+
+
ब्लग :

अभिनय, कलाकार र जीवन

सुदाम सिके सुदाम सिके
२०७९ मंसिर १४ गते १३:१३

अभिनयको बारेमा लेख्न कसरत गरेको केही महिना भयो । केही महिनासम्म कहाँबाट सुरु गर्ने, कुन पाटोलाई समात्ने, कुन कोणबाट हेर्ने, कुन दिशातर्फ जाने लगायत प्रश्नहरूको उत्तरको खोजीमा म रहें । यस विषयमा लेख्न कठिन रहेछ भन्ने कुरा लेख्ने संघर्ष गर्दै गर्दा थाहा भयो । अभिनय सिकाउँछु, कसैले सोधे जानेसम्म स्पष्ट भई जवाफ दिने कोसिस गर्छु । तर प्रश्नको उत्तर दिनु र केही आफ्नै प्रेरणाले लेख्नु फरक अनुभूति रहेछ । यो प्रक्रियामा ऐठनबाटै गुज्रिनु पर्ला भन्ने सोचेको थिइनँ ।

यसरी लेख्नु, आफ्नो बुझाइको प्रमाण कोरिनु हो । बोल्नु, गफ दिनु हावामा हराउनु हो, मैले भनेको थिइनँ भन्न सकिन्छ । लेखेर सार्वजनिक गर्नु भनेको आफूलाई सार्वजनिक गर्नु हो, पाठकलाई हस्तान्तरण गर्नु हो, यसको संवेदनशीलतालाई बुझ्नु जरुरी हुन्छ । जसले गर्दा यो अभ्यास झन् कठिन हुनेरहेछ ।

जीवनको बारेमा भन्नु सहज छैन । र यो एउटा कोणमा सीमित पनि छैन । यसलाई हिसाब जस्तो ‘हेन्स प्रुभ्ड’ भनेर प्रमाण गर्न पनि सकिन्न । मानिसपिच्छे जीवनका अनुभव, बुझाइ, सोच, विचार, विवेक फरक हुन्छ । यो स्वाभाविक सत्य हो । कसैले कसैको कुरा काट्न सक्छ, तर गलत भनेर प्रमाण गर्दा हिंसा (देखिने नदेखिने) बाहेक केही हुन्न । विचार, बुझाइ, अनुभवजस्ता अमूर्त कुरालाई नापतौल गर्न, ठीक बेठिक भन्न र गलत सही भन्न सकिन्न । न त जीवन जिउने कुनै फर्मूला नै हुन्छ ।

यो जीवनलाई अभिनेता र यसका प्रतिक्रियालाई अभिनय मान्ने संसारभरिकै संस्कार हो । यो संसारलाई रंगमञ्च मान्ने संसारभरिकै विश्वास हो । हामी कसैबाट निर्देशित छौं भन्ने संसारभरिकै आस्था हो । खैर म त्यो मान्दिन भन्दाभन्दै पनि कतिपय अवस्थामा यही विचारलाई ढालको रुपमा प्रयोग गर्दै आएका नै छौं । आफूलाई यसरी सम्झाउँदै आएका नै छौं । निर्देशक को ? व्यक्तिपिच्छे कसले कसलाई मानेको छ फरक पर्ला । तर नास्तिकहरू पनि यो कुराबाट बच्न सकेका छैनन् ।​

अभिनय भनेको प्रतिक्रिया नै हो। तर कारणसहितको प्रतिक्रिया । जुन अन्तत: न्यायसंगत पनि हुन्छ । त्यसैले मानिस गलत या सही हुँदैन, सबैको कर्मको पछाडि कारण हुन्छ र हामीले कारण र परिस्थितिलाई केलाउने हो न कि व्यक्तिलाई ।

