला, पूर्वाधार, होटल र आवास निर्माणका लागि काम गरेका छन् । हामी त्यहाँ रहँदा उनीहरूलाई सम्झनेछौं’ नेदरल्याण्ड्सका कप्तान भिर्गिल भान डाइकले भनेका छन्, ‘उनीहरूको अवस्था वास्तवमै सुधार हुनुपर्नेछ ।’

नेदरल्याण्ड्सले कतारमा २० जना प्रवासी कामदारको समूहसँग भेटवार्ता र उनीहरूको अवस्थाबारे छलफल गर्नेछ । बुण्डेसलिगा क्लब वायर्न म्युनिख, बोरुशिया डर्टमण्ड र हेर्था बर्लिनका समर्थकले कतारमा विश्वकपको विरोधमा व्यापक प्रदर्शन गरेका छन् । उनीहरूले विरोधका क्रममा मानवअधिकार हननमा कीर्तिमान बनाएको ब्यानर प्रदर्शन गरेका थिए ।

ओलम्पियास्टन रंगशालामा भएको हेर्था बर्लिन र बायर्नबीचको खेलमा घरेलु समर्थकले प्रदर्शन गरेको ब्यानरमा यस्तो लेखिएको थियो, ‘५७६० मिनेटको फुटबलका लागि १५००० को ज्यान ? लज्जास्पद ।

डर्टमण्डका समर्थकले आफ्नो खेलका दौरान ‘कतार २०२२ बहिष्कार’ देखिएको ठूलो ब्यानर प्रदर्शन गरेका थिए । ‘खेलको मिनेटभन्दा धेरै मृत्यु’, ‘हजारौं मृत’ । ‘फ’ यू फिफा’ लगायतका ब्यानर प्रदर्शन भएको थियो ।

कतार विश्वकपको विरोध सबैभन्दा धेरै जर्मनीमा किन भइरहेको छ भने ‘कतार २०२२ बहिष्कार’ अभियानका एक नेतृत्वकर्ता स्टेफन स्रिमर त्यहींका नागरिक हुन् । गैरव्यावसायिक फुटबल खेलाडी समेत रहेका उनले डिजिटल माध्यमबाट सुरु गरेको यो अभियानले विश्वव्यापी सहानुभूति पाइरहेको छ ।

स्रिमरका अनुसार उनीहरूले यो अभियान सुरु गर्नुको उद्देश्य कतारमा हुन लागेको प्रतिष्ठित प्रतियोगिता रोक्नु होइन । तर, उनी मानिसलाई आफ्नै तरिकाबाट प्रतियोगिता बहिष्कार गर्न प्रोत्साहित गरिरहेका छन् ।

‘म विश्वकपका कुनै पनि खेल हेर्दिनँ । हामी क्वाटरफाइनल, सेमिफाइनल र फाइनल खेलको समयमा साथीहरूसँग मिलेर मैत्रीपूर्ण फुटबल खेल्दैछौं’ स्रिमरले भने, ‘यो अभियान साना–साना कार्यक्रमको संग्रह हो । तर, सबै मिलेर एक ठूलो आवाज उठाउन सक्छौं र यसको सकारात्मक प्रभाव हुनेछ ।’

फुटबल समर्थक, पूर्व खेलाडी र वर्तमान खेलाडीहरूले पनि कतारमा भइरहेको मानवअधिकार उल्लंघनको घटनाप्रति आफ्नो स्पष्ट राय व्यक्त गरेका छन् । नेदरल्याण्ड, जर्मनी र नर्वे जस्ता टिमले विश्वकप छनोट प्रतियोगिताकै क्रममा मानवअधिकारका लागि टिसर्ट लगाएर कतारमा आप्रवासी श्रमिकमाथि भएको भयानक व्यवहारको विरोध गरेका थिए ।

जर्मनीका पूर्वकप्तान फिलिप लाहमले यसबारे खुलेर कुरा गरेका छन् । ‘यस्तो प्रतियोगिताको अधिकार दिनुभन्दा अघि मानवअधिकारको विषय प्रधान रहन्छ । यदि त्यस्तो देशले अधिकार पाएको छ भने भविष्यमा आयोजना अधिकारको मापदण्डमा पनि पुनर्विचार हुनुपर्छ’, सन् २०१४ का विश्वकप विजेता लाहमले भनेका छन् ।

कतार विश्वकपको आयोजना तयारीका क्रममा भएका मानवअधिकार हननका घटनाको विरोधमा अस्ट्रेलिया र अमेरिकामा पनि विरोध प्रदर्शन भइरहेको छ । विश्वकप सुरू हुनुभुन्दा एक साताअघि न्युयोर्कमा सयौंको संख्याका ब्राजिली समर्थकले कतारको विरोधमा प्रदर्शन गरेका थिए ।

