+
+

नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष घिमिरेले किन दिए राजीनामा ?

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १४ गते १९:१०

१४ मंसिर, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष रवीन्द्र घिमिरेले राजिनामा दिएका छन् । पुनर्बीमा कम्पनीले कोरोना बीमा मापदण्ड अनुसारको दायित्व भुक्तानी गरिसकेको भएपनि बीमा प्राधिकरणले मापदण्ड भन्दा बढीको दायित्व भुक्तानी गर्न भनेपछि उक्त रकम निकासाको स्वीकृति दिन नसक्ने भन्दै घिमिरेले राजीनामा दिएको उनी निकट स्रोतले जानकारी दियो ।

अर्थमन्त्रालयले स्वीकृत गरेको कोरोना बीमा मापदण्ड अनुसार सुरुको ३ अर्ब ५० करोड रुपैयाँसम्मको दाबी भुक्तानी बीमा कम्पनी, नेपाल पुनर्बीमा कम्पनी र बीमा प्राधिकरण (साविकको बीमा समिति) गर्ने उल्लेख छ । त्यसपछि बाँकी रहने दायित्व भने नेपाल सरकारले व्यहोर्ने उल्लेख छ ।

सोही मापदण्ड अनुसार बीमा कम्पनीहरुले कोरोना बीमाको दाबी भुक्तानी गरेपनि नेपाल सरकारले स्वीकृत जनाएअनुसारको रकम निष्कासन नगर्दा कोरोना बीमाको दाबी भुक्तानी रोकिएको थियो । तर, भदौ अन्तिममा नेपाल सरकार मन्त्रिपरिषद् बैंठकले कोराना बीमाको दाबी भुक्तानीको लागि भन्दै १ अर्ब रुपैयाँ निकास गर्ने निर्णय गर्‍यो ।

कोरोना बीमा मापदण्ड अनुसारको साढे ३ अर्ब भन्दा माथिको दायित्व नेपाल सरकारले लिने भनिएपनि नेपाल बीमा प्राधिकरणको प्रस्ताव अनुसार सकारले लिने भनिएको दायित्वको ५५ प्रतिशत सरकारले व्यहोर्ने र ४५ प्रतिशत भने बीमा प्राधिकरण, बीमक र नेपाल पुनर्बीमा कम्पनीले व्यहोर्ने गरी सरकारले उक्त रकम निष्कासन गरेको थियो । नेपाल सरकारले रकम निकास गर्ने आशामा बीमा कम्पनीले मापदण्डमा उल्लेख भएको भुक्तानी गर्ने साढे ३ अर्बभन्दा थप १ अर्ब ४८ करोड १४ लाख ८८ हजार २३५ रुपैयाँ बराबरको दाबी भुक्तानी बीमा कम्पनीले गरेको थिए । जसमा नेपाल पुनर्बीमा कम्पनीले पनि १ अर्ब १२ करोड रकम दाबी भुक्तानी गरिसकेको नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझीले बताएका थिए ।

पछिल्लो पटक नेपाल सरकारले १ अर्ब रकम निष्कासन गरेपछि त्यसलाई ५५ प्रतिशत मानेर अर्को ४५ प्रतिशत रकम पुर्‍याउन बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीसँग १२ प्रतिशतले हुन आउने २१ करोड ८१ लाख ८१ हजार ८१८ रुपैयाँ पठाउन निर्देशन दिएको थियो । तर, नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष घिमिरेले भने कोरोना बीमा मापदण्ड अनुसारको दाबी भुक्तानी कम्पनीले गरिसकेको भन्दै पुनर्बीमा कम्पनीका अध्यक्षले सञ्चाल कसमिति बैंठकबाट नै कोरोना बीमाको दाबी भुक्तानीका लागि थप रकम निष्कासन नहुने निर्णय गराएको थियो ।

पुनर्बीमा कम्पनीको उक्त निर्णय बीमा प्राधिकरणलाई पठाएपनि प्राधिकरणले २९ कात्तिकमा प्राधिकरणले पुनर्बीमा कम्पनीको सञ्चालक समितको निर्णय खारेज गरेर ७ दिनमा २१ करोड ८१ लाख ८१ हजार ८१८ रुपैयाँ पठाउन निर्देशन दिएको थियो । उक्त रकम निष्कासन नभए कारबाही हुने चेतावनी प्राधिकरणले दिएको थियो ।

सोही विवादका कारण कम्पनीको अध्यक्ष घिमीरेले राजिनामा दिएको स्रोतको दाबी छ । कोरोना बीमा मापदण्ड अनुसारको रकम भुक्तानी भइसकेको र अब नियम विपरीत गएर आफूले थप रकम निकासा गर्न स्वीकृत दिने नसक्ने भन्दै अध्यक्ष घिमिरेले राजीनामा दिएको स्रोतका दाबी छ ।

घिमिरेले संस्थागत सुशासनको कुरा उठाउँदै आफूले त्यसलाई उल्लंघन नगर्ने बताएका थिए । तर बीमा प्राधिकरणले भने रकम निकासा नगर्दा कारबाही गर्ने चेतावनी दिएपछि उनले राजीनामा दिएका हुन् । उनले बीमा प्राधिकरणको चाहान अनुसार काम गर्न नसक्ने भन्दै राजीनामा दिएको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?