जीवनको अभिनय, हामीले कहिले, कसरी, कहाँ, किन, केका लाागि, र कसका लागि गर्दै आएका छौं त ? परिवारको लागि घरमा, आफन्तको लागि आँगनमा, कमाउनका लागि कार्यालयमा, खान लगाउन सडकमा, जोगाउन साथीसँग, लड्न शत्रुसँग, बच्न दुनियाँसँग, गुहार्न अस्पतालमा, पढ्न स्कुलमा, हिंसा गर्न एकान्तमा आदि ।

कोही अर्कोसँग हामी अभिनय गरिरहेका हुन्छौं, कुनै स्थानमा, कुनै समयमा र कुनै परिस्थितिमा हामी अभिनय गरिरहेका हुन्छौं । एक्लै हुँदा मनोवाद गरिरहेका हुन्छौं, यहाँ पनि ‘मन’ भन्ने अर्को पात्र वा कल्पनामा अर्को पात्र त छँदैछ । मुख्य अभिनेता परिस्थितिले कसैलाई कहाँ कसैलाई कहाँ बनाइरहेको हुन्छ । तर यथार्थमा हामी सबै, सबैका सहअभिनेता हौं । एकआर्काका सहयोगी, अपेक्षासहित वा अपक्षाविहीन ।

अपेक्षासहितको अभिनय कठिन होला भने जस्तो नहुँदा मन दुख्ला, झगडा पर्ला । भनिन्छ नै ‘अपेक्षाले मानिसलाई परनिर्भर बनाउँछ’। परनिर्भर हुनु भनेको स्वचालित नहुनु, चल्न अरुमा निर्भर हुनु, मेसिन (रोवट)जस्तै हुनु हो । अभिनयको भाषामा मेकानिल अभिनय । केही अपेक्षा अनुसार नभए, बिग्रिनु, चल्न रोकिनु या जीवन स्वाभाविक रुपमा अगाडि बढ्न नसक्नु । अभिनयको भाषामा भने ‘लाउड’ हुनु अर्थात् नमिलेको अपाच्य अभिनय ।

तर केही जीवन स्वाभाविक रुपमा चल्दा पनि लाउड, असामान्य, आमभन्दा केही फरक, अस्वभाविक जस्तो हुन्छ । तर अपाच्य भने हुँदैन । किन ? किनकि इमान्दार हुन्छ, सत्य हुन्छ। जसरी केही जीवन, जीवनका संस्कार, परम्परा वा सम्प्रदायको स्वभाविक जीवनशैली हो । अभिनयको भाषामा यसलाई ‘लार्जर देन लाइफ’ भनेर बुझिन्छ । यो अभिनयको धैरैमध्ये एक शैली हो ।

जीवनमा गरिने सबै अभिनयका कारणहरू हुन्छन् । केही संयोग बाहेक । जीवन स्वयं पनि संयोग हो भनिन्छ । मान्ने नमान्ने आफ्नो कुरा । जे होस् जन्मिनुको पछाडि कारण त पक्कै पनि छ नै, र मर्नुको पछाडि पनि कारण छ । खोजियो वा खोज्ने इच्छा भयो भने  बीचमा हुने सबै भोगाइ, बानीव्यहोरा, चालढाल, हाउभाउ, बोलीचाली, स्वभाव आदिको पछाडि पनि कारणहरूको जुलुस भेटिन्छ । खोज्ने नखोज्ने, जान्ने नजान्ने, थाहा पाउने नपाउने आ-आफ्नो कुरा । तर स-साना अनुभूति, इच्छा, क्रिया, प्रतिक्रियाहरूको पछाडि पनि कारण हुन्छन् ।

अभिनेताले के गर्छ त ?

