+
+

धनगढीमा तनाव, डेढ दर्जन सेल अश्रुग्याँस प्रहार

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १६ गते १४:०४

१६ मंसिर, काठमाडौं। जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको निषेधाज्ञा तोडेर विद्यार्थी प्रदर्शनमा उत्रिएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन डेढ दर्जन सेल अश्रुग्याँस प्रहार प्रहार गरेको छ ।

निषेधाज्ञा लागू गरिएको घटनास्थल आसपासको क्षेत्रमा प्रहरीले अश्रुग्याँस प्रहार गरेपछि स्थानीय र विद्यार्थी तितरवितर भएका छन् । साथै प्रहरीले विद्यार्थी र स्थानीय महिला गरी ११ जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले आन्दोलनकारी विद्यार्थी र स्थानीयले प्रदर्शन गरेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस हानेको बताए ।

ग्रेडरको ठक्करबाट १५ वर्षीया बालिका चेतना साउदको मृत्यु भएको घटनालाई लिएर स्थानीय प्रशासनले धनगढीमा निषेधाज्ञा जारी गरे पनि न्यायको माग गर्दै बिहानैदेखि प्रदर्शन गरिरहेका छन् ।

उनीहरुले दोषीलाई कारबाहीको दायरमा ल्याउनुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । बिहीबार बिहान धनगढी उपमहानगरपालिका-५ स्थित पिपलचौतारा नजिकै कालिका कन्स्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिंदा साइकलमा विद्यालय गइरहेकी १५ वर्षीया साउदको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनाको विरोधमा बालिका अध्ययनरत पञ्चोदय माध्यमिक विद्यालयका विद्यार्थीले बिहीबार दिनभर धनगढीमा प्रदर्शन गरेका थिए भने आन्दोलनकारीले घटनास्थलबाट शव उठाउन दिएका थिएनन् ।

स्थानीय प्रशासनले बिहीबार साँझ घटनास्थल आसपासको क्षेत्रमा निषेधाज्ञा लागू गर्दै शव उठाएको थियो तर स्थानीयले भने उनको शव लैजाने क्रममा समेत नाराबाजीसहित प्रदर्शन गरेका थिए ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले स्थिति सामान्य नभएसम्मका लागि अनिश्चितकालीन निषेधाज्ञा यथावत् रहेको बताए । उनले पीडित पक्षलाई छलफलका लागि बोलाइएको जानकारी पनि दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?