+
+

विश्वकप फुटबल : यस्ता छन् क्वार्टरफाइनल पुग्ने टिम

युरोपियन टिमकै वर्चस्व

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ मंसिर २२ गते १३:२४

२२ मंसिर, काठमाडौं । कतारमा जारी विश्वकपमा ६४ मध्ये ५६ खेल सकियो । अब ८ खेल बाँकी छ । खेल थोरै बाँकी भएपनि विश्वकप झन् रोमाञ्चक बन्दैछ ।

टिम संख्या घट्दैछ । अब कसले जित्ला उपाधि भन्ने कौतुहलता झन् बढेको छ । के यसपटक नयाँ टिम बिजेता होला वा पुरानै टिमले उपाधि थप्लान् ? त्यसका लागि पुस ३ गतेसम्म कुर्नुपर्नेछ ।

यस पटक विश्वकपका खेलहरु रोमाञ्चक बन्दैछ । अनपेक्षित नतिजाहरु आए । नतिजा पूर्वानुमान गर्न गाह्रो भयो । विश्व विजेताहरु समेत स्तब्ध भए ।

दुई पूर्व विजेता जर्मनी र उरुग्वे समूह चरणबाटै घर फर्किँदा अर्का पूर्व विजेता स्पेन अन्तिम १६ बाट बाहिरियो । मोरक्को पहिलो पटक क्वार्टरफाइनलमा स्थान बनाउन सफल भयो । क्वार्टरफाइनल पुग्ने अन्य टिम भने पुरानै रहे ।

क्वार्टरफाइनल पुग्ने ८ मध्ये ४ टिम पूर्व विजेता छन् । यसबाहेक अन्य दुई टिमले यसअघि फाइनल खेलेपनि उपाधि जित्न सकेका छैनन् । एक टिम सेमिफाइनलसम्म पुगेको छ । अर्को टिम यसै संस्करणमा क्वार्टरफाइनल पुगेको छ ।

८ समूह मध्ये समूह ई बाट कुनै पनि टिम क्वार्टरफाइनल पुग्न सकेनन् भने समूह एफबाट दुई टिम क्वार्टरफाइनल पुगेका छन् ।

समूह ए बाट नेदरल्याण्ड्स, समूह बी बाट इंग्ल्याण्ड, समूह सी बाट अर्जेन्टिना, समूह डी बाट फ्रान्स, समूह जी बाट ब्राजिल र समूह एचबाट पोर्चुगल क्वार्टरफाइनलमा पुगेका छन् । ६ वटै टिम समूह विजेता बनेका थिए ।

यस्तै समूह ई बाट मोरक्को र क्रोएसिया क्वार्टरफाइनल पुग्दा समूह एफबाट अन्तिम १६ मा पुगेकामध्ये जापान र स्पेन दुवै अन्तिम १६ मै पराजित हुँदै बाहिरिए ।

फिफा विश्वकप २०२२ को क्वार्टरफाइनल पुगेका ८ टिम कस्ता छन् ?

नेदरल्याण्ड्स : फिफा वरियता ८

नेदरल्याण्ड्स विश्वकपमा अभागी टिम मानिन्छ । तीन पटक फाइनल पुगेर पनि उपाधि जित्न नसकेको नेदरल्याण्ड्स ८ वर्षपछि विश्वकपमा फर्कँदै क्वार्टरफाइनल पुगेको हो । सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा सेमिफाइनलसम्म पुगेको नेदरल्याण्ड्स अर्जेन्टिनासँग पराजित भएको थियो ।

आयोजक ब्राजिलले हराएर नेदरल्याण्ड्स तेस्रो भएको थियो । ८ वर्षपछि क्वाटरफाइनल खेल्न लागेको नेदरल्याण्ड्सको भेट यस पटक पनि अर्जेन्टिनासँग हुँदैछ ।

जारी विश्वकपमा अपराजित चारमध्ये एक टिम हो नेदरल्याण्ड्स । ऊ समूह चरणमा २ जित १ बराबरी नतिजासहित समूह विजेता बनेको थियो ।

नेदरल्याण्ड्सले समूह चरणमा सेनेगललाई २-० र कतारलाई २-० ले पराजित गरेको थियो भने इक्वेडरसँग १-१ को बराबरी खेलेको थियो ।

नेदरल्याण्ड्सले अन्तिम १६ मा अमेरिकालाई ३-१ ले हराएको थियो । नेदरल्याण्ड्सका कोडी गाक्पोले विश्वकपमा ३ गोल गरिसकेका छन् र सर्वाधिक गोलकर्ताको होडमा छन् ।

