+
+

ओलीको फोनले अलमलिएका प्रचण्डलाई बाबुरामका तीन सल्लाह

राजनीतिक ब्यूरो राजनीतिक ब्यूरो
२०७९ मंसिर १६ गते २०:४७

१६ मंसिर, काठमाडौं । तीन दिनअघि बाबुराम भट्टराईलाई भेट्न टोखा निवास पुग्दा पुष्पकमल दाहाल प्रचण्डसँग एक गुनासो, दुई जिज्ञासा र तीन प्रस्ताव थिए ।

प्रचण्डको एक गुनासो थियो– गठबन्धन भनेर धेरै कोसिस गरे पनि शहरी क्षेत्रमा भोट ट्रान्सफर भएन । कांग्रेसका उम्मेदवारलाई हामीले दिलोज्यानले सहयोग गर्‍यौं । तर हाम्रा उम्मेदवारलाई कांग्रेसको सहयोग भएन ।

उनका दुई जिज्ञासा थिए– एक, चुनावबाट आएका ‘नयाँ शक्ति’ हरुले हामी ‘पुराना शक्ति’ हरुलाई कुन हदसम्म क्षति पुर्‍याउलान् ?

दुई– केपी ओलीको टेलिफोन आएलगत्तै एमालेका नेताहरुले नयाँ सम्भावना खोजौं भनिरहेका छन् । यसो गरे कसो होला ?

प्रचण्डका तीन प्रस्तावमध्ये पहिलो– गठबन्धन सरकारको नेतृत्व आफूले गर्ने परिस्थिति आएमा सहयोग जुटाउन सहयोग गर्नुपर्छ ।

दोस्रो– माओवादी, नेकपा (एकीकृत समाजवादी) तथा भट्टराई र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) बीच नयाँ सरकारको छलफल अघि बढ्नुअगावै एकता गरौं ।

तेस्रो प्रस्ताव– नयाँ सत्तासमीकरण बन्दा त्योसँग भट्टराईको माग के हुन्छ, अहिले नै स्पष्ट भन्नुपर्‍यो ।

भट्टराईले प्रचण्ड कुरा सुनिसक्दा उनी फेरि एकपल्ट दोधारमा परेको ठम्याइहाले । कांग्रेस सभापति तथा बहालवाला गठबन्धनका प्रधानमन्त्री शेरबहादुर देउवासँग आलोपालो सहमतिबारे छलफल अघि बढ्न नसकेको उनले बुझे । एकातिर हालको सत्ता गठबन्धनको बहुमत सुनिश्चित भएको, अर्कोतिर एमालेले नयाँ कार्ड फालेको स्थितिमा प्रचण्डको अलमल बुझ्न पाए उनले ।

दुई नेताहरुबीचको कुराकानीबारे स्रोतले भन्यो, ‘ओलीजीसँगको सहकार्य विगतमा कहिले पनि राम्रोसँग गएन, तर प्रचण्डजी फेरि अलमलमा पर्नुहुने हो कि भन्ने देखिन्छ ।’

भट्टराईले प्रचण्डलाई तीन विषय बुझाउने कोसिस पनि गरे ।

एक– कांग्रेसको भोट ट्रान्सफर नभएको गुनासो अब नगरौं । किनभने मतदाता चलायमान भए । कांग्रेसकै मतदाताले पनि कांग्रेसका उम्मेदवारलाई पृष्ठभूमि र काम हेरेर भोट हालेको–नहालेको देखिन्छ । बरु अबदेखि प्रि–इलेक्सन अलाइन्स गर्ने कि नगर्ने भन्नेबारे विचार गर्नुपर्छ ।

दुई– घन्टी, हर्न र ढकियामा झरेको भोट मूलतः नागरिक असन्तुष्टिको अभिव्यक्ति हो । दीर्घकालसम्म यसको असर नहोला । अब सरकारले कसरी डेलिभरी गर्छ भन्ने सरोकार मुख्य हो ।

तीन– ओलीसँगको सहकार्य सहज ढंगले अघि जाँदैन भन्नलाई विगतका उदाहरण काफी छन् । दुई–चार फोन बजे भन्दैमा त्यतातर्फ विचारै नगर्नु ।

प्रचण्डका तीन प्रस्तावबारे भट्टराईको जवाफ पनि गोलमटोल सुनियो ।

पहिलो– सरकार हालकै गठबन्धनको तर्फबाट गठन हुनुपर्छ । कसले नेतृत्व गर्ने भन्नेबारे सहमति जुटाउनुहोस्, मेरो शुभेच्छा नै हुन्छ ।

दोस्रो– चुनाव चिह्न नै एउटा बनाएर लडिसकेपछि एकतामा अल्झिनुपर्ने कुरा छैन । तर पार्टीको नामबारे विचार गरौं । अब फेरि कम्युनिस्ट नाममा अर्को पार्टी नबनाउँ ।