दमनकारी कानुन र लैंगिक अल्पसंख्यकमाथि कथित दुव्र्यवहारका कारण कतारमाथि तीव्र आलोचना भइरहेको छ । प्रतियोगिता आयोजना सन्दर्भमा यो विवाद पनि आलोचनाको प्रमुख विषय रहिआएको छ । विश्वकपका एक ब्राण्ड एम्बासडरले समलैंगिकतालाई ‘दिमागको क्षति’ भनेर परिभाषित गरेका थिए ।

जर्मनीको सार्वजनिक प्रसारण संस्था जेडडीएफसँगको अन्तर्वार्ताका क्रममा विश्वकपका सद्भावना दूत तथा कतार राष्ट्रिय फुटबल टिमका पूर्व सदस्य खालिद सलमानले तेस्रोलिंगीमाथि निकै तल्लोस्तरको टिप्पणी गरेका थिए । समलिंगी अधिकारमा कतार हदैसम्म पूर्वाग्रही छ । त्यहाँ समलैंगिक यौन गतिविधिमा भाग लिने जो–कोहीलाई सात वर्षसम्म जेल सजायको व्यवस्था छ ।

इंग्ल्याण्डले समलैंगिकताको समर्थन गर्दै आफ्नो आधिकारिक विमानमा बहुरंगी संकेत प्रयोग गर्ने भएको छ । इंग्लिस टिमका लागि भर्जिन एटलान्टिक ए ३५० एयरबस चार्टर्ड गरिएको छ ।

टोटनह्याम तथा इंग्ल्याण्डका कप्तान ह्यारी केनले लामो समयदेखि क्लब खेलहरूमा पनि बहुरंगी (इन्द्रेणी) आर्मब्याण्ड प्रयोग गरेका थिए । इंग्ल्याण्डका प्रशिक्षक साउथगेट भन्छन्, ‘हामी समावेशितामाथि निकै संवेदनशील छौं । हामी यो प्रतियोगितामा आउने चुनौतीबारे जानकार छौं ।

अमेरिका र नेदरल्याण्ड्सले पनि लैंगिक समानताको विषयलाई विश्वकपका दौरान सशक्त रूपमा उठाउने निर्णय गरेका छन् । अमेरिकाले आफ्नो प्रशिक्षण सत्र र मिडिया कार्यक्षेत्रमा बहुरंगी लोगोको प्रयोग गर्नेछ ।

युईएफएको आह्वानमा सेप्टेम्बरको इन्टरनेशनल ब्रेकमा सबै युरोपेली कप्तानले समलैंगिक अधिकारको सम्मान गर्न भन्दै बहुरंगी आर्मब्याण्ड लगाएका थिए । फ्रान्सको हकमा नियमित कप्तान ह्युगो लोरिस अनुपस्थित हुँदा रफायल भारानेले सो ब्याण्ड लगाएका थिए ।

फ्रान्सेली सञ्चारमाध्यम लिइक्युपसँग कुरा गर्दै फ्रान्सेली फुटबल फेडेरेसन (एफएफएफ) अध्यक्ष नोएल ली ग्रेटले आफ्ना कप्तानले बहुरंगी आर्मब्याण्ड नलगाउने संकेत गरेका थिए । आयोजक देशप्रति सम्मान गर्नुपर्ने उनको भनाइ थियो । फ्रान्सका नम्बर एक गोलरक्षक लोरिस पनि अध्यक्षको रायसँग सहमत देखिन्छन् । उनी यो अवस्थालाई आफ्नो व्यक्तिगत विचारबाट टाढा राख्न चाहन्छन् ।

‘फ्रान्स आउने विदेशीले हामीले लागू गरेको नियम र कानून पालना गरुन् भन्ने चाहन्छौं । म आफ्नो संस्कृतिको सम्मान गरेको देख्न चाहन्छु भने जब म कतार जानेछु मैले पनि त्यही गर्नेछु । म उनको विचारप्रति सहमत भए पनि नभए पनि मैले उप्रति सम्मान देखाउनुपर्छ’, विश्व विजेता फ्रान्सेली कप्तान लोरिसले भने ।

मानवअधिकार र अन्य कडा कानूनकै कारणले भइरहेको आलोचनालाई कतारले अहिलेसम्म प्रतिरक्षा गरिरहेको छ । यही कारण देखाएर कुनै पनि टिमले विश्वकपबाट नाम फिर्ता लिने निर्णय नगर्नु कतारका लागि सकारात्मक खबर हो ।

यो प्रतियोगिता योजनाअनुसार नै अघि बढिरहेको छ । यद्यपि प्रतियोगिताको आसपास भइरहेको विवादको शृंखला वर्षौंसम्म जारी रहनेछ । समर्थकहरू अन फिल्ड गतिविधिका लागि उत्साहित छन् ।

किनभने यहाँ लियोनल मेस्सी, क्रिष्टियानो रोनाल्डो, नेइमारलगायत थुप्रै महान् खेलाडी खेल्नेछन््, जसको सम्भवतः यो अन्तिम विश्वकप हुनेछ । तर पनि प्रतियोगिताको अँध्यांरो पक्षलाई नजरअन्दाज गर्न सकिंदैन ।

लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?