+
+

जब वडाध्यक्ष घन्टी बजाएर पढाउन कक्षामा छिरे

सुरेश बिडारी सुरेश बिडारी
२०७९ मंसिर २० गते २०:००

२० मंसिर, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. २० का वडा अध्यक्ष रामकिशोर सिंह पराग मंगलबार बिहान सवा १० बजे अपौनीस्थित नेपाल राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयमा पुगे ।

विद्यालयको वास्तविक अवस्था बुझ्ने उद्देश्यले उनी विद्यालयको छड्के अनुगमन गर्न पुगेका थिए । उनी पुग्दा विद्यालयमा विद्यार्थी थिए तर शिक्षक थिएनन् । कार्यालय सहयोगीले साढे १० बजेदेखि विद्यालय सञ्चालन हुन्छ भनेर जानकारी गराए । तर साढे १० बजेसम्म कुनै पनि शिक्षक आएनन् । वडा अध्यक्ष रामकिशोरले घण्टी बजाउन लगाए र आफैंले पढाउन सुरु गरे ।

‘बिहान सवा १० बजेतिर विद्यालयमा पुगेको थिएँ, विद्यार्थी थिए, शिक्षक थिएनन् । पिउन मात्रै रहेछन्’, उनले भने, ‘घण्टी बजाउन लगाएर आफैंले पढाउन सुरु गरें ।’

विद्यालयमा प्रधानाध्यापक सहित ४ जना शिक्षक र १६० जना विद्यार्थी अध्ययनरत छन् । वडा अध्यक्ष रामकिशोरका अनुसार बिहान ११ बजेतिर बल्ल सहायक प्रधानाध्यापक जय किशोर पण्डे विद्यालय आइपुगेका थिए ।

‘आएका विद्यार्थीको हाजिर गरें, नआएका शिक्षकको हाजिर काटिदिएँ’, उनी भन्छन्, ‘ढिलो आउने शिक्षकलाई पनि पढाउन मन छ भने पढाउनुस नत्र घर जानु भनेर भनिदिँए ।’

विद्यालयका प्रधानाध्यापक विरेन्द्रप्रसाद यादवले ससुरालीमा हनुमान आराधना भएकोले आफू विदामा बसेको जानकारी दिए । ‘सालोको घरमा हनुमान आराधना थियो, त्यसैले म विद्यालय आउन सक्दिन भनेर सहायक प्रअलाई जानकारी गराएको थिएँ’ उनले भने, ‘बाँकी दुई जना शिक्षक किन विद्यालय गएनन मलाई जानकारी छैन, बुधबार विद्यालयमा गएर यसबारेमा स्पष्टीकरण लिन्छु ।’ यसअघिका दिनमा आफू नियमित विद्यालय जाने गरेको दाबी उनको छ ।

वडा अध्यक्ष रामकिशोरले विद्यालय सञ्चालनमा लापरबाही गर्ने प्रधानाध्यापक विरेन्द्रप्रसाद यादव सहित शिक्षकलाई कारबाहीका लागि वीरगञ्ज महानगरपालिकासँग अनुरोध गरेका छन् ।

मंगलबार नै उनले महानगरलार्ई पत्राचार गर्दै विद्यालयमा ११ बजेसम्म कुनै पनि शिक्षक उपस्थित नभएको जानकारी गराएका छन् । विद्यालयको शैक्षिकस्तर कमजोर देखिएको भन्दै उनले विद्यालयका सम्पूर्ण शिक्षकलाई अर्को ठाउँमा सरुवा गरेर अर्को शिक्षक टोली खटाईदिन अनुरोध गरेका छन् ।

प्रअ सहित शिक्षकलाई २४ घण्टे स्पष्टीकरण

वीरगञ्ज महानगरपालिकाले विद्यालयका प्रधानाध्यापक सहित शिक्षकलाई २४ घण्टे स्पष्टीकरण पत्र काटेको छ । प्रधानाध्यापकलाई स्वयं उपस्थित भएर र शिक्षकलाई प्रअमार्फत २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन पत्र काटिएको हो ।

महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले उनीहरुलाई के कति कारणले विद्यालय नआएको हो ? कारबाही नगर्ने हो भने किन नगर्ने ? भनी २४ घण्टे स्पष्टीकरण सोधिएको जानकारी दिए ।

‘वडा नं. २० का वडा अध्यक्षले अपौनीस्थित विद्यालयको अनुगमन गर्दा प्रअ सहित शिक्षक अनुपस्थित रहेको गराउनुभएको छ’, उनले भने, ‘उनीहरुलाइ किन कारबाही नगर्ने ? भनेर २४ घण्टाभित्र जवाफ दिन भनेका छौं ।’

महाशाखा प्रमुख कर्णले अन्य वडाका वडा अध्यक्षले समेत महानगरपालिका मातहत पर्ने स्वास्थ्य संस्था, सामुदायिक विद्यालय लगायतका निकायको अनुगमन गरेर जानकारी गराउन आग्रह गरे ।

‘महानगरपालिका मातहतका निकायले सम्पादन गर्ने कामहरुको नियमित अनुगमन गर्नुपर्ने हो तर हामीसँग त्यस अनुसारको जनशक्ति छैन’, उनले भने, ‘तसर्थ पहिलो अनुगमन गर्ने अधिकार प्राप्त वडा अध्यक्षले अनुगमन गरेर जानकारी गराउँदा राम्रो हुन्छ । अनुगमनका क्रममा देखिएका समस्या आपसी समन्वयमा समाधान गर्न सकिन्छ ।’

महानगरभित्र रहेका ९० वटा सामुदायिक विद्यालयको अनुगमनका लागि ३ जना शिक्षा अधिकृतलाई खटाएको समेत उनले बताए ।

‘एउटाले ३० वटा विद्यालय अनुगमन गर्नेगरि ३ जना शिक्षा अधिकृतलाई खटाएका छौं’, उनले भने, ‘उनीहरुलाई मासिक रुपमा कम्तीमा १० वटा विद्यालयको स्थलगत अनुगमन गरेर प्रतिवेदन बुझाउन भनेका छौं ।’

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?