+
+

पोल्याण्ड र फ्रान्सका गोलरक्षकका लागि विशेष दिन

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १८ गते १४:३७

१८ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकपको अन्तिम १६ मा आइतबार राति फ्रान्स र पोल्याण्ड आमने सामने हुँदा प्रतिष्ठित दुई गोलरक्षक चुनौती र अवसरको दोसाधमा हुनेछन् ।

चार वर्षअघि रुसमा फ्रान्सले विश्वकप जित्दा कप्तानका रुपमा ट्रफी उचालेका गोलरक्षक ह्यूगो लोरिसले आजको खेलमार्फत राष्ट्रिय टिमबाट सर्वाधिक क्याप जित्ने कीर्तिमान बराबर गर्नेछन् । अर्कोतिर पेनाल्टी बचाउन माहिर ‘बुद्धिमानी’ गोलरक्षक ओजिच सिज्नी जारी विश्वकपमा पोल्याण्डका लागि सबैभन्दा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

कतारको अल थुमाना रंगशालामा दुवै गोलरक्षकका लागि आफूलाई स्थापित गर्ने चुनौती हुनेछ । किनभने उनीहरु विश्व फुटबलकै खतरनाक स्ट्राइकरद्वय केलियन एम्बाप्पे र दुईपटकका फिफा वर्ष खेलाडी रोवर्ट लेवाण्डोस्कीलाई रोक्न प्रयासरत हुनेछ ।

‘एम्बाप्पेलाई रोक्ने साँचो, त्यो मै हुँ,’ पोल्याण्ड नकआउट चरणमा पुगेलगत्तै सिज्नीले पहिलो प्रतिक्रिया दिएका थिए ।

लोरिस पहिलोपल्ट अन्तर्राष्ट्रिय खेलमा लेवाण्डोस्कीको सामना गर्दैछन् । सन् १९९८ को विश्व विजेता फ्रान्सेली टोलीका राइट ब्याक लिलियम थुरामले बनाएको १४२ क्यापको कीर्तिमान आज लोरिसले बराबरी गर्नेछन् ।

लोरिसले शनिबार प्रिम्याच पत्रकार सम्मेलनमा भने, ‘यो धेरै ठूलो उपलब्धी हो र मैले आफूलाई सम्मानित महसुस गरिरहेको छु । सन् २००८ मा फ्रान्सेली टिममा लोरिस पनि थुरामसँगै सामेल थिए । तर, यी दुईले कहिल्यै सँगै खेल्न पाएनन् ।

सन् १९९८ मा फ्रान्सले विश्वकप जित्दा थुरामका कप्तान तथा हालका फ्रान्स राष्ट्रिय टिमका प्रशिक्षक डिडिएर डेसच्याम्पले दुवैलाई सम्मान गरे । ‘उनीहरुले राष्ट्रिय टिमका लागि एक अनुकरणीय व्यवसायिकता देखाएका छन्’, डेसच्याम्पले शनिबार भने ।

लोरिस यो प्रतिभाशाली फ्रान्सेली टिमका एक शान्त र विनम्र नेता हुन् । जसले उत्तरी लण्डन टोटनह्याम र आर्सनलको एक चीर प्रतिस्पर्धालाई बिर्सेर पोलिस गोलरक्षक सेज्नीको प्रशंसा गरे । ‘उनले प्रतियोगितामा शानदार खेलिरहेका छन् । पोल्याण्ड यो मन्चमा यहाँसम्म आउन लायक टिम हो र उनीहरुसँग महान गोलरक्षक छन्’, लोरिसले भने ।

सिज्नी विश्वकपमा दुई पेनाल्टी रोक्ने अहिलेसम्मकै एकमात्र गोलरक्षक हुन् । जारी विश्वकपमा उनले साउदी अरब र मेस्सीको पेनाल्टी रोकेका छन् । आफ्नै कारणले पेनाल्टी पाएको उनले खेलपछि स्वीकार गरेका छन् । यो खेलमा पोल्याण्डले २–० को हार ब्यहोरेको थियो ।

३२ वर्षीय युभेन्टसका गोलरक्षक सेज्नी आज पोल्याण्डका लागि ७०औं खेल खेल्दैछन् । उनको क्षमता र चरित्रबारे उनका टिममेट पनि निश्चत रुपमा जानकार छन् ।

‘उनी यो प्रतियोगिताका लागि मात्र महान गोलरक्षक होइनन् । उनी त धेरै वर्षदेखि यस्तै खेल्दै आएका छन्,’ पोलिस स्ट्राइकर अर्काडिउज मिलिक भन्छन्, ‘आफ्नो करिअरमा उत्कृष्ट क्लबहरुमा खेल्न पाउनु संयोगमात्र होइन ।’

सन् १९८६ पनि पहिलोपल्ट विश्वकपको नकआउट चरणमा प्रतिस्पर्धा गरिरहेको पोल्याण्डले उत्कृष्ट नतिजा निकाल्न सेज्नी र लेवाण्डोस्कीले सानदार प्रदर्शन गर्न आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?