+
+

गठबन्धन बैठकमा प्रश्न : महाकालीमा के भइरहेको छ सरकारलाई थाहा छ ?

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १९ गते १९:२२

१९ मंसिर, काठमाडौं । चुनाव सकिएपछि पहिलोपल्ट बसेको सत्ता गठबन्धनको आज सोमबारको बैठकमा महाकालीमा हिजो आइतबार घटेको घटनाले पनि प्रवेश पायो । भलै त्यो उनीहरुले निकालेको वक्तव्यमा उल्लेख छैन ।

महाकाली नदीको बहावलाई नेपालतर्फ धकेलेर भारतले जबर्जस्ती संरचना बनाउँदा नेपाल सरकार प्रतिक्रियाविहीन बसेको भन्दै सत्ता गठबन्धनमा सहभागी नेकपा एकीकृत समाजवादीका नेताहरुले आवाज उठाएका थिए । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले त्यसमा समर्थन गरे ।

‘सरकारलाई थाहा छ, यतिबेला महाकालीमा के भइरहेको छ ? त्यहाँ भारतको पक्षबाट ढुंगा हानिएको छ । नेपालीहरु घाइते भएका छन् । यसबारे के तयारी हुँदैछ ?’ नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले बैठकमा आवाज उठाए ।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले त्यसमा सहमति जनाउँदै तुरुन्तै नेपालका तर्फबाट आफ्नो धारणा दिन सरकारसमक्ष आग्रह गरे ।

‘विगत एक वर्षमै किन पटक–पटक यस्तो घटना भइरहेको छ भन्नेबारे नेपालले कडा कुरा राख्नुप¥यो,’ बैठकका एक सहभागीले कुरा राखे ।

प्रधानमन्त्री शेरबहादुर देउवाले यसबारे आफूले भारतसँग कुरा गर्छु भनेर आश्वासन दिएको एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए । ‘हामीले सरकार र गठबन्धनले जिम्मेवार ढंगले यसमा स्ट्यान्ड लिनुप¥यो भनेका छौं,’ उनले भने, ‘प्रधानमन्त्रीले म भारतसँग यसबारेमा कुरा गर्छु, के भएको हो, सबैकुरा बुझेर सत्यतथ्य बाहिर ल्याउँछु भन्नुभएको छ । उहाँले सरकारले कुरा बुझ्न टोली खटाइसकेको पनि बैठकमा भन्नुभयो ।’

यति महत्वपूर्ण कुरा किन गठबन्धनको बक्तव्यमा परेन त ?

हाम्रो प्रश्नमा भुसालले भने, ‘पहिले कुुरा बुझिसकौं न । त्यसपछि त यो कुरा उठिहाल्छ नि । लुकाउने कुरै होइन यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?