+
+

चलचित्र विकास बोर्डले विदेशमा नेपाली फिल्म महोत्सव गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १३ गते १६:४७

काठमाडौं । चलचित्र विकास बोर्डले नेपालीको सघन बसोबास रहेको मुलुकमा फिल्म महोत्सव गर्ने भएको छ ।

नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने उद्देश्यले आगामी जनवरीमा फेस्टिभल गर्न लागिएको बोर्डले जनाएको छ । बेलायतको लण्डन वा अष्ट्रेलियाको कुनै सहरमा फेस्टिभल गर्ने तयारी भइरहेको छ ।

यद्यपि, आयोजनास्थल भने तय भइसकेको छैन । बोर्डको वार्षिक बजेटअन्तर्गत रहेर गर्न लागिएको फेस्टिभल आयोजनामा गैरआवासीय नेपाली संघ (एनआरएनए)सँग सहकार्य पनि गर्न सकिने जनाइएको छ ।

‘नेपालीको धेरै बसोबास भएको ठाउँमा गर्न लागिएको फेस्टिभलले त्यहाँ बजार विस्तार गर्ने आशा राखेका छौं,’ बोर्डका बक्स अफिस संयोजक राज कटुवालले भने, ‘त्यहाँस्थित सरकारी निकायसँग पनि सहकार्य गर्ने हाम्रो योजना छ ।’

पछिल्लो समय अष्ट्रेलिया, अमेरिका, बेलायत र मध्यपूर्व लगायतका मुलुक नेपाली फिल्मका ठूला बजार हुन् । ‘कबड्डी ४’ले मात्र विदेशबाट १० करोड रुपैयाँभन्दा बढी कमाइ गरेको थियो । अहिले अमेरिकामा महजोडीको ‘महापुरुष’ राम्रो चलिरहेको छ ।

नेपालमा अहिले चीन, युरोप, अफ्रिका, दक्षिण कोरिया, जापान लगायतका मुलुकले फिल्म फेस्टिभल आयोजना गरिरहेका छन् । यस्तै शैलीमा बोर्डले पनि विदेशी मुलुकमा फेस्टिभल आयोजनाको योजना अघि सारेको हो ।

विदेशमा कार्यक्रम आयोजनाका लागि बोर्डले एनआरएनए संस्थासँग सहकार्यको अपेक्षा राखेको संयोजक कटुवालले बताए । ‘यदि कसैले बोर्डको फेस्टिभलमा साथ दिन्छ भने यो हाम्रा लागि खुसीको कुरा हो,’ उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?