तेस्रो – मेरो व्यक्तिगत माग केही छैन । छलफलबाट केही आयो भने तय गरौं ।

अनलाइनखबरसँग कुरा गर्दै भट्टराईले प्रचण्डसँग विभिन्न इस्युमा कुराकानी भएको पुष्टि गरे । उनले पार्टी एकतालगायत समग्र विषयमा कुरा भएको भन्दै पहिले सरकार गठनको चित्र स्पष्ट हुन दिनुपर्ने बताए । ‘माओवादी र हाम्रो बीच पार्टी एकताको सैद्धान्तिक सहमति भइसकेको नै छ, पहिले सरकार निर्माणलगायत समग्र सहमतिको पिक्चर क्लियर हुन दिउँ,’ उनले भने, ‘त्यसपछि हामी कुन कुन पक्षसँग कसरी एकता गर्छौं भन्ने पनि स्पष्ट भइहाल्छ ।’

स्रोतका अनुसार प्रचण्डले प्रधानमन्त्री नपाउने अवस्थामा भट्टराईलाई राष्ट्रपति बनाउन सकिने बारे छलफल गरेका छन् । तर भट्टराईले यसबारे छलफल नभएको दाबी गरे । कांग्रेसका केही नेताहरुले भट्टराईलाई राष्ट्रपति बनाउने विकल्पबारे छलफल चलाएका छन् । देउवा पनि आफू प्रधानमन्त्री बन्ने शर्तमा यसबारे सकारात्मक देखिएको बुझिएको छ ।

नेकपा एसका नेता झलनाथ खनालले राष्ट्रपति पदको आकांक्षा राखे पनि चुनाव हारिसकेको अवस्थामा उनको उक्त पदका लागि अडान लिने नैतिक बल कमजोर भएको छ । यस्तो अवस्थामा नेकपा एसले पनि उक्त पदमा दाबी नदोहोर्‍याउन सक्छ ।

प्रचण्ड एमालेसँग नजिकिएलान् ?

चुनाव नतिजा आएसँगै एमाले अध्यक्ष ओलीसहित नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल र पृथ्वी सुब्बा गुरुङले प्रचण्डसँग टेलिफोन वार्ता गरेका छन् । यी तीन नेता एमाले र माओवादीबीच सहकार्य जारी रहनुपर्ने मत राख्दै आएका नेता हुन् । माओवादीसँग मिल्न नहुने मत राख्ने नेताहरु ईश्वर पोखरेल, शंकर पोखरेल चुनावमा पराजित भएसँगै वाम सहकार्यको तर्कलाई बाटो खुलेको हो ।

नेम्वाङले विगतका कमजोरीहरुको समीक्षा गर्दै अघि बढ्नुको विकल्प नभएको बताए । ‘यसपल्टको जनादेश नै हामीलाई मिल्न, सहकार्य गर्नका लागि सन्देश दिने गरी आएको छ, त्यसैले विगतका कमजोरीहरुको समीक्षा हुनुपर्छ र अघि बढ्नुपर्छ’, उनले भने ।

अध्यक्ष ओली माओवादी अस्थिर शक्ति भएको भन्दै छलफल गर्न अझै ‘कुलिङ पिरियड’ चाहिने भनिरहेका छन् ।

उता माओवादीका नेताहरु भने एमालेले आफूलाई वाम शक्ति भने पनि संघीयता, समानुपातिक समावेशिता, नागरिकता लगायत मुद्दामा अझै पनि यथास्थितिवादी शक्ति रहेको तर्क गर्ने गर्छन् । एमालेका एक उच्च तहका नेताको भनाइमा शीर्ष नेताहरुबीच मनोवैज्ञानिक दरार सुधार हुन बाँकी छ ।

नेकपा एकीकृत समाजवादीभित्र पनि माओवादीसँगको एकतालाई लिएर मतैक्य निर्माण हुनसकेको छैन । नेता मुकुन्द न्यौपाने लगायत नेताहरु एमालेलाई बाहेक गरेर माओवादी, एस र नेसपामात्रैको एकता हुन नसक्ने तर्क गरिरहेका छन् । एकताको भित्री छलफल अघि बढ्दै गर्दा एसका नेताहरुले माओवादी फेरि एमालेसँग छलफलमा लागिसकेको भन्दै ‘अस्थिर प्रचण्ड’ लाई विश्वास गर्न नहुने मत राख्दैछन् ।

एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलले अनलाइनखबरसँग कुरा गर्दै माओवादीसँग भएका एकता वार्ताहरु निष्कर्षमा पुग्न समय लाग्ने बताए । ‘चुनावअघि एकताका लागि संयोजन समिति बनाउने कुरा भएको हो, तर अहिले त्यसमा ठोस सहमति हुने संकेत छैन’ उनले भने, ‘हेरौं न, अझै परिदृश्य स्पष्ट हुँदै जाओस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?