+
+

बाराको सिम्रौनगढमा भएको झडपमा १२ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २० गते २०:५७

२० मंसिर, वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिका–४ मा मंगलबार भएको झडपमा १२ जना घाइते भएका छन् । रासायनिक मलको विषयलाई लिएर उत्पन्न विवाद बढेर उग्ररुप लिँदा दुई पक्षबीच भएको झडपमा १२ जना घाइते भएका हुन् ।

घाइतेहरुको उपचार स्थानीय क्लिनिकमा गरिएको छ । अरुण पण्डितलाई भने थप उपचारका लागि नेशनल मेडिकल कलेज वीरगञ्जमा पठाइएको छ । प्रहरीले भने घटनामा परी ४ जना मात्रै घाइते भएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले झडपमा स्थानीय दिपेन्द्र सहनी, सराजुल अन्सारी, अजय यादव र अरुणकुमार पण्डित सामान्य घाइते भएको जानकारी दिए ।

एउटा पक्षले वडा कार्यालयमा लगाएको ताल्चा अर्को पक्षले खोल्न खोज्दा झडप भएको थियो । वडा कार्यालयमा तालाबन्दी गरेका कारण समस्यामा परेका सेवाग्राहीले ताल्चा खोलेको एउटा पक्षको दावी छ भने अर्को पक्षले तालाबन्दी गर्ने पक्षसँग समन्वय नगरी जबर्जस्ती ताल्चा खोल्न खोजेपछि स्थिति विग्रिएको बताएको छ ।

सरकारले अनुदानमा दिँदै आएको रासायनिक मल सिम्रौनगढ ४ मा वडा कार्यालयले नै दामासाहीले वितरण गर्दै आएको छ । वडा कार्यालयले मंसिर १५ गते सूचना निकालेर रासायनिक मलका लागि नागरिकताको प्रतिलिपीसहित निवेदन दिन वडाका किसानसँग आग्रह गरेको थियो । सूचनामा यसरी निवेदन दिने अन्तिम मिति मंसिर १८ आइतबारसम्म भनिएको थियो । केही किसान १८ गते अपरान्ह मलका लागि आवेदन दिन पुगेका थिए । तर वडा कार्यालय बन्द भइसकेको थियो ।

अपरान्ह ४ बजेसम्म खोल्नुपर्ने कार्यालय त्यसअघि नै बन्द गरेका कारण मलका लागि निवेदन दिनबाट आफूहरु वञ्चित भएको भन्दै उनीहरुले वडा कार्यालयमा तालाबन्दी गरेका थिए ।

मंगलबार सोही तालाबन्दी खोल्न खोज्दा विवाद उत्कर्षमा पुगेर झडपमा परिणत भएको थियो । वडा प्रहरी कार्यालय सिम्रौनगढ र जिल्ला प्रहरी कार्यालय बाराबाट गएको प्रहरी र सशस्त्र प्रहरीको टोलीले स्थिति नियन्त्रणमा लिएको थियो । वडा कार्यालयमा गरिएको तालाबन्दी अझै खुल्न सकेको छैन ।

वडा अध्यक्ष र पूर्व अध्यक्षबीच आरोप प्रत्यारोप

पूर्व वडा अध्यक्ष एवं लोसपाका नेता राजेश यादवले मंसिर १८ गते वडा कार्यालय अपरान्ह ४ बजेअघि नै बन्द गरिएकोले गर्दा समस्या उत्पन्न भएको बताएका छन्
वडा अध्यक्ष अवधेश सहनीले वडा सदस्यहरुलाई वाईपास गरेर मनोमानी ढंगले वडा कार्यालय सञ्चालन गरिरहेको समेत उनले आरोप लगाए ।

पूर्व वडा अध्यक्ष यादव लोकतान्त्रिक समाजवादी पार्टीमा आवद्ध छन् । वडा नं ४ मा वडा अध्यक्ष सहनी काँग्रेसबाट निर्वाचित भएका हुन् भने ४ जना वडा सदस्यहरु लोसपाबाट छन् ।

वडा अध्यक्ष सहनीले भने जनतालाई आवश्यक सेवा प्रवाह गर्ने वडा कार्यालयमा तालाबन्दी गर्नु गलत भएको बताए । उनले राजनीतिक रिसईबी साँध्नका लागि किसानको नाममा विपक्षीहरुले स्थिति तनावपूर्ण बनाएको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?