सुदाम सीके

अभिनेताले कारणहरू खोज्छ । जीवनका यी आयाम, अनुभव, अनुभूति, प्रतिक्रियालाई सूक्ष्म ढंगले खोज्छ, पढ्छ, जान्छ र आफूद्वारा ती तमाम कारणलाई अनुभूत गर्छ, बुझ्छ । यसलाई ब्याकस्टोरी भनेर पनि बुझिन्छ । अभिनेताले यसैको जगमा अर्को जीवनलाई आफ्नो शरीर र आवाजले प्रतिविम्बित गर्छ । र हेर्न आउने मानिसलाई जीवन बोध गराउन मद्दत गर्छ । अभिनेताले कथा भन्दैन । हरेक सहअभिनेताहरू स्यवं कथा हुन् । उनीहरूले जीवन भोग्छन् । भोग्दैनन् मात्र, बरु कारणहरूलाई जीवित बनाउँछन् र दर्शकलाई स्वयंलाई बुझ्न बाटो देखाउँछन् पनि । राम्रा, सत्य अभिनयले दर्शकहरूलाई आफ्नो हृदय छाम्न, आफ्नो रुप हेर्न, आफ्नो सत्य बोध गराउन र आत्मबोध गराउन सधैं प्रेरित गर्छ । यो एउटा अभिनेताको धर्म हो । जसरी आँखाको धर्म संसार हेराउनु हो, जिब्रोको धर्म स्वाद चखाउनु हो, आगोको धर्म जल्नु जलाउनु हो, माटोको धर्म उब्जाउनु हो ।

केही दिनअघि सबाना अजमीसँग भेट हुने मौका जुरेको थियो । कुरै कुरामा उहाँले आफ्नो अनुभव भन्नु भयो । ‘अभिनयमा सबै निर्देशकले ‘मेमोराइज योर लाइन’ (आफ्नो लाइन याद गर्नुस्) भनिरहे, करिअरको दुई दशकपछि कोही आयो र भन्यो ‘रिड योर लाइन’ (आफ्नो लाइन पढ्नुस्) । यो सिक्काको लुकेको अर्को पाटो जस्तो भयो । मुस्किल थियो तर सही थियो । अनुभूतिलाई स्वयं निर्माण गर्ने होइन, यसलाई स्वभाविक तवरले आउन दिने हो ।’  कस्तो गज्जबको आत्मस्वीकृति ।

हाम्रो परम्परागत  बुझाइ अझै पनि लाइन याद गर्ने र त्यसलाई नबिगारी भन्ने रहेको छ । धेरैमा  ती शब्दले खोजेको जस्तो भावना मिसाउने, बस यत्ति । अभिनयको महान् धर्म यतिमा सीमित हुन पुगेको छ । जसरी जीवनको धर्म कुनै साम्प्रदायिक मान्यतालाई मानिदिने, जय शम्भो, प्रभु या मोहम्मदजस्तै कुनै नामको पछि लाग्ने, देखाउने कि म धार्मिक छु । देखाउने कि मैले अभिनय गरेको छु । म यो मान्छे बनेको छु । भन्ने, देखाउने, बुझाउन खोझ्ने तर आफू स्वयंले नबुझ्ने, नभोग्ने या कोसिस पनि नगर्ने ।

म यो भन्न लाज मान्दिन कि, यहाँ लगभग सबै कलाकारले बोलेका कति शब्द, वाक्य र कहिलेकाहीं कतै नबुझी अभिनय देखाउने कष्ट गरिरहेका छन् । झुक्याउने खेल खेलिरहेका छन् । जसरी हामी जीवनमा कतिपय अवस्थामा यस्ता कोसिस गरिरहेका हुन्छौं र हेर्नेले दे़ख्नेले ‘हेरन नाटक गरेको’ भनेर बुझ्दै आएका छौं । हामी थाहा पाउछौं कसले नाटक गरिरहेको छ । नाटकमाथि नाटक, झुटमाथि झुट, यहाँ यथार्थ यही हो । दु:खको कुरा त हामी यसलाई प्रश्रय दिइरहेका छौं । किनकि हामी स्वयंभित्र पनि सत्यलाई साक्षात्कार गर्ने हिम्मत हराउँदै गएको छ र, नाटकमै रमाउन थालेका छौं । जीवनको धर्मलाई साँघुर्‍याउँदै लगिरहेका छौं। संवेदनशीलता गुमाउँदै गइरहेका छौं । र एक अर्कामाथि दोष मात्र थुपारिरहेका छौं । समग्र राजनीति यस्तै छ ।