अर्जेन्टिना : फिफा वरियता ३

पहिलो खेल हारेपनि अर्जेन्टिनाले त्यसपछि लगातार दुई खेल जित्दै समूह बी को विजेता बनेर नकआउट चरणमा स्थान बनाएको थियो ।

लिओनल मेस्सीको सम्भावित अन्तिम विश्वकपको रुपमा रहेको यस संस्करणमा मेस्सी र अर्जेन्टिना च्यम्पियन बन्दै ३६ वर्षको विश्वकप उपाधि खडेरी तोड्ने लक्ष्यमा छ ।

अर्जेन्टिना पनि ८ वर्षपछि क्वार्टरफाइनल खेल्दैछ । सन् २०१४ मा फाइनल पुगेको अर्जेन्टिना २०१८ को विश्वकपमा अन्तिम १६ मा फ्रान्ससँग पराजित हुँदै बाहिरिएको थियो ।

मेस्सीको अन्तिम विश्वकपलाई सुखद बनाउने लक्ष्यमा रहेको अर्जेन्टिनाले नेदरल्याण्ड्स विरुद्ध २०१४ को नतिजालाई निरन्तरता दिने प्रयासमा छ । २०१४ मा नेदरल्याण्ड्सलाई सेमिफाइनलमा हराएर अर्जेन्टिना फाइनल पुगेको थियो तर अतिरिक्त समयमा गोल व्यहोर्दै जर्मनीसँग पराजित हुँदा उपाधि नजिक पुगेर पनि टाढिएको थियो ।

यस पटक पहिलो खेलमै साउदी अरेबियाविरुद्ध अप्रत्यासित २-१ को हारपछि कतै समूह चरणबाटै बाहिरिने हो कि भन्ने खतरा बढेको थियो । तर त्यसपछि मेक्सिको र पोल्याण्डलाई समान २-० को नतिजामा हराएर अर्जेन्टिना समूह्य विजेता बनेको थियो । अन्तिम १६ मा अर्जेन्टिनाले अष्ट्रेलियालाई २-१ ले हराएको थियो ।

क्रोएसिया : फिफा वरियता १२

चार वर्षअघि रुसमा भएको विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै क्रोएसिया फाइनल पुगेको थियो । तर फ्रान्ससँग पराजित हुँदै उपविजेता बन्यो । यस पटक पनि क्रोएसिया त्यही प्रदर्शनलाई दोहोर्‍याउन चाहन्छ । तर उसको यात्रा भने सहज छैन । कारण क्वार्टरफाइनलमै पाँच पटकको विजेता ब्राजलिसँग क्रोएसियाको भेट हुँदैछ ।

यस विश्वकपमा अपराजित अर्को टिम हो क्रोएसिया । उनले समूह एफमा एक खेल जितेको थियो भने दुई खेल बराबरी देल्खै समूह्य उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको थियो । मोरक्को विरुद्ध गोलरहित बराबरी खेल्दै विश्वकप सुरु गरेको क्रोएसियाले क्यानडा विरुद्ध ४-१ को पुनरागमन जित निकालेको थियो भने बेल्जियम विरुद्ध पनि गोलरहित बराबरी खेलेको थियो ।

अन्तिम १६ मा १२० मिनेटको खेल १-१ को बराबरी भएपछि जापानलाई पेनाल्टी सुटआउटमा ३-१ ले हराएर क्रोएसिया क्वार्टरफाइनलमा पुगेको हो ।

ब्राजिल : फिफा वरियता १

विश्व नम्बर एक अनि विश्वकपको सदाबहार दाबेदार हो ब्राजिल । हरेक विश्वकपको दाबेदार रहेपनि ब्राजिलले २००२ पछि उपाधि जित्न सकेको छैन । चार वर्षअघि रुसमा क्वार्टरफाइनल पुगेपनि बेल्जियमसँग पराजित हुँदै ब्राजिल घर फर्केको थियो ।

पछिल्लो पटक एसियामै भएको विश्वकप जितेको ब्राजिल दोस्रो पटक एसियामा विश्वकप हुँदा उपाधिको पर्खाईलाई अन्त्य गर्न चाहन्छ ।

सन् २००२ मा जापान र दक्षिण कोरियामा भएको विश्वकपमा ब्राजिलले उपाधि जितेको थियो ।

त्यसपछि ब्राजिल फाइनल पनि पुग्न सकेको छैन । २०१४ मा घरेलु भूमिमै सेमिफाइनल पुगेको ब्राजिल २००६, २०१० र २०१८ मा क्वार्टरफाइनलबाटै बाहिरिएको थियो ।

