News Summary
Generated by OK AI. Editorially reviewed.- चलचित्र विकास बोर्डले आफ्नो २६ औं वार्षिकोत्सवका अवसरमा ऐतिहासिक नेपाली चलचित्रहरूको प्रदर्शन गरिरहेको छ ।
- आइतबार प्रदर्शन गरिएका 'के घर के डेरा' र 'मनको बाँध' चलचित्रका दुवै शो हाउसफुल रहेका छन् ।
- चलचित्र प्रदर्शनसँगै कलाकारहरूले निर्माणकालका अनुभव साटेपछि दर्शक र कलाकारबीचको अन्तरक्रिया कार्यक्रम प्रभावकारी बनेको छ ।
काठमाडौं । २६ औं वार्षिकोत्सव अवसरमा अहिले चलचित्र विकास बोर्डले ऐतिहासिक नेपाली फिल्मको प्रदर्शन गरिरहेको छ । शनिबारदेखि सुरु भएको स्क्रिनिङ आइतबार पनि निरन्तर रह्यो ।
आइतबार ‘के घर के डेरा’ र ‘मनको बाँध’ प्रदर्शन गरियो । यी दुवै फिल्मको शोज हाउसफुल रहे ।
पुराना फिल्मलाई ठूलो पर्दामा पुनः हेर्न आएका दर्शकका लागि आइतबारको प्रदर्शन विशेष बन्यो, जब ती चलचित्रमा अभिनय गरेका कलाकार स्वयं प्रेक्षालयमा उपस्थित भएर दर्शकसँग आफ्नो समयका अनुभव र स्मृति बाँडे ।
बिहान ११ बजे प्रदर्शन गरिएको ‘के घर के डेरा’ हेर्न वरिष्ठ कलाकार बसुन्धरा भुसाल, पुरण जोशी र शर्मिला मल्ल उपस्थित थिए । उनीहरूलाई बोर्डका पूर्वअध्यक्ष कृष्ण मल्ल र अभिनेत्री भुवन चन्दले माला लगाएर स्वागत गरे ।
अघिल्लो पुस्ताका चर्चित कलाकारलाई नेपाली चलचित्रकै अग्रज व्यक्तित्वले स्वागत गरेको दृश्यले कार्यक्रमलाई सम्मान र पुनर्मिलनको स्वरूप दिएको थियो ।
प्रदर्शनसँगै कलाकारसँग अन्तरक्रिया पनि आयोजना गरिएको थियो । कलाकारले चलचित्र निर्माण हुँदाको समय, छायांकनका अनुभव, नेपाली चलचित्र क्षेत्रको अवस्था र चलचित्रसँग जोडिएका विभिन्न स्मरण दर्शकसँग बाँडे ।
बोर्ड अध्यक्ष दिनेश डीसीले कलाकारसँग संवाद गर्दै अन्तरक्रियाको सहजीकरण गरे । पर्दामा चलचित्र र त्यसलगत्तै दर्शकसामु त्यही चलचित्रका कलाकारका अनुभव सुन्न पाउँदा प्रदर्शन केवल फिल्म हेर्ने कार्यक्रममै सीमित रहेन ।
दिउँसो २ बजे प्रदर्शन गरिएको ‘मनको बाँध’मा अभिनेत्री सुष्मा शाहीको विशेष उपस्थिति रह्यो ।
उनलाई स्वागत गर्दै दर्शकसँग अन्तरक्रिया गराइएको थियो । शाहीले फिल्मको निर्माणकालसँग जोडिएका अनुभव दर्शकसँग साझा गरिन् । शोको अन्तरक्रियासमेत बोर्ड अध्यक्ष डीसीले सहजीकरण गरेका थिए ।
‘मनको बाँध’को प्रदर्शनमा पनि हल भरिएको थियो । यससँगै आइतबारका दुवै शो हाउसफुल बने ।
पुराना चलचित्रसँगै तिनका कलाकारलाई दर्शकसामु उपस्थित गराउने र उनीहरूका अनुभव प्रत्यक्ष सुन्ने अवसर सिर्जना गरिएकाले यो कार्यक्रम प्रत्यक्ष भेटघाटको समेत माध्यम बनेको अध्यक्ष डीसीले बताए ।
सोमबारको श्रृंखलामा पहिलो रंगिन फिल्म ‘कुमारी’को विशेष प्रदर्शन हुनेछ । यो प्रदर्शनमा अभिनेत्री चैत्यदेवी र गौतम रत्न तुलाधरको विशेष उपस्थिति रहनेछ । प्रदर्शनसँगै उनीहरूसँग तत्कालीन नेपाली फिल्म र ‘कुमारी’सँग जोडिएका अनुभवबारे अन्तरक्रिया गर्ने कार्यक्रमसमेत छ ।
प्रतिक्रिया 4