अभिनेता बन्नु सन्त बन्नु जस्तै हो । कुनै अपेक्षाविना इमान्दार भई सत्यको खोजी गर्नु हो । देखाउनु, देखिनु, उत्कृष्ट हुने चाहना राख्नु अभिनयभित्रको अर्को अभिनय हो ।  यदि अभिनयको मान्यता वा बुझाइ लाई ‘टेलिङ अलाई ट्रुथफुल्ली’ मात्रै बुझ्ने हो भने पनि स्वयं नै झुट छ भने अर्को झुट त झुटमाथि झुट भइहाल्यो नि । कम्तीमा आफू ‘झुट’ हो भन्ने कुरालाई आत्मसात नगरी अर्को झुटमाथि इमान्दार हुन सकिंदैन । यो परम्परा, संस्कार बढ्दै गइरहेको छ । र यही नै सत्य हो भनेर स्थापित भइरहेको छ । अभिनयले यसको पर्दाफास गर्नुपर्ने हो । मानिसलाई सत्यबोध गराइरहनुपर्ने हो । यो सिर्फ एउटा मनोरञ्जनको माध्यम मात्र होइन ।

केही महिनाअघि एक जना नाम चलेका अभिनेतासँग काम गर्दै थिएँ । उहाँले भन्नुभयो, ‘आफूले गर्न लागेको चरित्रलाई बुझ्नु, या उसको सोच थाहा पाउनु जरुरी छैन, यो कथा अगाडि बढ्दै जाँदा दर्शकले बुझ्नुहुन्छ ।’ तपाईंहरूलाई अझै पनि यो कुरा ठीक हो नि त जस्तो लाग्छ भने माथिका कुरा पुन: दोहोर्‍याएर पढ्नुहोला । यो ओजन घटाउने प्रक्रिया मात्र हो ।

अभिनेताले कथा भन्दैन, कथा बुझाउँदैन पनि । जसरी हामी जीवन जिउने क्रममा कथा भनिरहेका छैनौं, या कसैलाई देखाइरहेका छैनौं । हामी बाँचिरहेका छौं, संघर्ष गरिरहेका छौं । कथा बनिरहेको छ, बनिरहेका छौं । हरेक जीवन कलाको जीवित रुप हो । कसैले सोधे हामी हाम्रो अनुभव र अनुभूति भन्छौं ।​

कथा त लेखकले हाम्रो अघि, पछि र सँगै जोडिएका सहअभिनेताहरूलाई एक घेरामा ल्याएर, कल्पनाले बुनेर समग्रमा एउटा वा धैरै घटनालाई, लामो या छोटो, एक घण्टाको या दशकको समयमा समेटेर बनाइसकेको छ । अभिनेताले त्यसमा आफ्नो पात्रको मनस्थिति र परिस्थितिलाई बुझेर आत्मसात गरेर उसले जस्तो प्रतिक्रिया दिन्छ त्यस्तो प्रतिक्रिया दिने इमान्दार कोसिस मात्र गर्ने हो । र यो कोसिस कहिल्यै पूर्ण हुँदैन भन्ने यथार्थलाई पनि मनन् गर्ने हो ।

अभिनय भनेको प्रतिक्रिया नै हो। तर कारणसहितको प्रतिक्रिया । जुन अन्तत: न्यायसंगत पनि हुन्छ । त्यसैले मानिस गलत या सही हुँदैन, सबैको कर्मको पछाडि कारण हुन्छ र हामीले कारण र परिस्थितिलाई केलाउने हो न कि व्यक्तिलाई । त्यसैले अभिनेतासँग अथाह समभाव हुनुपर्छ र इमान्दारिता हुनुपर्छ ।

हरेक अभिनेताको आ-आफ्नो मौलिकता, नवीनता, झर्रोपना हुन्छ । र त्यही नै प्राकृतिक र सुन्दर हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?