यस पटक उपाधि जित्ने लक्ष्य राखेको ब्राजिलले अन्तिम १६ मा दक्षिण कोरियालाई ४-१ ले पराजित गर्दै आफ्नो दाबेदारी प्रस्तुत गरिसकेको छ । यस विश्वकपमा टिमका सबै २६ खेलाडी खेलाउने ब्राजिल पहिलो टिम समेत बनेको छ ।

ब्राजिलले समूह चरणमा दुई खेल जित्दा एक खेलमा पराजित भएको थियो । सर्वियालाई २-० र स्वीटजरल्याण्डलाई १-० ले हराएको ब्राजिल क्यामरुनसँग १-० ले पराजित भएको थियो । ब्राजिलले क्वाटरफाइनलमा क्रोएसियासँग खेल्नेछ ।

ब्राजिल अहिलेसम्म भएका सबै २२ वटै संस्करणको विश्वकप खेल्ने एक्लो टिम हो भने सर्वाधिक ५ पटकको च्याम्पियन समेत हो ।

मोरक्को : फिफा वरियता २२

अफ्रिकन राष्ट्र मोरक्को यस विश्वकपको डार्क हर्सको रुपमा देखिएको छ । एटलस लायन्सको उपनामले चिनिने यो मोरक्को पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको हो भने समग्रमा चौथो अफ्रिकन टिम हो । क्वार्टरफाइनल पुग्ने मध्ये फिफा वरीयतामा सबैभन्दा पछि रहेपनि जारी विश्वकपमा भने मोरक्को प्रदर्शन गज्जबको छ ।

सन् १९८६ पछि पहिलो पटक विश्वकपको समूह चरण पार गरेको मोरक्कोले यस पटक इतिहासमै उच्च सफलता हात पारेको हो र अझै अगाडि बढ्ने लक्ष्यमा छ ।

बेल्जियम र क्रोएसिया जस्ता टिम रहेको समूह एमा दुई जित र १ बराबरीको नतिजासहित मोरक्को समूह विजेता बनेको थियो ।

क्रोएसियासँग गोलरहित बराबरी खेल्दै विश्वकप सुरु गरेको मोरक्कोले बेल्जियमलाई २-० ले हरायो भने क्यानडालाई २-१ ले पराजित गरेको थियो । जारी विश्वकपमा मोरक्कोले बेहोरेको एक मात्र गोल पनि आत्मघाती थियो ।

अन्तिम १६ मा मोरक्कोले पूर्व विजेता स्पेनलाई स्तब्ध पारेको थियो । १२० मिनेटको खेल गोलरहित बराबरी भएपछि पेनाल्टी सुटआउटमा मोरक्कोले स्पेनलाई ३-० ले हरायो । पेनाल्टी सुटआउट मोरक्कोले कुनै गोल खाएन । स्पेजका दुई प्रहार मोरक्कोका किपर यासिन बोनोले रोके भने एक प्रहार पोष्टमा लागेको थियो ।

विश्वकपको इतिहासमा सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन टिम बन्ने लक्ष्यमा रहेको मोरक्कोले अब पोर्चुगलसँग क्वार्टरफाइनलमा खेल्नेछ ।

पोर्चुगल : फिफा वरियता ९

क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले अहिलेसम्म विश्वकप जितेको छैन । तर पोर्चुगललाई पनि आउटसाइडर दाबेदारको रुपमा भने हेरिने गरेको छ ।

पोर्चुगल १६ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा पुगेको हो । सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा सेमिफाइनल पुगेको पोर्चुगल १६ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको हो । २०१० र २०१८ मा अन्तिम १६ बाटै आउट भएको पोर्चुगल २०१४ मा समूह चरणबाटै घर फर्किएको थियो ।

यस पटक २००६ को प्रदर्शन दोहोर्‍याउने लक्ष्यमा पोर्चुगल छ । पोर्चुगल अहिलेसम्म दुई पटक विश्वकपको सेमिफाइनल पुगेको छ जसमा सन् १९६६ मा तेस्रो हुनु अहिलेसम्मको उत्कृष्ट नतिजा हो ।

यस पटक पोर्चुगलको प्रदर्शनमा उतारचढाव देखिएको छ । समूह चरणको सुरुवाती दुई खेल जितेर नकआउट चरणमा स्थान पक्का गरेको पोर्चुगल दक्षिण कोरियासँग पराजित भएको थियो ।

