+
+

खगराज अधिकारी : दलको नेता पक्का, मुख्यमन्त्री भन्न सकिन्न

अमृत सुवेदी अमृत सुवेदी
२०७९ मंसिर ९ गते १८:३७

९ मंसिर, पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने उद्देश्यसहित प्रदेशसभामा झरेका थिए एमालेका संगठन विभाग प्रमुख खगराज अधिकारी । कास्की–१(१) बाट १५ हजार ६२३ मत ल्याएर जितेका खगराजले नेकपा माओवादी केन्द्रका दीपक कोइरालालाई ३ हजार भन्दा बढी मतान्तरले पराजित गरे ।

एकातर्फ एमालेले खगराजलाई भावी मुख्यमन्त्रीका रुपमा प्रचार गरेको थियो, अर्कोतर्फ कास्कीमा सत्तारुढ गठबन्धनमा अनेक विवाद थिए । हारपछि माओवादी उम्मेदवार कोइरालाले अधिकारीलाई बधाई दिएका छन् । ‘खगराज दाइको राजनीतिक प्रभाव अझै बढोस्, शुभकामना छ’ उनले भनेका छन् ।

कास्की–१ मा यसपटक प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा नेकपा एमालेले जितेको छ । खगराज प्रदेश सभा झर्दा यसअघि प्रदेश सभा सांसद रहेका मनबहादुर गुरुङले संघको टिकट हात पारे र कांग्रेसका किशोरदत्त बराललाई हराए । प्रदेश सभा २ मा कांग्रेसका दीपक गुरुङलाई हराउँदै एमालेकै वेदबहादुर गुरुङले चुनाव जिते ।

गण्डकीमा सम्भावित मुख्यमन्त्रीका रुपमा हेरिएका खगराज संसदीय दलको नेता बन्ने सम्भावना देखिएको छ । प्रत्यक्षमा चुनाव जितेका र समानुपातिकबाट आउने सम्भावित उम्मेदवारलाई पनि हेर्दा सबैभन्दा शीर्ष नेता खगराज नै छन् ।

‘समानुपातिकबाट आउन सक्ने सम्भावित र आइसकेका प्रत्यक्ष सांसदहरुमा सबैभन्दा सिनियर नेता खगराजजी नै हो’, एमाले गण्डकीका सचिव धनञ्जय दवाडीले भने, ‘समानुपातिकबाट आउन सक्ने लीला थापा पोलिट्व्यूरो सदस्य हुनुहुन्छ भने भीम कार्की, गोविन्द नेपाली, पदमा जिसी केन्द्रीय सदस्य हुनुहन्छ ।’

समानुपातिकको समेत नतिजा आइसकेपछि बल्ल संसदीय दलको निर्वाचनको प्रक्रिया सुरु हुने र खगराज नै सम्भावित दलको नेताका रुपमा हेरिएको सचिव दवाडीले बताए ।

खगराज नै अब संसदीय दलको नेता पक्का भइसकेको उनीनिकट नेताहरु बताउँछन् । तर, खगराजले भने गण्डकीमा जसको सरकार बने पनि संघीयता, समावेशिता, गणतन्त्रका पक्षमा निरन्तर लड्ने बताए ।

‘म हतारिएर सबै कुरा भन्दिन । जसको सरकार बने पनि बिना पूर्वाग्रह सहयोग गर्छौं । हामी कुनै आग्रह र अहंकारबाट ग्रसित छैनौं । स्थिर सरकार अहिलेको अवश्यकता हो’, चुनाव जितेपछि खगराजले भने, ‘मैले कहिल्यै पनि मुख्यमन्त्री हुन्छु, दाबेदार हुँ भनेर भनिन । पर्दाखेरि जुनसुकै जिम्मेवारी सबैको सहयोग र समर्थनमा योग्यतापूर्वक पूरा गर्ने कोशिस गर्छु ।’

गण्डकी प्रदेशमा कुनै पनि दलको एकल सरकार नबन्ने निश्चित भइसकेको छ । प्रदेशसभाको मत परिणाम आइसकेका र आउन बाँकी निर्वाचन क्षेत्रको नतिजा हेर्दा एमाले नेतृत्वमा सरकार बन्न कांग्रेसबाहेकको सबै शक्ति मिल्नुपर्छ ।

अहिलेसम्म गण्डकी प्रदेश सभाका ३६ सिटमध्ये ३४ वटा सीटको नतिजा आइसकेको छ भने स्याङ्जाका २ सिटको नतिजा आउन बाँकी छ, यहाँ विवादका कारण मतगणना हुन सकेको छैन ।

नतिजा आएकामध्ये नेपाली कांग्रेसले १६, एमालेले १२, माओवादी केन्द्रले ५ र स्वतन्त्र १ जनाले चुनाव जितेका छन् ।

कांग्रेसले स्याङ्जामा मत गन्न बाँकी २ क्षेत्र आफैंले जित्ने दावी गरेको छ भने समानुपातिक प्रणालीबाट ८ देखि ९ सिटको आकलन गरेको छ । प्रत्यक्ष र समानुपातिक गरेर कम्तीमा २६ नत्र २७ सिट कांग्रेसले जित्ने अनुमान नेताहरुको छ । गण्डकी प्रदेशमा माओवादीले समानुपातिकमा ४ सिट र राप्रपाले १ सिट पाउने अनुमान छ ।

६० सदस्यीय प्रदेशसभामा कांग्रेस नेतृत्वमा सरकार बनाउन माओवादी निर्णायक हुने देखिएको छ भने एमाले नेतृत्वमा सरकार बनाउन कांग्रेसबाहेकका शक्ति एक ठाउँ हुनुपर्ने देखिएको छ ।

यदि कांग्रेस र माओवादीबाहेक एमाले नेतृत्वमा सरकार बन्ने परिस्थिति सिर्जना भयो भने फेरि पनि स्वतन्त्र सांसद दीपक मनाङे र राप्रपाका सांसदको समेत निर्णायक भूमिका हुन सक्ने नेताहरुको भनाइ छ ।

एमालेका सम्भावित संसदीय दलका नेताका रुपमा हेरिएका खगराजले भने जुनसुकै जटिल परिस्थितिमा पनि आफूले नेतृत्व गर्न योग्यता राख्ने बताउँछन् । २०७० मा स्वास्थ्यमन्त्री र ०७७ मा १३ दिने गृहमन्त्री बनेका खगराजले सांसद जिते पनि गण्डकीको मुख्यमन्त्री बाटो अझै खुलिसकेको छैन । संघीय राजनीतिक कोर्स कसरी अगाडि बढ्छ, त्यसले नै खगराज मुख्यमन्त्री बन्ने-नबन्ने तय गर्नेछ ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?