+
+

अबको सरकार कांग्रेस र एमालेको बन्नुपर्छ : कांग्रेस नेता भुसाल

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १७ गते १८:४१

१७ मंसिर, बुटवल । नेपाली कांग्रेसका नेता डा. दामोदर भुसालले राजनीतिक स्थायित्व र स्थिर सरकारका लागि नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन गर्नुपर्ने बताएका छन् ।

लुम्बिनी प्रदेश योजना आयोगका पुर्व सदस्य समेत रहेका भुसालले कांग्रेस र एमाले मिलेर ५ वर्ष टिक्ने सरकार चलाउनुपर्ने बताए ।

शनिबार बुटवलमा पत्रकारसंग कुराकानी गर्दै भुसालले मंसिर ४ को चुनावको जनादेशले कसैलाई बहुमत नदिएकाले लोकतन्त्रका लागि संगै आन्दोलन गरेका दुई ठूला दलहरु मिलेर संसदको पूरा कार्यकाल संयुक्त सरकार चलाएर राजनीतिक स्थायित्वको सन्देश दिनुपर्ने तर्क गरे ।

नेता भुसालले नेकपा माओवादी केन्द्रका कारण २०६४ पछि देशमा राजनीतिक अस्थिरताले निरन्तरता पाएको आरोप लगाउंदै यसपटक माओवादी र नेकपा एकीकृत समाजवादी लगायतका दलहरु प्रतिपक्षमा बस्नु उपयुक्त हुने औंल्याए ।

यसपटक पनि पाँच वर्ष टिक्ने सरकार दिन नसके मुलुकमा वाह्य शक्तिको चलखेल बढ्ने र राजनीति अपरिपक्व र विदेशीको इशारामा चल्ने शक्तिको हातमा जाने खतरा रहेकाले कांग्रेस र एमालेको नेतृत्व गम्भीर भएर सोच्न डा. भुसालले आग्रह गरे ।

‘एमाले र माओवादी मिलेर बनेको नेकपाले झण्डै दुई तिहाई पाउंदा पनि सरकार ५ वर्ष टिक्न सकेन,त्यसैको परिणाम अहिले कुनै दलको वहुमत आएन, ६ महिना नपुगेको पार्टीको अप्रत्याशीत नतिजा आयो’, भुसालले भने, ‘यदि अब पनि कांग्रेस र एमालेले चेतेनन् भने अर्को चुनावसम्म राजनीति कसको हातमा जान्छ भन्न सकिन्न ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?