घानालाई ३-२ र उरुग्वेलाई २-० ले पराजित गरेको पोर्चुगल दक्षिण कोरियासँग २-१ ले पराजित भएको थियो ।

तर अन्तिम १६ मा स्वीटजरल्याण्डलाई ६-१ को फराकिलो अन्तरले हराउँदै पोर्चुगलले आफ्नो क्षमता देखाइसकेको छ । कप्तान क्रिस्टियानो रोनाल्डोलाई विस्थापित गरेर युवा फरवार्ड गोन्सालो रामोसले खेल्दै जारी विश्वकपकै पहिलो ह्याट्रिक गरे ।

१६ वर्षपछि क्वार्टरफाइनल खेल्न लागेको पोर्चुगलको भेट पहिलो पटक विश्वकपको क्वार्टरफाइनल पुगेको मोरक्कोसँग हुनेछ ।

इंग्ल्याण्ड : फिफा वरियता ५

जारी विश्वकपमा अपराजित चार टिममध्ये इंग्ल्याण्ड पनि एक हो । १९६६ मा एक पटक विश्वकप जितेको इंग्ल्याण्ड त्यसयता फाइनल सम्म पनि पुग्न सकेको छैन । इंग्ल्याण्ड ५६ वर्षपछि विश्वकप उपाधि घर ल्याउने लक्ष्यसहित कतार पुगेको छ । तर चार वर्षअघि सेमिफाइनलमा पराजित भएको सेमिफाइनलमा पराजित भएको इंग्ल्याण्डले यस पटक साविक विजेता फ्रान्ससँग क्वार्टरफाइनलमा भिड्नुपर्नेछ ।

अन्तिम १६ सम्म अपराजित इंग्ल्याण्डले त्यही लयलाई निरन्तरा दिँदै फ्रान्सलाई चुनौती दिने लक्ष्यमा छ । समूह चरणमा दुई जित र एक बराबरीको नतिजासहित इंग्ल्याण्ड समूह बी को विजेता बनेको थियो ।

पहिलो खेलमा इरानलाई ६-२ ले हराएको इंग्ल्याण्ड दोस्रो खेलमा अमेरिकासँग गोलरहित बराबरीमा रोकिएको थियो । तर तेस्रो खेलमा छिमेकी वेल्सलाई ३-० ले हराउँदै इंग्ल्याण्ड समूह विजेता बन्यो ।

अन्तिम १६ मा सेनेगललाई ३-० ले हराएर इंग्ल्याण्डले विपक्षीलाई सजग गराएको छ । ह्यारी केनको कप्तानीमा रहेको इंग्ल्याण्डका लागि यस पटक मार्कुस रासफोर्ड र जुड बेलिङ्घमले उत्कृष्ट प्रदर्शान गरिरहेका छन् ।

फ्रान्स : फिफा वरियता ४

साविक विजेता फ्रान्स कतार विश्वकपमा उपाधि दाबेदारमध्ये एक हो । १९६२ मा ब्राजिलपछि विश्वकप उपाधि रक्षा गर्ने पहिलो टिम बन्ने लक्ष्यमा रहेको फ्रान्सलाई यस पटक चोटले पिरल्यो । चोटकै कारण विश्वकप अघि देखि विश्वकप सुरु हुँदासम्म फ्रान्सका ५ खेलाडीले विश्वकप गुमाए ।

तर अझैपनि फ्रान्सको अट्रयाक उत्कृष्ट छ । किलियन एमबाप्पे ५ गोल गर्दै सर्वाधिक गोल गर्नेमा अगाडि छन् । घाइते बाघको रुपमा कतार पुगेको फ्रान्स उपाधि रक्षाबाट तीन खेल टाढा छ । तर चुनौती पनि उत्तिकै छ ।

फ्रान्सले क्वार्टरफाइनलमा इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । क्वाटरफाइनलमा दुई पूर्व विजेताबीच हुन लागेको यो नै एक मात्र खेल हो । त्यसैले पनि यो खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा छ ।

फ्रान्सले समूह डी मा सुरुवाती दुई खेल जित्दै अन्तिम १६ मा स्थान पक्का गर्दा अन्तिम खेलमा हार बेहोरेको थियो । पहिलो खेलमा अष्ट्रेलियालाई ४-१ ले र दोस्रो खेलमा डेनमार्कलाई २-१ ले हराएको फ्रान्स तेस्रो खेलमा ट्युनिसियासँग १-० ले पराजित भएको थियो ।

अन्तिम १६ मा पोल्याण्डलाई ३-१ ले हराएर फ्रान्सले लयमा फर्केको संकेत गरिसकेको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?