२२, मंसिर, चितवन । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले चुनावपछि देशमा राजनीतिक र आर्थिक संकट एकैपटक आउन सक्ने खतरा देखिएको बताएका छन् ।
प्रतिनिधि सभा चुनावमा चितवन १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालसँग पराजित भएका पाण्डेले निर्वाचनपछि सरकार गठन र दिगोपना तथा आर्थिक संकट एकसाथ देखिन सक्ने खतरा रहेको बताए ।
प्रेस चौतारी चितवनले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेस र एमाले बाहेक अन्य दलले सरकार बनाउँदा ५–६ वटा दल जम्मा गर्नुपर्ने जनमत आएकोले यसले राजनीतिक अस्थिरताको खतरा देखिएको बताए ।
सरकारले केही वस्तुको आयातमा लगाएको प्रतिवन्ध हटाएको प्रशंग निकाल्दै एमाले उपाध्यक्ष पाण्डेले आयात रोक्दा राजश्व नउठ्ने र देश चलाउन नसकिने तथा आयात खुला गर्दा वैदेशिक मुद्रा सञ्चितीमा ठूलो दवाव पर्ने अवस्था आएकोले देश आर्थिक संकटतर्फ जान सक्ने बताए ।
५–६ वटा पार्टी मिलेर सरकार बनाउँदा सरकार टिकाउनमा नै प्रधानमन्त्रीको बढि ध्यान हुने हुँदा देशका अन्य समस्या समाधान गर्न नसक्ने अवस्था आउने बताए ।
अबको प्रधानमन्त्री कांग्रेस सभापति शेरबहादुर देउवासहितको गठवन्धनको हुने धारणा राखे ।
एमाले सरकार गठनको दौडमा नरहेको भन्दै उपाध्यक्ष पाण्डेले देश अप्ठेरो दिशामा जाने अवस्था आएमा एमाले र नेपाली कांग्रेस मिल्नुपर्ने आफ्नो व्यक्तिगत धारणा रहेको बताए ।
‘अहिले गठवन्धनले नै मिलाएर, केही पार्टी थपेर सरकार बनाउनुहोला तर देशलाई अप्ठेरै पर्ने कुनै अवस्था आयो भने एमालेले सरकारमा सहभागी नभएर पनि समर्थन गर्नुपर्ने अवस्था आउन सक्छ,’ पाण्डेले भने, ‘तर अहिले नै एमाले सरकारमा जाने सोचमा छैन ।’
वाम एकताको सम्भावना तत्काल नरहेको दावी गर्दै नेता पाण्डेले चुनावी परिणामले सबै दल प्रति चुनौती खडा भएको बताए ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4